काठमाडौँबाट धरान घुम्न आएको एउटा परिवारसँग वैशाखको अन्तिम साँझ भेट भयो । छाताचोकमा उभिरहेको थिएँ । कारबाट फुत्त एक महिला नानी च्याप्दै ओर्लिइन् । त्यही कारबाट निस्केर अर्का पुरुष मलाई केही सोध्न खोज्दै थिए । महिलाले सोधिन्, ‘धरान यही हो ? यत्ति नै हो ?’ मैले बजार त यही हो भनेँ । ‘छ्या कस्तो गाउँ जस्तो’ प्याच्च भनिन्, मैले सोधेँ किन र के भयो र ? कसरी गाउँजस्तो भयो ? उनले भनिन्, ‘एक्का दुक्काबाहेक खै होटल देखिएनन् । टेम्पोवालाहरू गाडी अगाडि आएर निहँु खोज्दा रहेछन । बजार भन्नुहुन्छ सम्साँझै सबै दोकान बन्द देखिन्छ । के यही हो धरान ? मैले त कस्तो भव्य होला भन्ने सोचेकी त धरान त गाउँ पो रैछ ।’ उनी भटाभट बोल्न थालिन् । सँगै आएका पुरुषले उनलाई रोक्दै बास बस्ने होटलबारे जानकारी मागे । धरानबारे आजकल हामी यस्ता कुरा अधिकांश नेपाली पर्यटकहरूबाट सुन्ने गर्छांै ।
यस्ता दृष्टान्त कैयन् छन् । केही दिनअघि एकजना पूर्व यातायातकर्मीसँग भेट भयो । केहीबेर गफियौं । उनी भन्दै थिए– ‘३० वर्ष अघिसम्म धरान र पोखरा उस्तै थिए । बाफ रे अहिले पोखरा गा’को बगरभरि सहर बसेछ । बाटाहरू ठूल्ठूला भएछन् । मान्छे धेरै भएछन् । पोखराका अघि धरान त गाउँजस्तो पो देखिँदो रहेछ ।’ धरानको पर्यटनमा लगानीसहितको अभियान चलाएको मलाई उनको कुरा सुनेर नरमाइलो लाग्यो र खिन्न हुँदै कुराको बिट मारेर उनीसँग छुटेँ ।
धरान घुम्न आउने नेपालीहरूमध्ये पहिलोपल्ट आएकाले धरानलाई पोखरा, काठमाडौं या नारायणगढजस्तै सोचेर आएका हुन्छन् । तर, यहाँ आइपुग्दा छाताचोकदेखि भानुचोक, देशीलाइन र पुतली बजारजस्ता छोटो दूरीका बजारले उनीहरूको धरानप्रतिको मोह भङ्ग भैसकेको हुन्छ । भव्य कल्पना गरेर धरान आएकाहरू बूढासुब्बा दर्शन गरेर फर्किन हतारिइरहेका हुन्छन् ।
एक दिन होटल एसोसिएसन धरानका संस्थापक अध्यक्ष कमलेश श्रेष्ठसँग धरानको पर्यटनबारे कुराकानी भयो । धरानका होटलहरूमा स्थानीय गुण्डाहरूको दादागिरी र प्रहरी ज्यादती बढेपछि त्यसविरुद्ध एसोसिएसनको गठन गरिएको रहेछ । ‘तर, अहिले त्यस्तो केही समस्या नभए पनि धरानमा पहिलेको तुलनामा किन पर्यटकहरू घट्दै गएका होलान् भाइ’ भन्दै उनले मलाई सोधे । उनी अहिले क्याफे सञ्चालन गर्छन् । तर, उनले होटल सञ्चालन गर्दा ‘गोराहरू आउँथे रे । अरुण उपत्यका, गुफापोखरी, कोसीटप्पु जाने गोराहरू खुब आउँथे भन्छन् श्रेष्ठ । ‘आजकाल धरानमा ‘गोरा’ देखिनै पो मुस्किल छ नि’ सधैँ हाँसिरहने उनले आँखा चिम्सा पारेर हाँस्दै तीतो व्यङ्ग्य गरे ।
