वराहक्षेत्र १० स्थित रामधुनी प्रकाशपुर सामुदायिक वनले छटान–कटान आदेशभन्दा तीन गुणा बढी रुख काटी तस्करी गरेको आरोप लागेको छ ।
असन्तुष्ट वन उपभोक्ताले सव डिभिजन वन कार्यालय लालपुरलाई जानकारी गराएको भए पनि कारबाही प्रक्रिया अघि नबढाएको भन्दै डिभिजन वन कार्यालय सुनसरीमा उपभोक्ताले उजुरी गरेका छन् ।
डिभिजन वन कार्यालयले छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने माग राखेको उपभोक्ता संगीता किरातीले बताएकी छन् ।
सामुदायिक वनले सखुवाको काठ छटान कटान आदेश पाए पनि वनको इजाजत भन्दा बढी मात्रामा कटान गरेको र कटान गरिएका काठपात घाटगद्दी नगरी लुकाई छिपाई राखेको उपभोक्ताको आरोप छ ।
उपभोक्ताले खोजतलास गर्दा २ सय १९ थान काठ लुकाई राखेको अवस्थामा फेला पारेका थिए । सब डिभिजन वन कार्यालय लालपुरका प्रमुखलाई जानकारी गराउँदा कारबाही गर्ने आश्वासन दिए पनि बेवास्ता गरेको उपभोक्ताहरुको आरोप छ ।
बिहीबार डिभिजन वन कार्यालयका प्रमुखलाई पत्राचार गर्दै उपभोक्ताले वन ऐनअन्तर्गत छानबिन गरी कसुरवारमाथि कारबाही गर्न निवेदन दिएका छन् ।
गत वैशाख २५ गते सब डिभिजन वन कार्यालय लालपुरलाईसमेत उपभोक्ताले निवेदन दिएका थिए । छटान कटान आदेशभन्दा तीन गुणा बढी रुखहरु काटिएको उपभोक्ताले निवेदनमा उल्लेख गरेका थिए ।
डिभिजन वन कार्यालयले सामुदायिक वनलाई तीन फिटमुनिका बल्ला–बल्ली २१ थन र तीन फिटमाथिका रुख टुना लक्डी काठ हुने साखु जातको २० थान र कुकाठ १ थान गरी जम्मा ४२ थान रुख कटानको आदेश दिएको थियो ।
वन समितिका अध्यक्ष जगतबहादुर कटुवाल र उपाध्यक्ष निरबहादुर बस्नेत, वन समितिका अन्य केही व्यक्ति र वनका कर्मचारीको मिलेमत्तोमा २ सय १९ थान रुख काटी तस्करी गरी लगी जताततै जंगलमा लुकाई छिपाई राखेको अवस्थामा उपभोक्ताहरुले फेला पारेको निवेदनमा उल्लेख छ ।
उपभोक्ताहरुले डिभिजन वन कार्यालयलाई फोन सम्पर्क गरी जानकारी मागेका थिए । वन कार्यालयले कारवाहीका लागि सब डिभिजन लालपुरलाई खटाएको जानकारी गराएको थियो । सब डिभिजन वन कार्यालय लालपुरले भने अनुसन्धान भइरहेको बताए पनि स्थलगत सर्जमिन मुचुल्कासहित वास्तविक विवरण उपलब्ध गराएको छैन ।
आर्थिक वर्ष २०७८/७९ को कटान आदेशमा समेत सामुदायिक वनको काठ जम्मा १ हजार ६ सय १७ क्युविक फिटको समेत हिसाब नदेखाएकाले पुरानो हिसाबसमेत सार्वजनिक गरिनुपर्ने उपभोक्ताहरुको माग छ ।
छटान–कटान आदेशभन्दा तीन गुणा बढी रुख काटी तस्करी गरेको सम्बन्धमा सामुदायिक वनका अध्यक्ष जगतबहादुर कटुवालले असहमति जनाए । उनले छटान कटान आदेशअनुसार नै रुख काटेको बताए ।
‘तीनगुना सिनगुना काटेको होइन जति आदेश आएको हो, त्यही मात्र काटिराछौं, फाल्टु लफडा हो त्यतिकै बोलेका छन्,’ वन अध्यक्ष कटुवालले भने, ‘हामीले फाल्टो काम गरेका छैनौं, इजाजत बेगारको लकडी हामीले छोएकै छैनौं ।’
सब डिभिजन वन कार्यालय लालपुरका प्रमुख श्यामकुमार महतोले आदेशअनुसारै सामुदायिक वनले विधिवत् तरिकाबाट रुख कटान गरेको बताए । ‘वनको वार्षिक कार्ययोजनाले जति निकाल्न सक्ने भनेको छ, त्यो निकाल्न मिल्छ, विधिवत् रुपमा नम्बरिङ भयो, छपान भयो, छपान चेकजाँच पनि भयो, संकलन सहमति भयो, तोकिएको म्यादभित्र कटान पनि भएको छ, घाटगद्दी पनि भएको छ, सबै भएको छ,’ सब डिभिजन प्रमुख महतोले भने, ‘तीनगुणा बढी भन्छ, २० वटा सखुवा एउटा बोटधँगेरोको छपान भएको छ, त्यसपछि बल्लाबल्ली ३ फुटभन्दा मुनि गोलाइ भएको ८६ थान विधिवत् तरिकाबाट छपाइ भएको छ ।’
रुखको उचाइ चढेर नाप्न नसकिने भएकाले बढी निस्कन सक्ने सबडिभिजन प्रमुख महतो बताउँछन् । ‘पाँचको पाँच हुँदैन, पाँचको सात पनि अनुमानित हुन सक्छ, सात नापेको ठाउँमा ८ पनि हुन सक्छ, ९ पनि हुन सक्छ,’ वन अधिकृत महतोले भने, ‘रुखमा हाँगाबिँगा पनि हुन्छ, हाँगाबिँगा मोटो भयो भने त्यो पनि काठमै रुपान्तरण हुन्छ, काट्नुभन्दा अघि हजार क्युबिक फिट अनुमान गरेको छ भने १२ सय १३ सय हुनसक्छ, यहाँ छपान भएको भन्दा एउटा रुख पनि यताउति काटेको छैन, हामी आफैं त्यहाँ खटेका छौं, निवेदनअनुसार त छानबिन हुनुपर्यो, कति फेक हो, कति झुठो हो, अरु खास केही छैन ।’
सामुदायिक वनको आम उपभोक्ताले भने वन कर्मचारीको मिलेमत्तोको आशंका गरेका छन् । प्रत्येक महिनाको ५ गते बस्ने सामुदायिक वनको कार्यसमितिको बैठकमा समेत विषय गम्भीर रुपमा उठेको उपभोक्ता संगीता किरातीले बताइन् । कार्यसमिति सबै फन्दामा पर्ने भएपछि कार्यसमितिले समेत विषय लुकाउन खोजेको उनको आरोप छ ।
यता वन उपभोक्ता समितिको कार्यसमित भने आजै आइतबार डिभिजन वन कार्यालय सुनसरी जाने भएको छ । विषयलाई अनावश्यक रुपमा उचालिएको कार्यसमितिको भनाइ छ । विषयबारे डिभिजन प्रमुखलाई फोन सम्पर्क गरी बुझ्न खोज्दा सम्पर्क स्थापित हुन सकेन ।