देउराली । झापा प्रहरीले पाँच जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतले कैद तथा जरिवाना फैसला गरेका विभिन्न मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागी कारागार पठाएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले बताएका छन् ।
उनका अनुसार चोरी मुद्दामा ३० दिन कैद र ९ हजार जरिवाना फैसला भएका भद्रपुर नगरपालिका वडा ६ का वर्ष १९ को समिर भन्ने सुमिर हेमरम र ३० दिन कैद र २१ हजार जरिवाना तोकिएका पाँचथर याङबरक गाउँपालिका वडा ३ घर भई हाल भद्रपुर नगरपालिका वडा २ बस्ने वर्ष २२ को वसन्त लिम्बु भन्ने वसन्त कुमार सेलिङ , आपराधिक उपद्रव मुद्दामा २ वर्ष कैद र बीस हजार जरिवाना फैसला भएका हल्दीबारी गाउँपालिका वडा २ का वर्ष २० का सुनिल किस्कु, लागु औषध गाँजा मुद्दामा १ वर्ष १ महिना कैद र ६ हजार ६५० जरिवाना फैसला भएका गौरीगञ्ज गाउँपालिका वडा ४ का वर्ष ६५ को सरिया भन्ने बुद्धलाल राजवंशीलाई विभिन्न मितिमा पक्राउ गरी कैद भुक्तानका लागी कारागार पठाइएको बताएका छन् ।
त्यस्तै, सवारी ज्यान मुद्दामा फरार रहेका मेचीनगर नगरपालिका वडा ५का वर्ष २८ अर्जुन श्रेष्ठलाई पक्राउ गरी अदालतले तोकेको जरिवाना दाखिला गराइ छोडिएको झापा प्रहरीले जनाएको छ ।