नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी धरानले धरानलाई पुनर्जागृत गराउन पहल कदमी लिने कार्यदिशा अख्तियार गरेको छ ।
धरान उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणका सन्दर्भमा नेकपा एसले जनसरोकारका विषयलाई उठान गरेको छ । पुराना प्रशासनिक कार्यालय स्थापित गर्न पहलकदमी गर्ने नेकपा एसको मुख्य कार्य नीति छ ।
पत्रकार महासङ्घ सुनसरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सोमबार नेकपा एसले धरानका स्थानीय मुद्दा र भ्रष्टाचारसम्बन्धि राष्ट्रिय मुद्दाहरुमाथि केन्द्रित रहेर आफ्ना धारणा सार्वजनिक गरेको छ । नेकपा एस धरान उपमहानगर कमिटीका अध्यक्ष रेवतिरमण राई र सचिव खेमप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पार्टीले २५ बुँदे नीति कार्यक्रम अगाडि सारेको छ ।
सोमबार दिउँसो धरानका नगर प्रमुख हर्कराज राईलाई ध्यानाकर्षणपत्र बुझाउने समय मिलाए पनि नगर प्रमुखले समय उपलब्ध नगराएको पार्टीको गुनासो छ । ध्यानाकर्षणपत्रलाई पार्टीले सन्चारकर्मीमार्फत सार्वजनिक गरेका छन् ।
पार्टीले सरकारी सेवा प्रवेशको लागि लोकसेवा आयोग / सेवा आयोग तयारी कक्षाको व्यवस्था गर्न माग गरेको छ । लागूऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण गर्ने विशेष अभियान संचालन गर्नुपर्ने,धरान ६ पानवारीमा निर्माणधीन औद्योगिक ग्रामलाई यथाशिघ्र सम्पन्न गरी संचालनमा क्याइनु पर्नेलगायतको माग राखेको छ । धरानलाई शैक्षिक हब, स्वास्थ्य हव, खेलकुद तथा साहसिक खेलकुद हब बनाई पर्यटक आकर्षित गर्नुपर्ने, धरानमा रहेका सबै शैक्षिक संस्थामा स्थानीय (धरानको ) कोटाको व्यवस्था गरिनुपर्ने, । युवा, महिला, दलित, अल्पसंख्यकलाई सीप सिकाई स्वरोजगार बनाइनु पर्ने विषयलाई नगर सरकारले नीति तथा कार्यक्रममा राख्नुपर्ने माग राखेको छ ।
ब्रिटिस /भारतीय सेनाको अन्तिम छनौटस्थल धरानमा पुनस्थापना गर्न, धरानका सबै स्थानमा सीसी क्यामेरा जडान गरी शान्ति सुरक्षाको व्यवस्था गर्न, धरानलाई सूचना प्रविधिको केन्द्र बनाई सूचना प्रविधिको बजारीकरण गर्न र आइडिया बैंकको स्थापना गरिनुपर्ने नेकपा एसले ध्यानाकर्षण गराएको छ ।
बहुजातीय संग्रहालय, धरान सभागृहको व्यवस्थापन, जोखिमपूर्ण क्षेत्रमा काम गर्ने सबै मजदुरहरुले अनिवार्य सुरक्षा सामग्री प्रयोग गर्ने व्यवस्था, धरानलाई डिजिटल शहरको रुपमा विकासलगायतका मुद्दालाई पार्टीले प्राथमिकीकरण गरेको छ ।
धराने कालो बंगुर, लोकल रक्सी प्रशोधन गरी धराने ब्राण्डको रुपमा विकास गर्नु पर्ने नेकपा एसको माग छ ।
नगरपालिका प्रविधि मैत्री बनाई भ्रष्टाचाररहित र पारदर्शिता गरियोस भन्ने पार्टीको माग छ ।
धरानको भूमिहीन, दलित, अव्यवस्थित तथा सुकुम्वासी बसोबासलाई स्थायी व्यवस्थित गरी आधारभूत सुविधा उपलब्ध गराइनुपर्ने, धरानमा संचालित बस, ट्याक्सी, टेम्पो, इ-रिक्साको वैज्ञानिक भाडा दर निर्धारण गर्नुपर्ने, व्यवस्थित आधुनिक वधशालाको निर्माण गर्नुपर्ने, कर्मचारीको क्षमतामा अभिवृद्धि गर्नुपर्ने, धरानमा रहेका सहकारी संस्थालाई व्यवस्थित गर्नसमेत नेकपा एसले ध्यानाकर्षण गराएको छ ।
धरानमा आधुनिक सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गर्न र जीवन विमाको व्यवस्था गर्न आवश्यक रहेको नेकपा एसको माग छ ।
धरानले फोहोर व्यवस्थापनको लागि दीर्घकालीन आधुनिक डम्पिङ साइडको व्यवस्था गर्नुपर्ने र धरान बजार साथै वरिपरि समेत सौन्दर्यीकरण गर्नुपर्न नेकपा एसको माग छ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य तथा सुनसरी सहइन्चार्ज जीवन राई, पार्टीका धरान अध्यक्ष रेवतीरमण राई, सचिव खेमप्रसाद दाहाल, जिल्ला कमिटी सहसचिव सविता सिजापती, जिल्ला सदस्य किशोर सुब्बालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।