आखिर धरानको विकासको गति, पर्यटनको गति, सामाजिक उन्नतिको गति, आर्थिक फड्कोको गति कुन बाटोमा जाँदैछ ? हामी धरानेली गाउँ बन्ने उल्टो बाटोमा फर्किंदै पो छौँ कि सहर बन्ने बाटोमा ? प्राविधिकरूपमा यो सहर उपमहानगरपालिका भएको होला तर, हाम्रो विकासको गति र त्यसबाट प्राप्त नतिजाले हामी गाउँ बन्नेतर्फ फर्किएका जस्ता देखिँदैछौँ । यसतर्फ हामीले गम्भीरतापूर्वक सोच्न जरुरी छ । नेपाल कम्युनिष्ट पार्टी समाजवादीका केन्द्रीय सदस्य जीवन राई त धरानको भविष्य समस्यामा पर्दै गएको डरलाग्दो तथ्य पेश गर्छन् । उनका अनुसार धरानलाई धरानेहरूले बनाएको, बनाउँदै गएकोजस्तो देखिए पनि धरानलाई हामी बिगार्दै गैरहेका छौँ ।
मुख्यमन्त्रीको सल्लाहकार भएर बसेका उनका अनुसार प्रदेशको सुरक्षा संयन्त्रको बैठकमा जहिल्यै पहिलो नम्बरमा धरानकै चर्चा हुने गरेको छ । प्रदेशमा सबैभन्दा बढी लागूपदार्थको ‘केस’ धरानमै हुन्छ रे । ‘प्रहरीको सूचनाका आधारमा भन्ने हो भने अपराधको सङ्ख्यालाई केलाउँदा धरान प्रदेशमै पहिलो नम्बरमा पर्छ । जुन सहर अपराधमा पहिलो नम्बरमा हुन्छ, त्यो सहरको पर्यटन कसरी सुरक्षित हुन्छ ? त्यहाँ आउने पर्यटकले कसरी सुरक्षित महसुस गर्छन् ?’– जीवनले प्रश्न गरे । उनी भन्छन्, ‘राज्यको उपल्लो निकायमा धरानप्रतिको धारणा सकारात्मक हुन सकेको छैन र तत्काल सकारात्मक बनाउन पनि कठिन छ । यो कठिनाइबारे उनी अझ खुल्दै भन्छन्, ‘एकपटक भानुचोकमा बहालवाला मन्त्री चढेको गाडी स्थानीयले समाते । शनिबारको दिन थियो । बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भनेर हङ्गामा मच्चाइयो । सतहमा हेर्दा यो घटना राम्रो होला । तर, यस्ता घटना पोखरामा नहुने, चितवनमा नहुने, इलाममा नहुने अन्य पर्यटकीय क्षेत्रमा नहुने धरानेहरूलाई चैं यस्ता काम गर्नुपर्ने ? यसले उपल्लो निकायमा के सन्देश गएको छ थाहा छ ?’ उनी प्रश्न गर्दै आफै प्रष्ट्याउँछन्, ‘धरान जानु हँुदैन, त्यहाँका नागरिक अराजक छन् । बाटोबाटोमै गाडी रोक्छन्, छेक्छन् भन्ने परेको छ ।’ सरकारका मन्त्री, सांसद् कर्मचारीलगायतमा धरानप्रतिको धारणा नकारात्मक बन्दै गएकोमा उनी चिन्ता व्यक्त गर्दै भन्छन्, ‘एकातिर धरानलाई पर्यटकीय सहर बनाउने भन्ने अर्कोतिर छुट्टीका दिन घुम्न आएकाको गाडी समाउने ? यसरी पर्यटनको विकास हुन्छ ? सरकारी मान्छे बिदाका दिन नघुमेर कहिले घुम्छ त ?’ उनका कुराले धरानले आफूलाई अराजकहरूको सहरका रूपमा चिनाउला कि भन्ने चिन्ता बढेको छ ।
