भद्रपुर। झापा भद्रपुर ९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयमा उत्पन्न विवाद अझै समाधान भएको छैन । विद्यालय व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेका कारण समस्या नटुङ्गिएको हो ।
विवाद वढदै गएपछि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको पनि चासो बढेर गएको पाइएको छ । विद्यालय व्यवस्थापन समितिले नियमभन्दा बाहिर गएर काम गरिरहेकाले समस्या उत्पन्न भइरहेको प्रजिअ पोखरेलले बताए । उत्पन्न विवादलाइ केही दिनभित्र प्रजिअसहितको नगरपालिकमा वैठकवसी समस्या समाधान गरिने उनले बताए ।
यता भद्रपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेक कुमार रेग्मीले विना शर्त शिक्षकलाइ हाजिर गराउँनु पर्ने बताए । सम्बन्धीत वडाअध्यक्षको रोहवरमा हाजिर गराउने विषयमा निर्णय भइसकेको जनाए । विवादको मिलन विन्दुमा पुगिसकिएको वडा नम्बर ९ का अध्यक्ष रामबहादुर दहालले बताए । मेयर,व्यवस्थापन समिति वसेर केही दिन भित्रमा नै टुङ्गो लगाइने उनले जानकारी दिए ।
व्यवस्थापन समितिले मावि तहका शिक्षक श्रीजना प्रसाई, कमला राई, सहित शिक्षकहरु सुमित्रा पौडेल, डिल्लीराम अधिकारी र सर्मिला अधिकारीलाई विद्यालयमा वैशाख ५ गतेबाट हाजिर हुन दिएको छैन ।
विद्यालयले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई समेत उल्लङ्घन गर्दै आइरहेको छ । व्यवस्थापन समितिका अध्यक्ष परमानन्द मिश्रले नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाईको निर्देशनलाई उल्लघङ्न गर्दै शिक्षकलाई हाजिर हुन दिएका छैनन ।
भद्रपुर नगरपालिका कार्यालयमा वैशाख १२ गते भएको सहमति अनुसार शिक्षकलाई हाजिर हुन नदिएको विद्यालयले शिक्षा विकास तथा समन्वय इकाई कार्यालय झापाले वैशाख २० गते पत्र नै लेखेर शिक्षकलाई हाजिर गराउन भने पनि व्यवस्थापन समितिका अध्यक्ष मिश्रको ठाडो निर्देशनमा विद्यालयका पाँच जना शिक्षकलाई हाजिर गराइएको छैन ।
वर्तमान कानूनले कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण अधिकार स्थानीय तहलाई दिइएको छ र अभिलेखिकरण सहित प्रशासनिक काम शिक्षा समन्वय ईकाईले गर्छ तर यी दुवै निकायको निर्देशन मान्दिन भन्दै व्यवस्थापन समितिका अध्यक्ष मिश्रले बताउँदै आएको पाइएको छ ।