विराटनगर । जापान लैजाने भन्दै मोरङको सुनवर्षी नगरपालिका र कटहरीका ४० युवाबाट साढे दुई करोड बढी रकम ठगी गरेको आरोपमा गिरोहका एकजना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनवर्षी नगरपालिका–६ का ३५ वर्षीय अजय राजवंशीलाई मोरङ प्रहरीले ठगी आरोपमा आइतबार विराटनगरबाट पक्राउ गरेको हो । पक्राउ परेका राजवंशीसहित ६ जनाको समूहले सुनवर्षी नगरपालिका र कटहरीका ४० भन्दा बढी युवालाई जापान पठाउने भन्दै २ करोड ५३ लाख ७५ हजार रुपैयाँ असुली गरेको प्रहरीले जनाएको छ । राजवंशीलाई एक जना युवाले जापान लैजाने सपना देखाएर १८ लाख रुपैयाँसम्म बुझाएका छन् । रोजगारीका लागि जापान लैजाने भन्दै रकम असुली गरेर राजवंशीले ठगीधन्दा चलाउने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

एक वर्षअघि जापानमा रहेका उनले नाता पर्ने सुरेन्द्र राजवंशीलगायत ४० जनाबाट २ करोड ५३ लाख ७५ हजार रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । मोरङ प्रहरीका अनुसार गिरोहका रञ्जितकुमार राजवंशी, प्रमोदकुमार राजवंशी, विद्याकुमारी राजवंशी र अनुराधा राजवंशी फरार छन् । प्रहरीका अनुसार पीडित ४० जनाले अजयसहित ६ जनाविरुद्ध ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । तीमध्ये अजयका बाबु विशमलाललाई प्रहरीले पीडितको उजुरीलगत्तै नियन्त्रणमा लिएर सोधपुछ गरी हाजिर जमानीमा छाडेको थियो । चार वर्ष जापानमा बसेका अजयले जापानमै रहेको समयमा मोरङ र झापाका भित्री इलाकामा बसोबास गर्ने ४० जना राजवंशी परिवारलाई राजवंशी कोटामा रोजगारीका लागि जापान लैजा भन्दै आफन्तमार्फत् रकम असुली गरेर सम्पर्कविहीन भएको बताइएको छ । अजयलाई अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरेको छ ।

अजयको फन्दामा पर्दा यसरी ठगिए ४० युवा
सुनवर्षी नगरपालिका–३ भेलाहीका ३६ वर्षीय मदनकुमार राजवंशी पेशाले शिक्षक हुन् । उनले विराटनगरको एक निजी विद्यालयमा अध्यापन गराउँदै आएका छन् । उनकै साथी सुनवर्षी –३ का ३६ वर्षीय अजय राजवंशीले जापानमा मासिक साढे २ लाख रुपैयाँ कमाइ हुने सुनाएपछि जाने निधो गरे । मेनेजर पदमा जापान जाँदा १६ लाख रुपैयाँ लाग्ने उनलाई अजयले सुनाएका थिए । सोही अनुसार ऋण काढेर मदनले दुई किस्ता गरी १६ लाख अजयलाई बुझाए । अजयले भनेका व्यक्ति फिरोद कार्कीको नाममा गत वैशाख १४ गते ५ लाख र २०६९ भदौ २७ गते रञ्जिताकुमारी राजवंशीको नाममा ११ लाख रुपैयाँ मदनले बैङ्कमा  जम्मा गरिदिएको भौचर सुरक्षित राखेका छन् ।

१६ लाख रुपैयाँ अजयलाई बुझाएपछि उनलाई भिषा पनि पठाएको छ । ढिलोमा कात्तिकसम्ममा जापान पठाउने अजयलाई वाचा गरेका थिए । अजयले दिएको समय तीनपटक स¥यो । मङ्सिर अन्तिमसम्ममा लैजाने प्रतिबद्धता जनाएका थिए । यो भाखा पनि सर्यो । उनले दिएको अन्तिम समयसीमा पनि सकिएपछि अजय अहिले बेपत्ता भएका छन् । उनले पठाएको भिषा पनि नक्कली भएको मदनले अहिले आएर थाहा पाए ।

यसैगरी मोरङ कटहरी–३ हल्दीबारीका ३६ वर्षीय विवेक राजवंशीले मासिक चार लाख रुपैयाँ कमाइ हुने आश्वासनमा १८ लाख अजयलाई बुझाए । उनले चार किस्ता गरी १८ लाख रुपैयाँ अजयले भनेको व्यक्तिको नाममा बैङ्कमा रकम जम्मा गरेको भौचर राखेका छन् । स्नातक उत्तीर्ण गरेका विवेकलाई पनि जापानमा मेनेजरमा पठाउने भनेका थिए । ‘जग्गा धितो राखेर ऋण खोजेर पैसा बुझाएँ’ उनले भने, ‘विदेश पठाउने अजय सम्पर्कविहीन भएका थिए । अहिले आएर पक्राउ परेका छन् ।’

जापान जान पाउने हल्लाले कतिले घरजग्गा बन्धकी राखेर साहुसँग रकम लिएका छन् । सयकडा ३ देखि ५ सम्मको ब्याजले उनीहरूको सावाँ र ब्याज बढेको छ । झापा कनकाई–१ का भवानीप्रसाद अधिकारीले आठ लाख रुपैयाँ बुझाएको बताए । ऋण काढेर वैदेशिक रोजगारको नाममा पठाएको पैसा कसरी फिर्ता ल्याउने र कसरी ऋण बुझाउने भन्ने चिन्ताले सताएको उनले सुनाए । मोरङका ४० र झापा एक जना गरी ४१ जना युवाहरूको बैदेशिक रोजगारको नाममा ठगी धन्दा चलाएर अजय पक्राउ परे पनि उनका भाइ रञ्जित, बुहारी अनुराधा र चितवनका राजेन्द्र अधिकारी फरार छन् । उनीहरूले ४० जना युवाहरूको ३ करोडभन्दा बढी रकम लिएर अहिले फरार छन् । पीडित युवाहरू न्यायको लागि हारगुहार गर्दै प्रहरी प्रशासनदेखि रोजगार विभागसम्म पुगेका छन् ।