कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रहरीको दर्ददनाक अवस्था रहेको बताएका छन् । कतिपय ठाउँमा अपराधि बाइक, कारमा हिड्ने र प्रहरी साइकल, मोटरसाइकलमा हिड्नु पर्ने अवस्था रहेको मुख्यमन्त्री कार्कीले बताए ।
‘प्रहरीका सवारी साधन, स्रोत पर्याप्त नभएको अवस्था छ,’ उनले भने, ‘प्रदेशले बजेट बनाउँदा प्रहरीलाई केही गर्न सक्ने अवस्था छैन । समन्वय मात्र गर्ने हो ।’
वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनको आइतबार समुद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले विपद् व्यवस्थापनमा नेपाली सेना, सशस्त्र र प्रहरीले धेरै राम्रो काम गरेको उल्लेख गरे । उनले प्रदेश सरकारले पनि विपद् नीति तयार पारेको बताए ।
४ करोड ४ लाख ६३ हजार ८ सय ४३ रुपैयाँ लागतमा भवन निर्माण भएको हो ।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनामा प्रहरी नपरेको बताउँदै प्रदेश सरकारले समन्वय गरेर अगाडि बढिरहेको बताए ।
‘अहिले पनि प्रहरी समायोजनको काम अगाडि बढेको छैन,’ उलने भने,‘ प्रधानमन्त्री ज्यूलाई भेटेर कुरा राख्दा चाँडै समायोजन प्रक्रिया अगाडि बढ्छ भन्ने आश्वासन पाएका छौँ ।’
२०७५/०७६ को बजेटमा प्रदेश प्रहरी कार्यालयसहित ५४ वटा भवन निर्माण गर्ने बजेट विनियोजन गरेको बताउँदै मुख्यमन्त्री कार्कीले भने, ‘आजको मितिसम्ममा धेरै सुविधा सम्पन्न भवन बनिसकेका छन् ।’
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलले सुविधा सम्पन्न भवनबाट प्रहरीले शान्ति सुरक्षामा कटिबद्ध भएर लागि पर्ने बताए ।
प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘पीडामा परेका व्यक्तिलाई थप पीडा दिनु हुँदैन,’ उनले भने, ‘त्यस्ता सेवाग्राहीको प्राथमिकतामा राखेर सेवा दिनु प्रहरीको कर्तव्य हो ।’
उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाई, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति थियो ।
२०७७ असार ४ गते सम्झौता भएर निमार्ण सुरु गरेको कार्की बन्धु अमर जेभी विराटनगरले हस्तान्तरण २०७९ चैत १० गते हस्तान्तरण भएको थियो । भुइँ तलामा सात वटा कोठा रहेको छ । जसमा कन्ट्रोल र अनुसन्धान कोठाहरु रहेको छ ।
पहिलो तलामा ९ वटा कोठा रहेका छन् । जसमा अपिसल, मिटल हल र क्राइम सेलका कोठाहरु रहेका छन् । दोस्रो तलामा ९ वटा कोठाहरु रहेका छन् । जसमा कार्यालय प्रमुख डिएसपीको कार्यालयसहितका कोठाहरु रहेका छन् । तेस्रो तलामा प्रहरी अधिकृतहरुको निवास रहेको छ ।