देवत्वकरण र राक्षसीकरण दुवै आलोचनात्मक दृष्टिकोण विपरीत गलत प्रवृत्तिहरू हुन् । राम्रैराम्रो मात्र देखेर प्रशंसा र गुणगान मात्रै गाइरहनु देवत्वकरण गर्नु हो । खराबैखराब मात्र देखेर निषेध र गाली गरिरहनु राक्षसीकरण गर्नु हो । यी दुवै अतिवादी प्रवृत्तिहरूले समाजलाई सही दिशानिर्देश गर्न सक्दैन । कुनै पनि व्यक्ति, संस्था र वस्तुको विकास, रूपान्तरण र सफलता यी दुवै प्रवृत्तिहरूको सन्तुलित र वस्तुवादी उपयोगमा निर्भर हुन्छ । सार्वभौमतः व्यक्ति वा संस्थाको सकारात्मक र नकारात्मक दुवै आयामहरू हुन्छन् । कुन आयाम हावी छ भन्ने पक्षले व्यक्ति वा वस्तुको खास चरित्र निर्धारण हुन्छ । यद्यपि राम्रो र नराम्रो छुट्याउने ठ्याक्कै गणितीय सूत्र भने हुँदैन । अर्थात् कसैको राम्रो पक्ष ५१ प्रतिशत छ र नराम्रो पक्ष ४९ प्रतिशत छ भने उसलाई औसत राम्रो मान्नुपर्ने हुन्छ । यदि कुनै व्यक्तिमा राम्रो पक्ष ४९ प्रतिशत छ र नराम्रो पक्ष ५१ प्रतिशत छ भने उसलाई औसत नराम्रो मान्नु पर्ने हुन्छ । शतप्रतिशत नै सही र गलत भन्ने कुनै भौतिक वस्तु मानव समाजमा पाइँदैन । यो राम्रो र नराम्रोको साश्वत् द्वन्द्वात्मकता हो ।

वस्तुतः कुनै पनि व्यक्ति वा सत्ताप्रति आलोचनात्मक दृष्टिकोण राख्नु सही हुन्छ । किनभने आलोचनात्मक दृष्टिकोणले उक्त व्यक्ति वा वस्तुको सकारात्मक र नकारात्मक पक्षहरूलाई मिहीन ढङ्गले केलाउने काम गर्दछ । यो प्रक्रियामा सकारात्मक पक्षलाई निरन्तरता दिने र नकारात्मक पक्षलाई तुरुन्तै सच्याएर अघि बढ्न सुझाव दिइन्छ । यसले उसको गुणात्मक र गतिशील विकास सुनिश्चित गर्दछ । गल्ती सुधार्दै रूपान्तरणको तत्परता पैदा गर्दछ । सकारात्मक तत्परता भनेको उत्पादनमूलक, परिणाममुखी र गतिशील हुन्छ । यस्तो गतिशीलताले नै कुनै पनि व्यक्ति वा सत्तालाई विकासको सही गन्तव्यमा पु¥याउँदछ । यसकारण आलोचनात्मक दृष्टिकोण राख्नु भनेको उसलाई रूपान्तरण गर्नु हो । अझ परिपक्व र इमान्दार बनाउनु हो । अझ जुझारु र क्षमतावान बनाउनु हो । अप्ठ्यारो परिस्थितिसँग खेल्न सिकाउनु हो । अझ संवेदनशील, विवेकशील, जिम्मेवार र गम्भीर बनाउनु हो । सुशिक्षित, सुविचारयुक्त, सुयोग्य र लगनशील बनाउनु हो । आलोचनात्मक दृष्टिकोण भनेको निरपेक्ष विरोध र निषेध होइन । कसैले त्यसो गर्छ भने त्यो सरासर आलोचनाको अपव्याख्या हुन्छ । आलोचनात्मक दृष्टिकोण राख्नु भनेको सच्याएर अझ उन्नत र विवेकशील बनाउनको लागि हो । निषेधको लागि होइन ।

