पृष्ठभूमिः
१.समान पेन्सनको अभियान उत्कर्षमा पुग्नेबेला सङ्गठनभित्र नीतिगत असन्तुष्टि उत्पन्न भएपछि गेसो (न्ब्भ्क्इ) सङ्गठन विगतमा टुक्रियो । देशको पूर्वी क्षेत्रमा सहयोगार्थ सङ्कलित रकमको केही हिस्सा बक्यौतासहित टुक्रिएको सङ्गठनले ‘भूपू गोर्खा सैनिकका गौरवमय इतिहास सम्बर्धन हुनेगरी कुनै एउटा ठोस कार्यमा उक्त रकम खर्च गर्नुपर्छ’ भन्ने सोच लिएपछि भूपू सार्जेन्ट रमेशकुमार राईको प्रस्तावमा विष्णुपादुकामा ‘ब्रिटिश–गोर्खा स्मारक पार्क’ निर्माण गर्न साङ्गठनिक निर्णय भयो । वीरगति पाएका गोर्खाली सिपाहीहरूको दिहवङ्गत आत्मालाई श्रद्धाञ्जली अर्पण गर्न, सामूहिक सिङ्गो समाधीको रूप दिन, संसारका युद्धभूमिमा छरिएर छोडिएका उनीहरूका चिहानबाट सङ्कलित मट्टी पार्कको केन्द्र बिन्दुमा राखी निर्माण शिलान्यास भयो ।
दृढ अठोटः
२.दाताहरूको नाम पार्कमा शिलालेख गर्ने प्रतिबद्धतासहित थप रकम सङ्कलन भयो । कोही स्वेच्छाले अभियानमार्फत् जोडिए भने कोही भू.पू. ब्रिटिश–गोर्खाहरू सहयोगका पुकारले आर्थिक सहयोगमा जोडिए । तर, निर्माण प्रगति सोचेको जस्तो द्रुतगतिमा अगाडि बढेन । यो चरणसम्म गेसोका पुराना समितिले निर्माण अभियानमा आर्थिक, नैतिक, भौतिक र मानसिक सम्पूर्ण ऊर्जा लगानी गरेर पार्क निर्माण अभियानमा दृढतापूर्वक समर्पित भएर जुटे । त्यसका निम्ति वहाँहरू प्रशंसाको हकदार छन् ।
नयाँ समितिः
३. २०७४ को अधिवेशनबाट क्याप्टेन हरिबहादुर लिम्बूको अध्यक्षतामा नयाँ समिति गठन भएपछि पार्क निर्माण कार्यले केही गति लियो । यो गतिशीलताले मानिसको आत्मविश्वास बढेपछि, अप्रत्यासितरूपमा आर्थिक सहयोग र विभिन्न किसिमका संरचना प्रायोजन दाताको सङ्ख्या वृद्धि हुनथाल्यो । साङ्गठनिक तथा व्यक्तिगत स्मृतिका संरचना धेरै निर्माण भए । नयाँ संरचना निर्माणमा हर्कराज राईको महŒवपूर्ण भूमिका रह्यो । पार्कले पूर्णता पाउन बाँकी नै रहे पनि धरानका निम्ति एउटा महŒवपूर्ण पर्यटकीय गन्तव्यमा यो रूपान्तरण भयो । पार्कलाई परिकल्पनानुरूप पूर्णता दिनका निम्ति अझै धेरै निर्माण कार्य बाँकी नै थियो । २०८ वर्ष लामो ब्रिटिश–गोर्खाको गौरवमय इतिहास जगेर्ना गर्ने भरपर्दो पार्करूपी सङ्ग्रहालय विकसित हुन थाल्यो । अध्यक्ष तथा उपाध्यक्षको जनसम्पर्क कुशलता, उत्तम कार्यशैली, परिकल्पनाका योजना कार्यान्वयन क्षमता र त्यस्तैगरी सचिवको उत्कृष्ट एवम् उच्च तहको कम्प्युटिङ ज्ञानसहितको लगनशीलता, नयाँ कोषाध्यक्षको हिसाब–किताबमा उत्कृष्ट ज्ञान, लामो समयसम्मको लेखा अनुभव र समितिका सम्पूर्ण सदस्यहरूको सहकार्य, एकता, परिश्रम र सङ्कल्पको प्रतिफल हुन् ती उपलब्धिहरू । त्यसका लागि वहाँहरू सबै प्रशंसाको हकदार हुनुहुन्छ ।
पार्क भाडामाः
४. मानिसको जीवनकालमा हदबन्दी भएकाले र नयाँ पुस्ताका ब्रिटिश–गोर्खा लाहुरेहरू सेवाबाट अवकास भएपछि विगतमाजस्तो नेपाल फर्किने सुनिश्चितता नभएकाले, पुस्ता हस्तान्तरणबारे पनि परिकल्पना नभएको होइन । त्यस्तै विचारधारा मनमस्तिष्कमा छल्किरहेको बेला केही भू.पू. गोर्खाका छोराहरूको एउटा समूहले ‘करोडौं लगानी गरेर पार्कलाई विशाल मनोरञ्जन गन्तव्यको रूपमा विकास गर्ने साथै ब्रिटिश–गोर्खाका विशिष्ट इतिहास सम्बर्धन गरिने’ भनी सुन्दर सपनासहितको प्रस्ताव ल्याएपछि समितिका पदाधिकारीहरू प्रस्तावबाट प्रभावित मात्रै भएनन्, विश्वस्त पनि भएपछि पार्कलाई दीर्घकालीन करारमा दिन मञ्जुरी भई सम्झौता गरेका थिए । तर, प्रतिबद्धता अनुरूप निर्माण कार्य अगाडि बढ्न सकेन । बरु नियमित मर्मत–सम्भार पनि उपेक्षा भएपछि पार्कको स्तर उल्टै खस्केर गयो । यो पार्कमा मानिसको आर्थिक लगानी मात्रै भएको छैन । उनीहरूको भावना पनि यसमा त्यत्तिकै जोडिएको छ । पार्कको उद्देश्य र सोचेको लक्ष हासिल भएन भने हजारौं दाताहरूको भावनामा चोट पुग्नेछ ।
मेरो सुझावः
५. सम्झौताका सर्तहरू अवज्ञा भएपछि पार्कको खस्किँदो अवस्थाको कारणले सम्झौता भङ्ग गर्ने निर्णयलाई हालैको अधिवेशनले सर्वसम्मत अनुमोदन गरेको खबर स्वागतयोग्य ठानिएको छ । जहाँसम्म इतिहास जगेर्ना गर्ने सवाल छ, यो पार्कलाई पैसा आर्जन गर्ने महŒवाकाङ्क्षी माध्यम नबनाएर प्रवेश शुल्क र क्यान्टिनको आम्दानीबाट मात्रै आत्मनिर्भर बनाए लक्ष हासिल गर्न पर्याप्त हुन्छ भन्ने मेरो सद्भावपूर्ण सुझाव छ । यदि संस्था आफै आत्मनिर्भर हुन नसकी कठिन परिस्थिति सामना गर्नुपरेमा भू.पू गोर्खा समुदाय त्यसरी नै उत्तरदायी हुनु जरुरी छ, जसरी सङ्ग्रहालयलाई सञ्चालन गरेर आफ्नो इतिहास जीवित राख्न सबैले नियमितरूपमा आर्थिक सहयोग गर्दछन् ।