छोटा भिडियो सामग्री उत्पादन गर्ने बहुचर्चित मोबाइल एप टिकटकको लोकप्रियता आकासिँदो छ । यसका अन्तर्निहित फिचरहरूको कारण प्रयोगकर्ताहरू घट्नेभन्दा पनि बढ्ने र भइरहेका प्रयोगकर्ताहरू यसको लतमा फस्ने क्रम बढ्दो छ । यसमा उपलब्ध फिचर र यसमा अन्तर्निहित सुविधाहरू नै यस्ता छन् कि प्रयोगकर्ताले समय बितेको पत्तै पाउँदैन । यस लेखमा थाहै नपाई टिकटकको लतमा फसिसकेको प्रयोगकर्ताहरूलाई के कारणले बाँधेर राखेको हुनसक्छ, त्यसबारेमा चर्चा गर्ने प्रयास गरिनेछ ।
घण्टौँ समय बिताउँदा पनि प्रयोगकर्ताले पत्तो नपाउनुमा टिकटकमा उपलब्ध आकर्षक सामग्रीहरू प्रमुख कारण रहेको छ । यसमा हास्य, नृत्यदेखि लिप–सिङ्क गरेर कुनै गीतमा नृत्य÷अभिनय गर्ने, नयाँ नयाँ तरिकाले खाना पकाउने तरिका शिक्षाप्रद सामग्रीहरू पनि प्रसारित भइरहेका हुन्छन् । यस्तोमा एउटा प्रयोगकर्ता आफ्नो मुडको आधारमा आफूलाई मन पर्ने भिडियो हेर्ने, बाँकीलाई स्किप गर्ने गर्दछ भने टिकटक स्वयम्ले पनि त्यसैलाई आधारमा मानेर थप भिडियो देखाइदिने गर्दछ । ताजा र मनोरञ्जनात्मक सामग्रीको निरन्तर उपलब्धताले प्रयोगकर्ताहरूमा एकाग्रता सिर्जना गर्छ भने थप सामग्रीहरू हेर्ने जिज्ञासा उत्पन्न गर्दछ । यही सुविधा प्रयोगकर्तामा अन्तर्निहित सुषुप्त अवस्थामा रहेको रोजाइलाई भिडियोमा देखाइदिएर लत बसाइदिन्छ ।
टिकटक चलाउन थालेपछि घण्टौँ बितेको थाहा नपाउने गरी प्रयोगकर्तालाई एकोहो¥याउने कारणहरूमध्येमा एक यसमा अन्तर्निहित एल्गोरिदम हो । यस एपको एल्गोरिदमले आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको प्रयोग गरेको हुन्छ । प्रयोगकर्ताहरूले आफ्नो स्क्रिनमा अन्तरहीन भिडियोहरूलाई स्क्रोल गर्दै गर्दा यसको एल्गोरिदमले उसका गतिविधिहरूलाई विश्लेषण गर्दै रहेको हुन्छ । कुन भिडियोलाई स्किप ग¥यो, कुन भिडियोमा कमेन्ट ग¥यो, कुन भिडियो शेयर ग¥यो आदि कुरालाई विश्लेषण गर्दै त्यसैमा आधारित रहेको थप भिडियोहरू देखाउने गर्दछ । यस्तोमा प्रयोगकर्ताले थाहै नपाई टिकटकमा घण्टौँ समय बितेको पत्तो पाउँदैन । आफूले फलो गरेको अवस्थामा बाहेक आफ्नो टाइमलाइनमा एकै प्रकारका भिडियोहरू आउनु तथा ‘फर यु’ ट्याबले आफूले कमेन्ट, शेयर वा लाइक गरेका प्रकारका थप भिडियो देखिनु यसमा अन्तर्निहित यसै सुविधाको कारणले गर्दा हो ।
त्यस्तै यसमा उपलब्ध भिडियोको समयावधि प्रयोगकर्तालाई लठ्याएर राख्ने अर्को एउटा कारण हो । यसले सामान्य अवस्थामा एउटा प्रयोगकर्ताको एकाग्रता भङ्ग नहुने गरी कम्तीमा ३ सेकेन्डसम्मको भिडियो अपलोड गर्ने सुविधा दिन्छ । अझ आफ्नो रुचिबाहिरको सामग्री आए सजिलै त्यसलाई स्किप गरी अर्को भिडियो हेर्न पाउने हुनाले प्रयोगकर्ता निरन्तर भिडियो हेरिरहन मन पराउने हुन्छ । कालान्तरमा यही प्रवृत्ति लत बनिदिन्छ ।