तर, यो वा त्यो स्वार्थ र नियत राखेर राम्रैराम्रो र नराम्रैनराम्रो मात्र देख्ने दृष्टिदोष राख्यौं भने दुवै पक्षलाई घाटा हुन्छ । आत्मकेन्द्रित व्यक्तिवाद हावी भएको समाजमा आफूले आप्mनै कमजोरी देख्न असाध्यै कठिन हुन्छ । गल्ती भए पनि लुकाउने वा ढाकछोप गर्ने गरिन्छ । म सबै ठीक छु । मैले केही गल्ती गरेको छैन । म अरूजस्तो होइन । यो समाजमा म सही, म ठीक, म इमान्दार, म विवेकशील, म चोखो र पवित्र भन्ने स्वघोषित मूल्याङ्कन आवश्यकताभन्दा बढी नै हुने गर्दछ । यस्तो वस्तुगत सामाजिक धरातलमा अरूले गल्ती र कमी कमजोरी नदेखाइदिने हो भने मान्छे मारिसक्दा पनि उसले गल्ती महसुस गर्दैन । त्यसैले हामीले कसैलाई देवत्वकरण र राक्षसीकरण गर्नु भनेको व्यक्ति वा वस्तुलाई बिगार्नु वा असफल बनाउनु हो । अति देवत्वकरण र राक्षसीकरणले व्यक्ति वा वस्तुको गुणात्मक विकास होइन । उल्टै यसले पतन निश्चित गराइदिन्छ । अन्ततः गलत बानीले आफैलाई सिध्याउँछ । यो सार्वभौम सच्चाइलाई नजरअन्दाज गर्नुहुँदैन ।

वस्तुतः आलोचनात्मक दृष्टिकोण भनेको व्यक्ति, समूह, समुदाय र सत्तालाई अझ उन्नत, परिपक्व, जिम्मेवार र इमान्दार बनाउने प्रक्रिया हो रूपान्तरण । आलोचनात्मक दृष्टिकोणको विकास पनि प्रगतिशील आन्दोलनकै सिलसिलामा हुने गर्दछ । कोठामा बसेर आलोचनात्मक बन्नु भनेको सिद्धान्तलाई घोक्ने र आदर्शलाई मान्ने मात्रै हो । अर्थात् यो आन्दोलनकै प्रक्रियामा अभ्यास गरिन्छ । त्यसमा पनि कम्युनिष्ट पार्टी र यसका नेता कार्यकर्ता र जनताको लागि आलोचनात्मक दृष्टिकोण अझ बढी जरुरी हुन्छ । किनभने कम्युनिष्ट आन्दोलन भनेको कष्टसाध्य र बलिदानीपूर्ण आन्दोलन हो, जसको गन्तव्य सहज वा समथर बाटोबाट मात्र तय गर्न सकिन्न । यसरी अप्ठ्यारो बाटोमा पनि गन्तव्यलाई केन्द्रमा राखेर यात्रा तय गर्नु हदैसम्मको रूपान्तरण जरुरी हुन्छ । सबैभन्दा बढी रूपान्तरण कम्युनिष्टहरूले नै हुनुपर्नेछ । यस अर्थमा आलोचनात्मक दृष्टिकोणमार्पmत् रूपान्तरणको विधि पनि हामी कम्युनिष्टहरूले अनुसरण गर्नुपर्दछ । यस अर्थमा वास्तविक कम्युनिष्टहरूमा अरूभन्दा बढी आलोचनात्मक चेत हुनु जरुरी छ । तब मात्र रूपान्तरणको ऐतिहासिक प्रक्रिया सम्भव हुन्छ । अन्यथा उनीहरू कम्युनिष्टको आवरणमा गैरकम्युनिष्ट भन्दा खराब हुन्छन् । कार्यशैली र जीवनशैलीलाई रूपान्तरण गर्ने आन्दोलन नै आलोचनात्मक दृष्टिकोणसहितको आलोचना हो । तर, यस्तो आलोचना निषेधमुखी नभएर स्वस्थ्य, सिर्जनशील र रूपान्तरणमुखी हुनुपर्दछ ।

