वित्तीय संस्थाहरूमा एकपछि अर्को आर्थिक अपचलनका घटना सार्वजनिक हुन थालेका छन् । आफ्नो सम्पत्ति सुरक्षित रूपमा राखिदिने ठानिएका बैङ्क र सहकारीहरूबाटै बचतकर्ताको पैसा हराउनु वा असुरक्षित हुनु दुःखद् हो । सहकारी संस्थाहरूबाट बचत रकम अपचलन भएका खबरहरू बारम्बार आउने गरेका छन् । एउटै सहरमा सहकारीले अर्बौं रकम अपचलन गरेका छन् । सहकारीको बदमासीका कारण कयौं बचतकर्ताहरू सडकमा पुगेका छन् । बदमासी गर्ने सहकारीका कारण नियम कानून पालना गर्ने सहकारीहरूसमेत अप्ठ्यारोमा परिरहेका छन् । सहकारीमा आफ्नो बचत असुरक्षित रहने ठानेर पछिल्लो समय बचतकर्ताहरू बैङ्कप्रति बढी विश्वस्त थिए तर, केही समययता बैङ्कहरूमा पनि अपचलनका घटना बढिरहेका छन् । यसले आम बचतकर्ता बैङ्कप्रति पनि सशङ्कित बन्न थालेको अवस्था छ । यो अवस्था बढ्दै जानु वित्तीय क्षेत्रका लागि ठूलो चुनौती हो ।
केही दिनअघि एभरेष्ट बैङ्कको इटहरी शाखाका कर्मचारी मिलेर ३३ जना बचतकर्ताको १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ झिकेको पाइएपछि अनुसन्धान गर्दा प्रहरीले बैङ्कको उदयपुर शाखाका अपरेशन मेनेजर ३४ वर्षीय निरज प्रधानको मुख्य योजना र बैङ्कको इटहरी शाखा प्रबन्धक ४२ वर्षीय विश्वराज शाक्यसहित अन्य कर्मचारीहरू संलग्न रहेको पत्ता लाग्यो । बचतकर्ताको खाताबाटै रकम चोरी भएपछि प्रहरीले बैङ्कको इटहरी शाखाका सुपरभाइजर ३७ वर्षीय धावा लामा, बैङ्कका कनिष्ठ सहायकहरू २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रञ्जित पण्डित, बैङ्कको इटहरी शाखाकी टेलर ३० वर्षीया पवित्रा कटुवाल पक्राउ परेका छन् भने ग्राहकका रूपमा पैसा झिक्ने ३४ वर्षीय शङ्कर भुजेल र २७ वर्षीय अजय खिउजू पनि पक्राउ परेका छन् । प्रहरीले गत चैत १२ गते नै एभरेष्ट बैङ्क गाईघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैङ्कभित्रको सङ्गठित जालो पत्ता लागेको हो । यसरी कर्मचारीहरूबाटै सङ्गठित रूपमा बचतकर्ताको रकम चोरी हुनु अपराध हो । उनीहरूलाई कानून बमोजिम कारबाही हुनुपर्छ भने बचतकर्ताले रकम फिर्ता पाउनुपर्छ । तर, त्यतिले मात्र वित्तीय क्षेत्रमा बढ्दो अपराध नियन्त्रण हुँदैन । वित्तीय क्षेत्रका विज्ञहरू यो विषयमा गम्भीर बन्नु जरुरी छ ।
पछिल्लो घटनाक्रमले बैङ्कलगायतका वित्तीय संस्थाहरूप्रति आम नागरिकको विश्वास घट्दो छ । एकातिर लघुवित्तहरूले सर्वसाधारण बचतकर्तालाई उठिबास लगाइरहेका छन् भने अर्कातिर मिटरब्याजीहरूले सडकमा पु¥याएका छन् । यही बीचमा सहकारी र बैङ्कमा जम्मा गरेको रकम कर्मचारीबाटै अपचलन हुनुले आम नागरिकमा वित्तीय क्षेत्रप्रति विश्वास घट्ने निश्चित छ । विगतदेखि बचत रकम अपचलन गर्ने सहकारीका कर्मचारीहरूलाई गतिलो कानूनी कारबाही हुन सकेको छैन । अहिले पनि बचतकर्ताको रकम अपचलन गर्नेहरू खुलेआम हिँडिरहेका छन् । नियामक निकायले प्रभावकारीरूपमा काम गर्न नसक्दा पनि बचतकर्ताको रकम असुरक्षित बनिरहेको छ । अझै पनि नियमनलाई प्रभावकारी बनाउन नसक्ने हो भने धेरै बचतकर्ताको रकम जोखिममा पर्ने निश्चित छ । सहकारीसँगै पछिल्लो समय बैङ्कहरूमा देखिएको अपचलन गर्ने प्रवृत्ति निरुत्साहित पारिनु आवश्यक छ । त्यसका लागि भएका कानूनहरू परिमार्जन गरेर हुन्छ वा कर्मचारीहरूलाई आचार–संहितामा राखेर बचतकर्ताको विश्वास खस्किन दिनु हुँदैन । बेलैमा कदम नचाल्ने हो भने वित्तीय संस्थाहरूप्रति आम नागरिकको विश्वास घट्नेछ । त्यसैले विश्वास घट्न नदिन तत्कालै कदम चाल्नु वित्तीय संस्थाहरू र सरकारको पनि दायित्व हो ।