धरान । संयुक्त राष्ट्र सङ्घले सन् २०३० भित्र संसारबाट प्रसव फिस्टुला उन्मूलन गर्ने महत्वाकाङ्क्षी लक्ष्य लिएको छ । तर, अहिले पनि प्रसव फिस्टुलाका पीडितको सङ्ख्या बढ्दो क्रममा रहेकाले लक्ष्य पूरा गर्न चुनौती छ ।
बच्चा जन्माउने क्रममा लामो समय प्रसव व्यथा लाग्दा, दक्ष स्वास्थ्यकर्मी विना घरमै प्रसूति गराउँदा वा सानो उमेरमै बच्चा जन्माउँदा बच्चाको अङ्गले आमाको पिसाब नलीमा प्वाल पारिदिने बढी सम्भावना हुन्छ । कहिलेकाहीँ स्वास्थ्यकर्मीको लापरबाहीले पनि अप्रेसनका क्रममा प्वाल पर्न सक्छ । यस्तो अवस्थामा पिसाब रोक्न सकिँदैन र निरन्तर बगिरहने समस्या हुन्छ । त्यसैलाई प्रसव फिस्टुला (अब्स्ट्रेटिक फिस्टुला) भनिन्छ ।
विकसित देशहरूमा एक शताब्दिअघि नै निर्मूल भएको प्रसव फिस्टुला दक्षिण एसियाली मुलुक, अरबी मुलुक र अफ्रिकामा अहिले पनि ठूलो समस्याका रूपमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपिए) का अनुसार विश्वमा २० लाख महिला यो समस्याबाट पीडित छन् भने हरेक वर्ष ५० हजारदेखि १ लाख पीडित थपिइरहेका छन् तर, विश्वव्यापी उपचार क्षमता ६५ हजार मात्र छ । नेपालमा सरकारी निकायसँग फिस्टुलासम्बन्धी एकिन तथ्याङ्क छैन । फिस्टुला फ्रि नेपालका अनुसार नेपालमा करिब ५० हजार पीडित रहेको अनुमान छ भने हरेक वर्ष ५ सयदेखि १ हजारसम्म नयाँ फिस्टुला प्रभावितको सङ्ख्या बढिरहेको छ । त्यसमध्ये बढीमा १ सय जनाको मात्र उपचार हुने गरेको छ । अहिले पनि करिब ५ हजार पीडितहरू उपचारको पर्खाइमा छन् ।
प्रसव फिस्टुलाबारे आम नागरिकमा मात्र होइन, स्वास्थ्यकर्मीमा पनि कमै मात्र जानकारी रहेको पाइन्छ । समस्या लिएर स्वास्थ्य केन्द्र पुगेका बिरामीको पहिचान हुन नसक्दा पनि उपचार हुन सकेको छैन । प्रसव फिस्टुलाबारे जनचेतना र उपचारका लागि नेपाल, भारत, बङ्गलादेश, पाकिस्तानलगायत दक्षिण एसियामा नेटवर्क बनाएर काम गरिरहेका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा.मोहनचन्द्र रेग्मी मातृ मुत्युदर उच्च भएका ठाउँमा फिस्टुलाको समस्या पनि बढी हुने बताउँछन् । उनी भन्छन्, ‘अहिले पनि नेपालमा ६० प्रतिशतले मात्र स्वास्थ्य संस्थामा बच्चा जन्माउँछन्, ४० प्रतिशतले घरमै जन्माउँछन् । त्यसैले फिस्टुलाको जोखिम धेरै छ ।’
जनचेतनाको अभावमा फिस्टुलाको उपचार गराउनुभन्दा लाजले लुकाउनेहरू पनि धेरै भेटिन्छन् । २०–२५ वर्षसम्म समस्या भोगेपछि उपचारका लागि स्वास्थ्य संस्था पुग्नेहरू पनि छन् ।
नेपालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले राष्ट्रिय फिस्टुला केन्द्र घोषणा गरेको छ । बीपीसँगै पाटन अस्पतालमा फिस्टुला पीडितको निःशुल्क उपचारको व्यवस्था छ । यसको अप्रेसन गरेपछि २१ दिन अस्पताल बस्नुपर्छ । अप्रेसन गर्न मात्र करिब ५० हजार खर्च हुन्छ । तर, दाताहरूको सहयोगमा बिरामीले निःशुल्क उपचार पाउँदै आएका छन् । यद्यपि चेतनाको अभावमा अहिले पनि अस्पताल पुग्नेको सङ्ख्या न्यून नै छ । समयमै उपचार नपाउँदा पीडितहरूले परिवार र समाजबाट भेदभाव र लाञ्छना भोग्नुपरेको छ ।
सरकारले अहिले फिस्टुला, आङ खस्ने समस्या, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरलाई प्रजनन् स्वास्थ्य समस्या भनेर वर्गीकरण गरेको छ । तर, स्वास्थ्यकर्मीहरूले नै पहिचान गर्न नसक्दा पीडितले उपचार पाउन नसकेको प्रा.डा.रेग्मी बताउँछन् । उनी भन्छन्, ‘सामाजिक चेतनाको अभाव, स्वास्थ्यकर्मीको चेतना अभाव र जथाभावी अप्रेसन गर्दा हुने खतराले फिस्टुला बढिरहेको छ । यसका लागि नियमनकारी निकायले ध्यान दिनुपर्छ ।’
कोशी प्रदेशमा तालिम निर्देशिका बन्दै
प्रसव फिस्टुला पहिचानका लागि स्वास्थ्यकर्मीलाई लक्षित गरेर देशमै पहिलो पटक कोशी प्रदेशमा फिस्टुला तालिम निर्देशिका तयार भएको छ ।
प्रसूति रोग विशेषज्ञ प्रा.डा.मोहनचन्द्र रेग्मीको नेतृत्वमा पाँच दिने तालिम निर्देशिका तयार भएको हो । तालिम निर्देशिका तयार गर्ने क्रममा एक वर्षदेखि प्रा.डा.रेग्मी नेतृत्वको टोलीले धनकुटाका ५६, झापाका ३६ र सङ्खुवासभाका २४ जना स्वास्थ्यकर्मीलाई तालिम दिएको थियो । हरेक पालिकाका स्वास्थ्यकर्मी समेटिएको तालिमपछि निर्देशिका तयार भएको छ । निर्देशिका तयार भएर परीक्षण भइरहेको र अबको दश दिनमा पूर्ण हुने प्रा.डा.रेग्मीले बताए । उनी भन्छन्, ‘यो निर्देशिका तयार भएपछि अन्य प्रदेशमा पनि यही अनुसार स्वास्थ्यकर्मीलाई तालिम दिइन्छ, त्यसपछि पालिकास्तरमै फिस्टुला पहिचान गर्न सहज हुनेछ ।’
परिवार कल्याण महाशाखाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोगमा कोशी प्रदेश तालिम केन्द्रमार्फत् तालिम निर्देशिका तयार गर्न निर्देशन दिएको थियो ।