देउराली ।  धरानमा थप एक थान पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

गत वैशाख ३१ गते दुई थान पेस्तोल सहित पक्राउ परेका तीन जना माथि अनुसन्धान गर्ने क्रममा उनीहरूले लुकाएका थप एक थान पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख नवराज मल्लले जानकारी दिएका छन् । उनका अनुसार धरान ८ स्थित जनता ग्यारेजमा लुकाएर राखेका अवस्थामा मेड इन युएस लेखिएको एक थान पेस्तोलसहित धरान १० का ३५ वर्षीय राजेश लिम्बू र ग्यारेज सञ्चालक धरान ५ का कुमार भण्डारीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । 

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर आरटीआइ र इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मल्ल सहितको टोलीले ग्यारेजमा खानतलासी गर्ने क्रममा पेस्तोलको व्यारेलको भाग, ग्रिप गर्ने ९समात्ने० भाग समेत ग्रेण्डर मेसिनले काटी ३ वटा टुक्रा बनाइ ग्यारेज भित्र लुकाएर राखेको अवस्थामा फेला पारेको डिएसपी मल्लले बताए । 

म्यागेजिनसहितको स्वचालित पेस्तोलसहित पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट दश दिनकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।