पछिल्लो विश्व अर्थराजनीतिलाई नवउदारवादी पुँजीवादले नेतृत्व गरिरहेको छ । यसमा त्यस्तो कष्टसाध्य राजनैतिक प्रक्रिया जरुरी हुँदैन । जीवन(मरणको आन्दोलन पनि हुँदैन । अप्ठ्यारो गन्तव्य पनि तय गर्नु पर्दैन । यसमा औसत चुनावदेखि चुनावसम्म, राजनीतिदेखि राजनीतिसम्म, आन्दोलनदेखि आन्दोलनसम्म, बैठकदेखि बैठकसम्म अनि निर्णयदेखि निर्णयसम्मको दुश्चक्र पुनरावृत्ति भइरहन्छ । यस्तो औसत राजनीति वा जिम्मेवारी पूरा गर्न प्रक्रियागत रूपान्तरण आवश्यक हुँदैन । त्यहाँ सामान्य उठबस काफी हुन्छ । रूपान्तरण जरुरी नभएपछि आलोचनात्मक दृष्टिकोणको पनि औचित्य रहँदैन । तब सिङ्गो अर्थराजनीतिक संस्कृतिमा आलोचनात्मक दृष्टिकोणको कुनै गुञ्जायस हुँदैन । यो बेकार यान्त्रिक वा जडवस्तुजस्तो हुनपुग्दछ । यस्तो औसत अर्थराजनीति हाबी भएको समाजमा आलोचनात्मक दृष्टिकोणलाई निरपेक्ष आलोचना भनेर गलत व्याख्या गरिन्छ । निषेध ग¥यो भन्ने अर्थ लाग्दछ । किनभने कष्टसाध्य निश्चित गन्तव्य विनाको औसत राजनीतिमा आलोचनाको उच्चारण गर्नेबित्तिकै उसले आलोचना गर्नेलाई कालो दाग दलिसकेको हुन्छ । आलोचकमाथि जिन्दगीभर पूर्वाग्रह राखिसकेको हुन्छ । उदाहरणको लागि आदरणीय कमरेडले यसलाई अलि सुधार्नुभयो भने तपाईं हामी सबैलाई फाइदा हुन्छ भन्यौं भने सात पुस्ताको शत्रु भइन्छ । आलोचना सुन्ने संस्कृति नै छैन । 

नेपाली समाजमा पनि नवउदारवादी अर्थराजनीति हावी छ । यस्तो समाजमा रूपान्तरणलाई आन्दोलनको रूपमा ग्रहण गरिँदैन । कसैले रूपान्तरण भनेपनि त्यो केवल निहीत स्वार्र्थगत रणनैतिक स्वार्थबाट मात्र आएको हुन्छ । रूपान्तरण संस्थागत नभएको समाजमा आलोचनात्मक संस्कृति पनि संस्थागत हुँदैन । अर्थात् रूपान्तरणको कुनै जरुरत नै पर्दैन । तब आलोचनात्मक दृष्टिकोण कामयावी हुँदैन । हाम्रो समाज ठीक यहीँनेर रहेको छ । यहाँ कसैको कमजोरी देखाइदिनुभयो भने ऊ सरासर रिसाउनेवाला छ । त्यही विन्दुबाट उसले आग्रह र विभेद सुरु गर्नेछ । कर्के नजर आरम्भ हुनेछ । अर्कोतिर रूपान्तरणको लागि आलोचना गर्ने संस्कृति स्थापित नभएको समाजमा आलोचनाहरू पनि रूपान्तरणको लागि नभएर निषेधको लागि गरिन्छ । सिर्जनशील र स्वस्थ आलोचना हुँदैन । यसकारण आलोचना गर्ने र गरिमाग्ने दुवैतिर आलोचनाप्रतिको व्याख्या र बुझाइमा समस्या देखिन्छ । तब प्रथमतः आलोचना गर्नुभन्दा देवत्वकरण गर्दा नै फाइदा हुन्छ भन्ने भाष्य विकास भइरहेको छ । कसैले गरिहाले पनि त्यो सरासर निषेधजन्य आलोचना हुन्छ । रूपान्तरणमुखी वा सिर्जनशील आलोचना र निषेधजन्य आलोचना एउटै होइन । निषेधजन्य आलोचना भनेको आग्रह पुर्वाग्रहमा विरोधी पार्टी, गुट, समूह वा व्यक्तिहरूमाथि राखिन्छ । यता आलोचनात्मक आलोचना भनेको आन्दोलनको उचाइसँगै विकास भएको वस्तुगत धरातलमा उभिन सक्ने सक्षम र कुशल व्यक्ति वा वस्तु निर्माणको प्रक्रिया हो । यसकारण दुवैलाई एउटै फुर्लुङमा कोचेर विश्लेषण गर्नु हुँदैन ।