प्रदेश सरकार अन्तर्गत प्रशिक्षण प्रतिष्ठान विभाग छ । जसले कर्मचारीहरूको क्षमता विकास र वृत्ति विकासमा कार्य गर्दछ । यस्तै दातृ निकायको सहयोगमा प्रदेश सहयोग कार्यक्रम (पिएसपी) सञ्चालनमा छ । यी दुवै निकायले प्रशिक्षण, गोष्ठी, सोमिनार गर्दछन् र यी कार्यक्रमको बजेट करिब पचास करोडमाथि हुन्छ । तर, यसमध्ये एकै रुपैयाँको कार्यक्रम पनि धरानमा भने अहिलेसम्म भएको देखिएको छैन । आफूलाई पर्यटकीय सहरका रूपमा चिनाउन खोज्ने धरानमा प्रदेश सरकारको यस्तो कार्यक्रम आउन अथवा ल्याउन नसक्नुले के बुझाउँछ ? ४० किलोमिटर पर्तिर रहेको प्रदेश मुख्यालयबाट यस्ता कार्यक्रमहरू धरानका होटलहरूमा आउन नसक्नु विडम्बना मात्र हैन, दुर्भाग्य नै मान्नुपर्ने हुन्छ । सरकारी मात्र हैन, पूर्वमा यत्तिका धेरै उद्योग र व्यावसायिक प्रतिष्ठानहरू छन् । निजी क्षेत्रको समेत कुनै आवासीय प्रशिक्षण र गोष्ठी धरानमा हुने गरेको छैन । यसरी हेर्दा धरानमा माइस (मिटिङ, सेमिनार, कन्फरेन्स र एक्जिविसन’ टुरिजम हुन सकेको छैन । माइस टुरिजम भनेको पर्यटनको गतिलो आयको माध्यम हो । तर, यसतर्फ धरानका कसैको ध्यान पुग्न सकेको छैन ।
सहर विकासको सबैभन्दा सशक्त माध्यम पहुँच (कनेक्टिभिटी) हो । सडक सञ्जाल, हवाई सञ्जाल, रेल सञ्जाल, जल यातायातको सञ्जालले सहरहरूलाई जोड्छ । यस्ता कनेक्टिभिटीले विकासका नयाँ नयाँ सम्भावनाहरूको ढोका खोल्छ । इटहरी, नारायणगढ, बुटबल, पोखराजस्ता सहरहरू कनेक्टिभिटीका कारण बनेका सहरहरू हुन् । धरानले आफूकहाँ आउँदै गरेको कनेक्टिभिटीलाई पनि पन्छाउने काम गरिरहेको छ र पन्छाउँदैछ । रोड कनेक्टिभिटी पन्छाएर सहर जोगाउँछु भन्नु मूर्खता हो । दुर्भाग्य हो । मदन भण्डारी राजमार्ग पन्छाएर दक्षिणपट्टि जङ्गलमा पु¥याइयो । यो सडक निर्माणपछि धरान तराई र पहाडको सेतु बन्न सक्थ्यो । वैकल्पिक केन्द्र बनाउन सकिने सम्भावना थियो । धरानले यो अवसर गुमायो । जङ्गलबाट बाटो लैजाँदा केही वर्षलाई सहरका घरहरू जोगिए होलान् तर, दीर्घकालीन रूपमा धरानलाई विकासको अवसरबाट बञ्चित गराएको छ ।
यस्तै धरानको मध्यभागबाट जाने कोसी राजमार्ग पनि विवादमा छ । कोसी राजमार्गलाई मध्यसहरबाट जान नदिएर पूर्वपट्टि खोलाको किनारामा पुर्याउने घनिभूत प्रयास हुँदैछ । दुई ठूला देशबीचको कनेक्टिभिटीका बीचमा बसेर अथाह फाइदा लिन खोज्नुको साटो धरान परपर भागेर लुक्न खोज्दैछ । अवसरबाट भाग्ने मान्छे होस्, सहर होस् या देश उनीहरूको प्रगति कहिल्यै सम्भव हुँदैन । यसरी हेर्दा धरान विकासको अवसरबाट चुक्दै गएको देखिन्छ । धरानले रोडहरूलाई मात्र बाइपास गरेको छैन, रोड कनेक्टिभिटीबाट भागेर आफ्नो भविष्यलाई पनि बाइपास गर्नेछ । अन्य सहर घुमेर फर्केपछि धरानेहरूले त्यहाँको विकासका बारे कुरा गर्छन् । चौडा बाटाका कुरा गर्छन् । जब धरानका बाटाहरू चौडा गर्ने कुरा हुन्छ अनि चैं आन्दोलन गर्छन् । धरानेहरूको यस्तो द्वैध चरित्रले धरान सहर बन्ने हैन, गाउँ बन्ने बाटोमा गएको प्रतीत हुन्छ ।
