विराटनगर । काेशी प्रदेशमा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७८/०७९ मा कोशी प्रदेशमा सो सङ्ख्यामा महिलाहरूले गर्भपतन गराएको पाइएको हो ।
सरकारी रिपोर्टअनुसार १७ वर्षदेखि १९ वर्षसम्मका किशोरीहरूले विभिन्न स्वास्थ्य संस्थाबाट गर्भपतनको सेवा लिएको देखिएको छ । गर्भपतनको सेवा लिनेहरू अधिकांश २० वर्षभन्दामुनिका छन् । नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षितरूपमा गर्भपतन गराइरहेका छन् ।
सरकारी तथ्याङ्कअनुसार गर्भपतन गराउनेहरूमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षितरूपमा गराएको देखिएको छ । नेपालको ऐन, नियम, कानून, निर्देशिकाहरूले सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, सुरक्षित रूपमा गर्भपतन गराउन पाइन्छ भन्ने जानकारी ४३ प्रतिशत महिलालाई मात्रै छ ।
ठूलो सङ्ख्यामा महिला तथा किशोरीहरू सूचीकृत नभएका फार्मेसी र अन्य स्वाथ्य संस्थामा गएर सेवा लिने गरेका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी नर्सिङ कम्युनिटी अधिकृत कविता अर्यालले हाल देशमा १५ सय स्वास्थ्य संस्था सुरक्षित गर्भपतनको सेवा दिन सूचीकृत भएको बताइन् । सूचीकृत स्वास्थ्य संस्थाबाट वि.सं. २०६० देखि हालसम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षितरूपमा गर्भपतन गराएका छन् । ‘असुरक्षित गर्भपतनको एकिन तथ्याङ्क भने सुरक्षितको जस्तो लिन सहज छैन’ –उनले भनिन् ।
असुरक्षितरूपमा भएको गर्भपतनलाई कसरी घटाउने भन्ने ठूलो चिन्ता अधिकारीहरूले लिएका छन् । असुरक्षित गर्भपतनले गर्भपतन राम्ररी नहुने जसका कारण अत्यधिक रक्तश्राव हुने सम्भावना हुने स्त्री तथा प्रसूति रोग विशेष डाक्टर बालकृष्ण साहले बताए ।
अत्यधिक रक्तश्रावका कारण महिलाको मृत्युसमेत हुने गरेको पाइन्छ । त्यस्तै असुरक्षित गर्भपतनले पाठेघरमा घाउ लाग्ने, फुट्ने तथा यौनअङ्गहरू नै बिग्रिने हुनसक्छ । यसले गर्दा तत्कालै महिलाको ज्यान जान सक्ने वा दीर्घकालीनरूपमा बाँझोपन हुनसक्ने सम्भावना रहन्छ । असुरक्षित गर्भपतनका कारणले पाठेघरमा सङ्क्रमण हुने र बेलैमा सङ्क्रमणलाई नियन्त्रण गर्न नसकेको अवस्थामा महिलाको ज्यान जाने खतरा रहन्छ । त्यसैले असुरक्षित गर्भपतन रोक्नु आवश्यक रहेकाले डाक्टर साहले बताए ।
असुरक्षित गर्भपतनको अन्त्य कसरी गर्ने ?, ‘डाक्टर साह भन्छन्, ‘मानिसको आवश्यकता बढ्दो छ । गाँस, बास र कपासमा मात्र हामी सीमित रहँदैनौँ । गाँस, बास र कपाससँगै ‘सहवास’ पनि आजको आवश्यकता हो । अनि सहवासपछि त गर्भ स्वभाविक हो । तर, गर्भ आवश्यक्ता नहुन सक्छ र गर्भपतन रोज्नुपर्ने हुनसक्छ ।’ गर्भपतन रोक्नलाई सहवासलाई प्रतिबन्धित गर्न सकिन्न र व्यावहारिक पनि हुन्न । तर, गर्भपतनलाई सुरक्षित बनाउन सकिन्छ । गर्भपतन र यसका जटिलता कम गर्न सबैभन्दा उत्तम उपाय परिवार नियोजनका साधनको प्रयोग नै हो भन्दा फरक नपर्ला ।’
परिवार नियोजनका साधन
