पूर्व अर्थमन्त्री शङ्कर प्रसाद कोइरालाको टिमले गृह जिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पसमा ई–लर्निङ सेन्टर स्थापना गरेको छ । 

आफै संरक्षक रहेको ईश्वर मन्दिर काठमाडाँैको सहयोगमा कोइरालाको टिमले क्याम्पसका लागि आवश्यक कम्प्युटर सहितका सामग्री सहयोग गरेपछि आजदेखि सेन्टर सञ्चालनमा आएको छ । जिल्लाका अधिकांश विद्यालयमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि आवश्यक सामग्री सहयोग गर्दै आइरहेको टिमले अहिले भने भोजपुर क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनका लागि सहयोग गरेको सहयोगी संस्था ईश्वर मन्दिर काठमाडाँैका महासचिव सङ्केत कोइरालाले बताएका छन् ।

 महासचिव कोइरालाले भन छन्, “आधुनिक प्रविधिको युगमा विद्यार्थीलाई अब कलम र पेन्सिलभन्दा पनि कम्प्युटर जरुरी भएकाले शैक्षिक संस्थामा कम्प्युटर शिक्षाको सुरुआत गर्ने उद्देश्यका साथमा अभियान सुरु गरिएको हो ।” 

क्याम्पसमा ई–लर्निङ सेन्टर सञ्चालनमा आएसंगै अध्ययनरत विद्यार्थीलाई पठन पाठनमा समेत सहयोग पुग्नेछ । सामुदायिक विद्यालयको गुणस्तरीयता नभएको भन्दै अभिभावकले आफना नानीहरूलाई निजी विद्यालयमा पढाइरहेको अवस्थामा पूर्व अर्थमन्त्री कोइराला सहितको टिम भने भोजपुरका सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागि परेका हुन । 

इच्छाशक्ति भएमा पहुँचमा नहुँदा पनि आफ्नो गृहजिल्लाका लागि केही गर्न सकिन्छ भने उदाहरण खिलराज रेग्मी सरकारको अन्तरिम मन्त्रिपरिषद्मा अर्थमन्त्री रहनुभएका शङ्कर प्रसाद कोइराला सहितको टिमले देखाएका छन् । भोजपुर नगरपालिकामा रहेको विद्योदय मा.वि., जनसेवा आधरभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, आदर्श शिशु आधारभूत विद्यालय, हतुवागढी गाउँपालिकामा रहेको सगरमाथा मा.वि., षडानन्द नगरपालिकामा रहेको अरुण मा.वि., अरुण गाउँपालिकाको शारदा मा.वि.सहित पुस्तकालय लगायतका संस्थालाई पनि कोइरालाको टिमले यस अघि नै कम्प्युटर लगायतका सामग्री सहयोग गरेका छन् । 

‘विद्यार्थी साथमा, कम्प्युटर हातमा’ भन्ने अभियान सुरु गरेको पूर्वअर्थमन्त्री कोइरालाको टिमले भोजपुरका विद्यालयमा गरेको सहयोग शैक्षिक सुधारमा महत्त्वपूर्ण भएको जनसेवा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिरबहादुर खत्रीले बताउछन् । पूर्वअर्थमन्त्री कोइरालाले आगामी दिनमा पनि भोजपुरका अन्य विद्यालयमा पनि यो सहयोग निरन्तर रहने बताएका छन् ।

“विगतमा जस्तो पठनपाठन गराएर मात्र हुँदैन, अब विद्यालयमा प्रविधिमैत्री ई–लर्निङ सेन्टर पनि स्थापना हुनुपर्छ, त्यसका लागि पनि हामीले सहयोग अभियान सुरु गरेका हौँ”, कोइराला भन्छन् । 

पूर्वअर्थमन्त्री कोइरालाको टिमले जिल्लाका शैक्षिक संस्थालाई प्रविधिमैत्री बनाउन गरेको सहयोग महत्त्वपूर्ण भएकाले अब घरबाट किताब कपी लिएर विद्यालयमा पढन आउने भन्दा पनि विद्यार्थीले प्रविधिबाट नै सिक्नुपर्ने प्राध्यापक इन्द्र राउतको भन छन् । 

–रासस