किरात राई सांस्कृतिक कलाकार सङ्घले कोशी प्रदेश नामाकरणविरुद्ध सांस्कृतिक विद्रोह गर्ने उद्घोष गरेको छ ।
धरानमा आगामी जेठ १३, १४ र १५ गते धरानमा छैठौं राष्ट्रिय सम्मेलनका आयोजनाका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार सङ्घले सांस्कृतिक विद्रोह गर्ने तयारी गरेको जानकारी दिएको छ ।
सास्कृतिक कलाकार सङ्घको छैठौं सम्मेलनका अवसरमा सङ्घले पहिचानसहितको किरात प्रदेश नामाकरणका लागि दाबावमूलक कार्यक्रम आयोजना गर्ने छ ।
'किरात इतिहास, संस्कृति र प्राचीन सभ्यताको सम्मान किरात पहिचानसहित १ नम्बर प्रदेशको नामाङ्कन' नाराका साथ सम्मेलन सुरु हुनेछ । सम्मेलनले पहिचान र जागरणको बहस सिर्जना गर्ने सम्मेलन सयोजक रामकर राईले बताए । सम्मेलनले 'सांस्कृतिक जागरणसहितका मन्तव्य, संस्कृतिकर्मीद्वारा सांस्कृतिक साङ्गीतिक प्रस्तुति, सांस्कृतिक साङ्केतिक विद्रोहलगायतका विषयमा बहस गर्ने छ ।
'कोसी प्रदेश खारेजीको माग गर्दै हजारौंको सङ्ख्यामा कफन बाँधेर प्लेकार्डसहित धरान बजार परिक्रमा गर्दै झाँकीसहित र्यालीसहित पहिचानसहितको किरात प्रदेश नामाकरणका लागि दवाव दिइनेछ' सङ्घका उपाध्यक्ष शालिक सतासकले भने ।
उपाध्यक्ष सतासकका अनुसार भाषा, साहित्य, सङ्गीत सम्बन्धी विभिन्न विज्ञबाट कार्यपत्र प्रस्तुत गरी बहस गरिनेछ ।
कार्यक्रमअनुसार जेष्ठ ११ गते साङ्गीतिक सूचना सभा कार्यक्रमअन्तर्गत इटहरीका विभिन्न १० वटा चौकहरूमा आयोजना गरिने छ भने जेष्ठ १२ गते धरानका विभिन्न १४ वटा चौकहरूमा आयोजना गरिने छ ।
जेष्ठ १३ गते उद्घाटन सत्र धरानको भानुचौकमा बृहत् जनसहभागितामा हुनेछ ।
जेष्ठ १४ गते सम्मेलनको बन्द सत्र धरान १० स्थित यलम्वर स्मृति सङ्ग्रहालयमा हुनेछ । बन्दसत्रमा ५ वटा कार्यपत्र प्रस्तुत हुनेछन । जेष्ठ १५ गते बन्द सत्रअन्तर्गत जिल्ला कार्यसमितिका प्रतिवेदन प्रस्तुत, छलफल, अनुमोदन हुनेछ भने धरान घोषणापत्र जारी गरिनेछ ।
किरात राई सांस्कृतिक कलाकार संघ किरात राई समुदायको भाषा, संस्कार, संस्कृति, मुन्दुम गीत सङ्गीत, कला साहित्य जस्ता सांस्कृतिक कुराहरूलाई संरक्षण, सम्बर्द्धन र प्रवर्धन गर्न गठित एक सामाजिक साँस्कृतिक संस्थाका रुपमा स्थापित छ । 'मानव सभ्यताको प्रतीक हो, कला र संस्कृति' भन्ने मूल नाराका साथ वि.स. २०६३ सालमा सस्था स्थापना गरिएको थियो ।
सङ्घले किराती गीत, सङ्गीत, कलासाहित्य, संस्कार, संस्कृति, मुन्धुम जस्ता किरातीपनमा आस्था र विश्वास गर्ने देश विदेशमा रहेका सम्पूर्ण साँस्कृतिक राई कलाकर्मीहरूलाई यस संघमा गोलवद्ध गर्दै यी क्षेत्रहरूको विकास गरी समग्र समाज, राष्ट्र, समुदाय र देशलाई महत्त्पूर्ण योगदान पुयाउदै आएको अध्यक्ष रामकर राईले जानकारी दिए ।