परिवार नियोजनका साधनले गर्भ रहन नदिने भएकोले गर्भपतन रोज्नुपर्ने बाध्यतालाई अन्त गरिदिने डाक्टर साहले बताए । आवश्यक परामर्श लिएर आफूलाई मन परेको प्रभावकारी परिवार नियोजनका साधन प्रयोग गर्नु बुद्धिमानी साबित हुने उनले बताए । ‘अहिले बजारमा आकस्मिक गर्भनिरोधक चक्की पनि उपलब्ध हुने भएकोले संयोगवश रहन गएको असुरक्षित यौनसम्पर्कपछि पनि गर्भ रोक्न सकिने भएकाले अलि सजिलो पक्कै भएको हुनुपर्छ । असुरक्षित गर्भपतन हुन नदिन गर्भपतनलाई सुरक्षित बनाउनु अर्को विकल्प हुनसक्छ’ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर साहले भने, ‘गर्भपतनलाई सुरक्षित बनाउन नेपालमा गर्भपतनलाई कानूनी मान्यता दिएर सुरक्षित गर्भपतन सेवा सुरु गरिएको पनि १५ वर्ष बितिसक्यो । गर्भपतनले कानूनी मान्यता पाएपछि लुकिछिपी, असुरक्षित स्थानमा र अयोग्य व्यक्तिबाट गर्भपतन गराउनु पर्ने बाध्यतालाई अन्त्य गरेको छ ।’
सुरक्षित गर्भपतन गर्न नेपालमा भ्यानुल भ्याकुम एस्पिरेशन (एम.भि.ए.) अर्थात् प्लाष्टिकमा क्यालुनाद्वारा खाली पारिएको सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवा सँगसँगै एम.ए. अर्थात् मेडिकल एबोर्सन (औषधिद्वारा गरिने गर्भपतन) दुवै किसिमका सेवा सुचारु छन् । यी दुवै सेवाहरू अधिकांश सरकारी अस्पतालहरू तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरूमा उपलब्ध छन् । गर्भपतन सेवाका लागि कानूनी मापदण्ड पूरा गर्नुपर्ने उनले बताए । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यताप्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ । यस्ता सूचीकृत संस्थामा सूचीकृत अर्थात् तालिमप्राप्त चिकित्सकबाट गरिएको गर्भपतनका समस्याका कारण हालसम्म एक महिलाको पनि मृत्यु भएको छैन भने एक प्रतिशतभन्दा पनि कममा मात्र केही समस्या आउने गरेको तथ्याङ्कहरूले देखाएको छ ।
यसका साथै सुरक्षित यौनव्यवहार गर्ने, किशोर अवस्थामा यौन क्रियाकलापबाट टाढा बस्ने तथा कम उमेरमा विवाह नगर्ने जस्ता गतिविधिले पनि असुरक्षित गर्भपतनलाई रोक्न मद्दत गरेको चिकित्सकहरू बताउँछन् ।
असुरक्षित गर्भपतनमा २० वर्षमुनिका बढी
देशमा प्रतिवर्ष २० वर्षभन्दा कम उमेरका १ लाख ७ हजारभन्दा बढी किशोरी गर्भवती हुने गरेका छन् । वि.सं. २०७६ साल साउनदेखि ०७७ सालसम्मको तथ्याङ्क हेर्दा २० वर्षभन्दा कम उमेरका १ लाख ७ हजार ७ सय ९१ जना किशोरीले गर्भवती भएर पहिलोपटक चिकित्सकसँग परामर्श लिएको देखिएको थियो । १ लाख ७ हजार ७ सय ९१ मध्ये दोस्रोपटक स्वास्थ्य परीक्षण गराउन जाँदा ३८ हजार ९५ जना घटेका छन् । गर्भवती महिलाले चार पटक स्वास्थ्य जाँच गराउनु पर्छ । चार महिनाको अवधिमा ३८ हजार ९५ जना २० वर्षमुनिका गर्भवती किशोरीहरू सम्पर्कविहीन भएका छन् । उनीहरूले गर्भपतन गराएको सरकारी अधिकारीहरूको अनुमान छ ।
यता पहिलो महिनादेखि अन्तिम चार महिनासम्म आइपुग्दा ६५ हजार ४ सय ४६ जना हराएका छन् । यिनीहरूले कुनै स्वास्थ्य संस्थामा गएर गर्भपतन गराएको हुनसक्ने अनुमान छ । कतिपयले सुरक्षित गराए भने, कतिपयले असुरक्षित गर्भपतन गराएका छन् । यसरी गराउँदा मातृ मृत्यु बढी हुनसक्छ ।