वस्तुतः निश्चित विचार, उद्देश्य र गन्तव्यविहीन औसत राजनीतिद्वारा निर्देशित समाजमा आलोचनात्मक संस्कृति हुँदैन । त्यहाँ राजनीतिलाई आन्दोलनको उन्नत प्रक्रियागत साधन भनेर परिभाषित गरिँदैन । सिङ्गो राजनीति दिशाविहीन हुन्छ । दिशाविहीन राजनीति हावी हुनु भनेको रूपान्तरणलाई आत्मसात नगर्नु हो । रूपान्तरणलाई आत्मसात नगर्नु भनेको निरन्तर आन्दोलनको प्रक्रिया नहुनु हो । आन्दोलनको प्रक्रिया नहुनु भनेको गुणात्मक परिवर्तन नचाहनु हो । गुणात्मक परिवर्तन नचाहनु भनेको यथास्थितिलाई कायम  राख्नु हो । यथास्थितिलाई कायम राख्नु भनेको हाल अभ्यासमा रहेको विकृति र विसङ्गतिहरूलाई स्वीकार गर्नु हो । विकृति र विसङ्गतिलाई स्वीकार गर्नु भनेको समस्याहरूको समाधानको दिशातिर नजानु हो । समाधानतिर नजानु भनेको मुलुकलाई अनिर्णय र अस्थिरताको दुश्चक्रमा फसाउनु हो, जसले जताबाट नापे–तौले पनि हाम्रो हित गर्ने छैन ।

वस्तुतः आलोचनात्मक दृष्टिकोण भनेको रूपान्तरणको लागि हो । निषेध र देवत्वकरणको लागि होइन । तर, औसत राजनीतिमा आलोचनाको संस्कृति हुँदैन । त्यहाँ त अति देवत्वकरण र राक्षसीकरणकै तरिकाबाट स्वार्थसिद्धि चलिराखेको हुन्छ । तब आलोचना गरिमाग्नेले पनि आलोचना पटक्कै सहँदैन । आलोचना गर्नेले पनि रूपान्तरणको लागि रचनात्मक आलोचना गर्दैन । दिशाविहीन र गोलचक्करमा रुमल्लिएको राजनीतिमा रूपान्तरणमुखी आलोचना र आत्मालोचनाको अभ्यास हुँदैन । कसैले स्वाङ गर्छ भने पनि त्यो सस्तो खपत वा मिडिया स्टण्टबाजीको लागि मात्रै हुन्छ । आलोचनाहरू पनि केवल पूर्वाग्रही र  निषेधमुखी मात्र हुन्छ । अर्थात् आलोचनात्मक दृष्टिकोणको संस्कृति नहुनु भनेको गुणात्मक परिणाममुखी वा अग्रगामी राजनीतिक संस्कार नहुनुकै उपज हो । त्यसैले नेताहरूले जे बोले पनि कार्यकर्ताहरूले ताली बजाएर स्वीकार्नै पर्ने, नेताले पनि आलोचनाभन्दा ताली नै खोज्ने, आलोचना र समर्थन गर्नेहरूले पनि रूपान्तरण गर्ने सकारात्मक सोच राखेर स्वस्थ आलोचना गर्दैनन् । उनीहरू स्वार्थ मिल्नेलाई देवत्वकरण र नमिल्नेलाई राक्षसीकरण गर्दछन् । तसर्थ स्वस्थ आलोचना र आत्मालोचनाको पद्दति बसालौं । अन्धभक्ति र अन्धविरोधको पछि नलागौं । रचनात्मक र सिर्जनशील आलोचना मात्र गरौं । तब मात्र हाम्रो समाज उन्नत र विवेकशील हुनेछ ।