विजयपुर । धरानको साकेला पार्कमा किरातीहरू ढोल झ्याम्टासँगै सोइ ढोले सोइ, किरात प्रदेश खोइ ? गीतसँगै नाचिरहेका थिए । यो उनीहरूको कुनै आन्दोलन नभई उँभौली पर्वको समापन कार्यक्रम थियो ।
शनिबार सांस्कृतिक भेषभूषामा सजिएका हजारौँ किरातीहरूले ‘सोइ ढोले सोइ किरात राज्य खोइ ?’ को भाकासँगै नृत्य गरे । किरात राई यायोक्खाले उँभौली पर्वलाई कोशी प्रदेश खारेजी र किरात प्रदेश नामकरण आन्दोलनको रूपमा मनाएकाले यस्तो गीत गाएका हुन् । कोशी प्रदेश नामकरणसँगै आन्दोलित किरायाले साकेला उँभौली पर्वलाई पनि सांस्कृतिक आन्दोलनका रूपमा मनाएको हो । त्यसैले उनीहरूले सोइ ढोले सोइ किरात प्रदेश खोइ ? गीत गाउँदै साकेला नाचे । उनीहरूले कोशी प्रदेश खारेजीको माग गरे । उनीहरूको ब्यानर र प्ले–कार्डमा पनि कोशी प्रदेश खारेजी र किरात प्रदेश नामकरणको नारा लेखिएको थियो ।
उँभौली पर्वलाई पहिचानवादी सांस्कृतिक आन्दोलनका रूपमा अगाडि बढाउने निर्णय भएकाले कार्यक्रममा वक्ताहरूले कोशी प्रदेश नामकरण खारेजीको माग गरे । कार्यक्रममा किरात राई यायोक्खाका प्रदेश सचिव राम माण्डुपा राईले प्रदेश नामकरणको विरुद्ध सांस्कृतिक आन्दोलन अघि बढाएको बताए । उनले ५० लाख जनसङ्ख्या रहेको प्रदेशमा कति मत प्राप्त गरेको भन्दै पश्न गरे । उनले भने, ‘जनसङ्घर्ष र आन्दोलनहरूमा उहाँहरूले दिनुभएको आश्वासनविरुद्ध नै कोशी प्रदेश नामकरण भयो ।’ उनले राजनीतिक दलले आवश्यकता र आवाजलाई नजरअन्दाज गरेको बताए । उनले भने, ‘न्याय, विकास र समृद्धिको पक्षमा रहेका सबै नागरिकहरूसँग हामी छलफल गर्छौं, न्यायोचित मागलाई दबाउन खोजे विष्फोट हुनेछ ।’ कार्यक्रममा किराया सुनसरी सल्लाहकार अशोक राईले पहिचान विरोधी नामकरणको विरुद्धमा आन्दोलन थप गर्नुपर्ने बताए । उनले भने, ‘कोशी प्रदेश खारेजी गर्नुपर्छ ।’ प्रमुख अतिथि किरात राई यायोक्खाका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तिलकप्रसाद राईले राजनीतिक दलले धोका दिएको बताए । उनले भने, ‘माओवादी, काङ्ग्रेस, एमालेलगायतका पार्टीले पहिचानको कुरा गरे पनि कार्यान्वयनमा धोका दिए ।’
कार्यक्रममा धरान नगरप्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम बेघालगायतको उपस्थिति रहेको थियो । उपप्रमुख बेघाले राज्यले पहिचानको सङ्घर्षलाई आत्मसात गर्नुपर्ने बताए । धरानमा किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले उँभौलीपछिको आन्दोलन थप सशक्त हुने बताए । उनले कोशी प्रदेश नामकरणविरुद्ध पहिचानको पक्षमा आहुति दिन परे पनि पछि नहट्ने बताए । किरायाका पूर्व केन्द्रीय अध्यक्ष तथा धरानका पूर्व नगरप्रमुख तिलक राई, किरायाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज राईलगायतले पहिचानको आन्दोलनको पक्षमा बोले ।
उँभौलीको समापन कार्यक्रममा भएको प्रतिस्पर्धात्मक साकेला सिलीमा धरान–१९ को समूह प्रथम भएको छ । यस्तै धरान–१५ को समूह दोस्रो र धरान–११ को समूह तेस्रो भएको छ । सिलीमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै भेषभूषामा धरान–१६ प्रथम भएको छ भने धरान–१३ दोस्रो भएको छ । यस्तै इटहरी–१, १९ र २० तेस्रो भएको छ । महिलातर्फ भेषभूषामा धरान–८ की दिकु राई सर्वोत्कृष्ट भएकी छन् । सर्वोत्कृष्ट ढोलेमा धरान–५ र ६ का राजकुमार राई भएका छन् । महिलातर्पm ढोलेमा सोनापुरकी अनुकला राई सर्वोत्कृष्ट भएकी छन् । सांस्कृतिक सामग्री प्रदर्शनी धरानभित्रमा धरान–१५ प्रथम, धरान–१३ दोस्रो र धरान–९ र १० तेस्रो भएका छन् । सांस्कृतिक सामग्री धरानबाहिरतर्फ इटहरी–५ र ७ प्रथम भएको छ भने इटहरी–१, १९ र २० दोस्रो भएको छ ।
त्यस्तै इटहरी–१७ र १८ तेस्रो भएको छ । सहभागितामा धरानभित्र धरान–८ प्रथम, धरान–५, ६ दोस्रो र धरान–२० तेस्रो भएको छ । उत्कृष्ट सहभागिता धरानबाहिरतर्फ इटहरी–१, १९ र २० प्रथम भएको छ । इटहरी–१७ र १८ दोस्रो भएको छ भने इटहरी–५ र ७ तेस्रो भएको छ । सोनापुर सान्त्वना भएको आयोजकले जनाएको छ ।