याक्थुङ संस्कार संस्कृतिमा आधारित चलचित्रले पछिल्लो समय नेपाली सिने जगतमा प्रभाव छाड्दै गइरहेका सन्दर्भमा पूर्वको पर्यटकीय स्थल भेडेटारमा ४ दिने कार्यशाला सुरु भएको छ ।
कार्यशालामा कथा निर्देशन, र छायाङ्कनबारे सहभागीलाई प्रशिक्षण दिइनेछ । कथा निर्देशनतर्फ वरिष्ठ निर्देशक नवीन सुब्बाले सहजीकरण गर्ने छन् भने छायाङ्कनतर्फ देव पुनले प्रशिक्षण दिने छन् ।
याक्थुङ युवाहरु लक्षित कार्यशालामा प्रदेशका २५ बढी युवाहरु सहभागी हुने आयोजक याक्थुङ मुनचईत चोक सयङ १ नम्बर प्रदेश समितिका अध्यक्ष भूपेन्द्र तुम्बाहाम्फेले जानकारी दिए ।
चलचित्र विकास बोर्ड, आदिवासी जनजाति मातृभाषा चलचित्र प्रवर्धन समितिको सहयोग र पूर्बेली भिजन फिल्मस प्रालिको प्राविधिक सहयोगमा याक्थुङ मुनचईत चोक सयङ १ नम्बर प्रदेश समितिको आयोजनामा कार्यशाला सुरु भएको हो ।
औपचारिक कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि मिस नेपाल हङकङका अध्यक्ष तथा चलचित्र वितरक लोकराज आङबुहाङले कार्यशाला सफलताको शुभकामना दिए ।
कार्यशालामा विशिष्ट अतिथि वरिष्ठ निर्देशक नवीन सुब्बा, निर्देशक समाजका सदस्य तथा पत्रकार महासङ्घका केन्द्रीय सदस्य भीषण राई, आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ का महासचिव सुमन तामाङ, याक्थुङ चलचित्रकर्मी सङ्घ १ प्रदेश १ उपाध्यक्ष प्रकाश सुब्बा, सङ्घीय लेखक सङ्घका केन्द्रीय महासचिव तथा याक्थुङ लेखक सङ्घका केन्द्रीय कोषाध्यक्ष सङ्गेन पन्धाक, लेखक सङ्घ कोरियाका महासचिव बालिन्द्र याक्थुङलगायतले कार्यशाला सफलताको शुभकामना दिएका थिए ।
आज मंगलबारदेखि भेडेटार भिलेज रिसोर्टमा सुरु भएको कार्यशाला आगामी १२ गतेसम्म हुनेछ ।