प्रयोगकर्ताहरू बीच हुने अन्तरक्रिया उनीहरूलाई जोडेर राख्ने यसको अर्को सुविधा हो । प्रयोगकर्ताहरूले भिडियो उत्पादन गर्ने कन्टेन्ट क्रिएटरहरूसँग डाइरेक्ट म्यासेज, कमेन्टमार्फत् अन्तरक्रिया गर्ने सुविधा दिन्छ, जसले गर्दा भिडियो सामग्री उत्पादन गर्ने प्रयोगकर्तालाई आफ्नो काम सामाजिक रूपमा स्वीकार्य रहेको र आफ्नो महŒव रहेको अनुभूति हुने गर्दछ । यसको सीमित प्रयोग र उत्पादनशील सामग्रीहरू उत्पादन गर्ने प्रयोगकर्ताहरूलाई टिकटकको यो फिचरले सकारात्मक ऊर्जा दिइरहेको भए पनि कतिपयलाई यही सुविधाले भ्रम उत्पन्न गरिरहेको हुन्छ । हम्मेसी आफूलाई कमजोर र गलत हुनसक्ने तथ्यलाई नजरअन्दाज गर्ने मानवीय व्यवहार नै कतिपय अवस्थामा भाइरल भिडियोको कारण बन्छ । घरायसी झगडा तथा मनमुटावका भिडियोहरू भाइरल हुनुमा प्रयोगकर्ताको यस्तै प्रवृत्ति जिम्मेवार रहेको हुन्छ । वस्तुनिष्ठ प्रतिक्रियाको साटो रमाइलोको लागि सकारात्मक प्रतिक्रिया दिने प्रवृत्ति पनि कतिपय अवस्थामा घातक भइदिन्छ ।
लोकप्रियता, सामाजिक स्वीकार्यता, लाइभ स्ट्रिमिङ, च्यालेञ्ज, भाइरल कन्टेन्ट आदि चाहिँ प्रयोगकर्तामा अन्तर्निहित टिकटक जस्ता सामाजिक सञ्जाल चट्ट छोड्न नसक्ने कारण हुन् । फोमो (फेयर अफ मिसिङ आउट) भनिने प्रयोगकर्ताको प्रवृत्ति टिकटकजस्ता सामाजिक सञ्जालको लतमा फस्ने कारण हुन् । आफूसँग फलो फलोइङ भएका प्रयोगकर्ताले तयार गरेको ट्रेडिङ च्यालेञ्ज र भाइरल कन्टेन्ट नछुटोस् भन्नाको खातिर कसैको प्रोफाइलमा गएर भिडियो हेर्ने, क्यु एण्ड ए, कन्सर्टलगायतका लाइभ स्ट्रिमिङ कन्टेन्टहरूको कारणले पनि प्रयोगकर्ताको टिकटकजस्ता एपहरूमा झुन्डिएर बस्ने समय बढिरहेको हुन्छ । यस प्रकारको कन्टेन्टहरू चट्टै छोड्न नसक्ने कारण चाहिँ त्यो कन्टेन्ट छोडेमा म एक्लो पर्छु कि भन्ने मनोभावना पनि एक हो । फोमोले सामाजिक प्रमाणीकरण र लोकप्रियताको लोभ पनि उत्पन्न हुन सक्छ । लाइक, कमेन्ट, शेयर र फलोअरको सङ्ख्यालाई टिकटकमा महत्व दिइने हुनाले प्रयोगकर्ताहरूलाई आफ्ना साथीसङ्गीहरूबीच अस्तित्व रक्षाको अवस्था सिर्जना गर्दछ र यसमा सक्रिय रहन दबाव उत्पन्न गर्दछ ।
टिकटकमा लाइभ बस्दा कुनै अर्को प्रयोगकर्ताले दिने भर्चुवल गिफ्टलाई पैसामा रूपान्तरण गरेर घर गाडी किनेको समाचार पनि कयौँलाई टिकटकमा लठ्याएर राख्ने कारण हो । व्यक्तिले आफूमा अन्तर्निहित क्षमतालाई भन्दा पनि अरूको उपलब्धिलाई आत्मसात गर्दा यस प्रकारको लतमा फस्ने गर्दछन् । सामाजिक सञ्जालको लतको बारेमा गरिएका अध्ययनहरूका अनुसार लाइक, कमेन्ट, फलोअर काउण्ट, भर्चुवल गिफ्ट जस्ता टिकटकको पुरस्कृत गर्ने प्रणालीको कारणले प्रयोगकर्ताको मस्तिष्कमा डोपोमाइनको निष्कासन गर्ने गर्दछ । परिणामतः प्रयोगकर्तामा यसको लत देखा पर्ने गर्दछ ।
अन्तमा, टिकटकजस्ता सामाजिक सञ्जालको प्रयोग आफैमा पुर्णरूपले नराम्रो चाहिँ हैन तर, यसको लत कुलतमा परिणत हुने अवस्था चाहिँ ठीक हैन । देखासिकीमा माथि उल्लेख गरिएका कुनै पनि लोभको कारणले सब थोक छोडेर यसको पछि लाग्नु उचित हैन । यस्ता एपको प्रयोग गर्दा स्वस्थ सन्तुलन कायम राख्न र जीवनका अन्य पक्षहरूलाई प्राथमिकता दिनको लागि आफ्नो स्क्रिन समयलाई ध्यानमा राख्नु आवश्यक छ ।