कनेक्टिभिटीबाट बाहिरिएको अर्को पनि ठूलो उदाहारण तमोर करिडोर हो । पूर्वी पहाडको विकासका लागि भनेर निर्माण हुँदै गरेको यो करिडोरलाई मूलघाटबाट धरान ल्याउन सकिन्थ्यो । तर, यो बाटो वराहक्षेत्रतर्फ मोडियो । यसले पहाड र तराईको कनेक्टिभिटी धरानबाट बाइपास गरिदिएको छ । राजधानीबाट पूर्वी पहाडको लिङ्क बाट धरानलाई बञ्चित गरिदिएको छ । अब पहाड जाने वा पहाडबाट तराई झर्नेहरू भेडेटारको उकालो ओरालो गर्नुको साटो सिधा बाटो भएको मूलघाट, वराहक्षेत्र हुँदै इटहरी जोडिने सम्भावना छ । यसको विकल्पको सबैभन्दा उत्तम उपाय भनेको लेउती धरान सुरुङ मार्ग हुनसक्छ । तर, धरानको नेतृत्व कुनै पनि हालतमा सुरुङ मार्ग बनाउन नदिने पक्षमा भएको सुनिन्छ । यस्ता अवरोधले धरान साँच्चै सकिने बाटोमा गएको हो कि भन्ने लाग्छ । यी र यस्ता समस्याबारे धरान बेखबर भए झैँ लाग्छ । कसैले यी कुराहरूमा चासो र चिन्ता लिएको देखिएको छैन ।
आर्थिकरूपमा पनि धरानको अवस्था उज्वल देखिँदैन । एउटा बैङ्कको प्रबन्धकसँग भएको कुराकानीमा उनले ‘विराटनगरमा शाखा चलाएर आएको त्यहाँ दश करोड, पन्ध्र करोड ऋण लिने व्यापारी धेरै हुन्थे । धरानमा ठूलो लगानी नै हुने गरेको रहेनछ’ भन्दै उनी भन्छन्, ‘यहाँका अधिकांश व्यवसायी त २०–३० लाख ऋण खोज्न मात्र पो आउँदा रैछन् ।’ उनको आशय थियो, धरानमा ठूला लगानी गर्ने उद्यमीको निकै अभाव छ । यहाँ व्यावसायिकरूपमा पनि ठूला लगानीहरू हुन सकिरहेका छैनन् । ठूला व्यावसायिक लगानी हुन नसकेको धरान सहरभन्दा पनि गाउँ बन्दै गएको आशङ्का गर्न सकिन्छ । ठूलो आशा र आत्मविश्वासका साथ गरिएका ठूला लगानी पनि धरानमा धरापमा परेका छन् । आधाभन्दा बढी धरानेको रकम सङ्कलन गरेको वराह सहकारी समस्याग्रस्त बन्यो । काठमाडौंबाट धरान आएर लगानी गरेको सेल्सबेरी डिपार्टमेण्ट फर्कियो । इटहरीमा अत्यधिक सफल भएर पूर्वमा प्रख्यात गोरखा डिपार्टमेण्ट स्टोर धरानमा असफल भएर बन्द भयो । नेपालमै प्रसिद्ध भाटभटेनी डिपार्टमेण्ट स्टोर्सले पनि सुन्नमा आएअनुसार अझै नियमित खर्च उठाउन सकिरहेको छैन । ठूला लगानी असफल हुने धरानमा अब उप्रान्त निजी क्षेत्रको लगानीका सम्भावनाहरू पनि धरापमा पर्न सक्ने देखिँदैछ । तथापि सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा लगानीको सम्भावना र लगानी भिœयाउन यो वर्ष पहल गरिरहेको छ । पहल परिणाममा परिणत हुन र नतिजा आउन भने निकै समय लाग्ने देखिन्छ ।
