देउराली । इटहरी स्थित एभरेष्ट बैकको शाखा कार्यालयबाट ग्राहकको रकम ठगी गरेको अभियोगमा सुनसरी प्रहरीले बैकका म्यानेजर सहित ९ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ग्राहकले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ ठगी कार्यमा संलग्नता रहेको भन्दै बैकका इटहरी शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका विश्वराज शाक्यसहित ७ कर्मचारी र २ अन्य गरी ९ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईले बताए ।
डिएसपी राईका अनुसार ३३ जना ग्राहकको खाताबाट उक्त रकम ठगी भएको पाईको छ । ठगीमा संलग्न रहको भन्दै प्रहरीले बैङ्कका अप्रेसन इन्चार्ज विराटनगरका निरज प्रधान, काठमाडौँका सुपरभाइजर धावा लामा, कनिष्ठ सहायक मनोज घिमिरे, देवराज घिमिरे, रञ्जित पण्डित र टोलर पवित्रा कटवाललाई पक्राउ गरेको डिएसपी राईले बताए ।
उक्त घटनामा संलग्न रहेका बैकका कर्मचारी बाहेकका धनुषाका शंकर भुजेल र भक्तपुरका अजय खिउजुलाई पनि पक्राउ गरिएको डिएसपी राईले बताए । कनेक्ट आइपिस मार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पटक–पटक गरी उक्त रकम निकालिएको बताएका छन् ।
बैंकिङ सिस्टम दुरुपयोग गरी उनीहरूले ग्राहकको निष्क्रिय खातालाई सक्रिय गराई ३५ लाख ४८ हजार एक सय ५० रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरीले बताएकाे छ भने, नक्कली चोक बनाएर विभिन्न ग्राहकको एक करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको डिएसपी राईले बताए ।
उनका अनुसार गाईघाट शाखामा अप्रेसन इन्चार्ज रूपमा कार्यरत विराटनगरका निरजलाई प्रहरीले गत चैत २२ गते पक्राउ गरेको थियो भने अन्य ६ जनालाई कर्मचारीलाई भने शुक्रबार पक्राउ पुर्जी जारी गरी पक्राउ गरेको हो ।
त्यस्तै, धनुषा मिथिला नगरपालिका ११ शंकर भुजेललाई वैशाख दस गते, भक्तपुर सुर्यविनायक नगरपालिका २ कटुञ्जेका अजय खिउजुलाई वैशाख १३ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनहिरुलाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी राईले बताए।