सोइ ढोले सोइ
किरात प्रदेश खोइ ?
कोशी प्रदेश नामाकरणको विरुद्धको आन्दोलनमा रहेको अग्रणी मोर्चा किरात राई यायोक्खाले साकेला उँभौलीलाई सांस्कृतिक आन्दोलनका रुपमा अघि बढाएको छ ।
धरानमा साकेला उँभौली मनाउँदै, ढोल झ्याम्टा बजाउँदै किरात राई जातिले किरात प्रदेशको माग गरे । धरानमा किरात राई यायोक्खा जिल्ला कार्यसमिति सुनसरीको आयोजनामा आबद्ध जिल्लाभरका प्रारम्भिक कार्यसमितिले शनिबार साकेला शिली प्रदर्शन गरे । सांस्कृतिक भेषभूषामा सजिएका हजारौले 'सोइ ढोले सोइ किरात राज्य खोइ' को भाका हाले ।
कोशी प्रदेशविरुद्ध वक्ताहरु
धरान सप्तरङ्गी पार्कमा आयोजित उँभौली सेवामा चाडपर्वलाई पहिचान रुपी सांस्कृतिक आन्दोलनका रुपमा अगाडि बढाउने निर्णय भएकाले किरात राई वक्ताहरुले कोशी प्रदेश नामाकरण विरुद्ध आवाज उठाए । प्रदेश नामाकरणको विरुद्ध सास्कृतिक आन्दोलन अघि बढाएको किरात राई यायोक्खाका प्रदेश सचिव राम माण्डुपा राईले बताए ।
औपचारिक कार्यक्रममा वक्ताहरुले कोशी प्रदेशविरुद्ध पहिचानमा आधारित नामाकरणको पक्षमा वक्तव्य दिए ।
'५० लाख जनसङ्ख्या रहेको प्रदेशमा कति मत प्राप्त गर्नु भएको छ? प्रदेश सरकारका प्रतिनिधिलाई माण्डुपाले सोधे, 'जनसंघर्ष र आन्दोलनहरुमा उहाँहरुले दिनु भएको आश्वासनविरुद्द नै कोशी प्रदेश नामाकरण गरेका छन् ।'
सांस्कृतिक चाडलाई बहुआयामिक र रणनीतिक रुपमा उपयोग गरेको बताउदै मण्डुपाले राजनीतिक पार्टीले यहाँ को आवश्यक्ता र आवाजलाई नजर अन्दाज गरेको बताए । 'न्याय विकास, समृद्धिको पक्षमा रहेका सबै नागरिकहरुसग हामी छलफल गर्छौं, न्यायोचित मागलाई दबाउन खोजे विस्फोट हुनेछ ।' यायोक्खाका प्रदेश सचिव माण्डुपाले भने ।
प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तिलकप्रसाद राईले माओवादी, काङ्ग्रेस, एमालेलगायतका पार्टीले पहिचानको कुरा गरे पनि कार्यान्वयनमा धोका दिएको उल्लेख गरे ।
सभाध्यक्ष किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले उँभौलीपछिको आन्दोलन थप सशक्त हुने बताए । उनले कोशी प्रदेश नामाकरणविरुद्ध पहिचानको पक्षमा आहुति दिन परे पनि पछि नहट्ने बताए ।
किरात प्रदेश १ नम्बर प्रदेशको नारा र ब्यानरसहित आएका यायोक्खाका जिल्लाभरका कार्यसमितिले कोशी प्रदेश खारेजीविरुद्ध थप अन्दोलनको आवश्यकता रहेको औंल्याए ।
किरायाका पूर्व केन्द्रीय अध्यक्ष तथा धरानका पूर्व नगर प्रमुख तिलक राई, किरायाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईलगायतले पहिचानको आन्दोलनको पक्षमा बोले । धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले राज्यले पहिचानको संघर्षलाई आत्मसात गर्नु पर्ने बताए ।