यस्तै २० वर्षअघि निर्माण भएको घण्टाघर पछि कुनै ठूलो पर्यटकीय आकर्षण थप हुन सकेको छैन । धरानभित्र र वरपर गन्तव्य र आकर्षण बन्न सकेको छैन । लगानी हुन नसक्नु, पूर्वाधार थप हुन नसक्नु र आकर्षणमा वृद्धि हुन नसक्नुले धरान अरू गाउँ र सहरभन्दा निकै पछि पर्दै गएको आँकलन गर्न सकिन्छ ।
यस्तै धरान भित्रिने सडकहरू पनि वर्षौंसम्म निर्माण सम्पन्न हुन नसक्नुले धरानको भविष्य धरापमा पु¥याएको आभास हुन्छ । तरहरा–धरान सडक निर्माण रोकिएर यात्रुका लागि धरापका रूपमा परिणत हुँदै गएको छ र सो बाटोमा दैनिक यात्रुहरू दुर्घटनामा परेको समाचार आइरहन्छ । यो सडक निर्माण हुन नसक्दा मानिसहरू धरान आउनै कठिन मान्ने गरेको हामीले सुन्दै आइरहेका छौँ । चतरा–धरान सडक पूर्ण नभएका कारण भिमानबाट धरान हिँडेका यात्रुहरू इटहरी पुगिरहेका हुन्छन् । यसतर्फ पनि आजसम्म कसैले कडारूपमा आवाज उठाएको पाइएको छैन ।
हामी धरानेहरू धरानलाई निर्माणको सहरका रूपमा, वैभवशाली सहरका रूपमाभन्दा पनि विवादको सहरका रूपमा चिनाउँदै गइरहेका त छैनौँ यो गम्भीर प्रश्न भएको छ । उपमहानगरपालिका सञ्चालन गर्नेहरूको विवाद, छिमेकी नगरपालिकाहरूसँगको विवाद र हरेक विकास निर्माणमा हुने गरेको विवादले धरानको छवि विवादको सहरका रूपमा विकास हुँदै गएकोमा हामी गम्भीर बन्नुपर्नेछ । यहाँ हुने हरेक विकास निर्माणमा सधैँ विवाद हुने कारणले पनि यहाँ ठूला सरकारी लगानी आउन कठिन देखिएको छ । ठूला लगानी नभित्रिने हो भने सहरको विकास पनि ठप्प प्रायः हुन्छ । यसतर्फ नेतृत्वले चनाखो हुन पनि जरुरी छ । तर, विवाद समाधान गरेर प्रगतिपथमा लाग्नुको साटो चुपचाप बस्नमा धरानका बुद्धिजीवी र नेतृत्वले श्रेयष्कर ठानेको महसुस हुन्छ । राजमार्गहरूको निर्माण, एकीकृत सहरी विकास कार्यक्रम, धरान बसपार्क, सप्तरङ्गी पार्क, औद्योगिक ग्राम, कोकाहा खानेपानी परियोजनाजस्ता हरेक कार्यक्रमहरू सधैँ विवादमा परिरहेका छन् । यी विवादहरूका कारण पनि धरानमा विकासका आयोजना सफल हुन सक्दैनन् भन्ने धारणा सरकार र दातृ निकायका नेतृत्वमा परेको सुन्न पाइन्छ । यी र यस्ता समस्याका कारण हिजो ठूला सहरसँग आफूलाई प्रतिस्पर्धी ठानेको धरानले कतै आज गाउँहरूसँग प्रतिस्पर्धा त गर्नुपरेको छैन ? यो अर्को यक्षप्रश्न भएको छ । यस्ता समस्यालाई सबै मिलेर बेलैमा समाधान गरी सबैको प्रयासमा एकीकृत विकासको मोडल तयार गरेर गएको खण्डमा धरानको पर्यटन र विकासको गति सच्चिन सक्छ । होइन भने धरानले आफ्नो गौरवमय इतिहास र स्वर्णिम भविष्य सक्किने बाटोमा जानबाट कसैले रोक्न सक्दैन । धरान सक्किने कि सच्चिने धराने नेतृत्व र सचेत नागरिकको हातमा छ ।