तीन वर्षदेखि मेचीनगर नगरपालिका कार्यालयले खानेपानीको बक्यौता महसुल नतिरेका कारण नगरपालिका कार्यालयको खानेपानीको धारा काटिएको छ । 

धारा काटिएपछि मेचीनगर नगरपालिकाको कार्यालय परिसरमा रहेको नगर प्रहरी र बारुण यन्त्रका कर्मचारीलाई खानेपानीको असुविधा भएको नगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले बताए । 

उनले नगरपालिका प्रशासनलाई नसोधी खानेपानीका प्राविधिकले पानीको धारा काटिदिएको गुनासो गरे । ‘एउटा सरकारी कार्यालयको खानेपानीको धारा यसरी अचानक काटिँदा अचम्म लाग्यो, हामी कार्यालयमै थियौँ, एक शब्द सोधिएन’, उनले भने । 

काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुलीले तीन वर्षदेखि नगरपालिकाले खानेपानीको बक्यौता नतिरेपछि बाध्य भएर धारा काट्नु परेको बताए । उनका अनुसार नगरपालिकाको बक्यौता छ लाख रुपैयाँभन्दा बढी भइसकेको र यसबीचमा पटकपटक महसुल तिर्नका लागि ताकेता पत्राचार गरिएको थियो । 

‘उपभोक्तालाई लाग्ने कानुन र नियम भनेको एउटै हुनुपर्छ, धेरैपटक समन्वयका लागि पहल ग¥र्यौं, तर नगर प्रशासनले बेवास्ता गरेपछि धारा काटेका हौँ’, समितिका अध्यक्ष पराजुलीले भने । मेचीनगर नगरपालिकाले खानेपानीको १४ वटा धारा प्रयोग गरिरहेको संस्थाले जनाएको छ । 

अध्यक्ष पराजुलीले शुक्रबार दुई वटा धारा काटिएको र अरु १२ वटा धारा पनि काट्ने तयारी भइरहेको जानकारी दिए । नगरपालिकाले भने खानेपानीको बक्यौता छिट्टै भुक्तानी गरिने जनाएको छ । 

संस्थाले नगरपालिकाको वडा नं ६ लाई सरसफाइका लागि भाडामा दिइएको ट्याक्टरको छ महिनादेखिको भाडासमेत भुक्तानी नपाएको जनाएको छ । हरेक ट्रिपको एक हजार आठ सय रुपैयाँ भाडा तिर्ने वडासँग सम्झौता भएकामा वडा कार्यालयको भुक्तानीसमेत नगरपालिकाबाट नदिइएको संस्थाका अध्यक्ष पराजुलीले बताए । उनले खानेपानी महसुल बुझाउन अटेर गर्ने कार्यालय र उपभोक्ताको धारा काट्ने अभियान सुरु गरिएको बताए । 

‘लामो अवधिदेखि महसुल नबुझाएका तीन दर्जन संघसंस्थाको यसै साता धारा काटिएको छ’, अध्यक्ष पराजुलीले भने ।