चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।
भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँ बराबरको मालवस्तु आयात गरेको छ ।
दश महिनाको अवधिका कूल १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । विभागका अनुसार सो अवधिमा नेपालले एक खर्ब ३० अर्ब ९० करोड बराबरको माल वस्तु निर्यात गरेको छ ।
सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आव २०७८÷७९ को १० महिनाको अवधिमा नेपालले एक खर्ब ७३ अर्ब ३४ करोड बराबरको माल वस्तु निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आवको १० महिनामा वस्तु निर्यात २४ दशमलब ४९ प्रतिशतले घटेको छ ।
विभागका अनुसार आव २०७८÷७९ मा रु १६ खर्ब चार अर्ब ६५ करोड २५ लाख बराबरको कूल आयात गरेकामा चालु आवको १० महिनामा रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख बराबरको आयात भएको छ । कूल कारोबारका आधारमा आव २०७८/७९ रु १७ खर्ब ७८ अर्ब बराबरको व्यापार भएकामा चालु आवको १० महिनामा रु १४ खर्ब ६६ अर्ब २२ करोड बराबरको व्यापार भएको छ ।