वराहक्षेत्र १ स्थित कुम्भस्थल तटमा रहेको सप्तकोशी नदीको भंगालोमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
मंगलबार वराहक्षेत्र नगर प्रमुख रमेश कार्कीले पुलको शिलान्यास गरेका छन् ।
संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको पहलमा १ करोड ६९ लाख रुपैंया बजेटमा दुर्वासाघाट महिला सामुदायिक वनमा पर्ने टापु जोड्ने पुल निर्माण हुन लागेको हो ।
पुल निर्माण भएपछि स्थानीयलाई सप्तकोशीको मूल नदीसम्म पुग्न सहज हुने छ । झोलुङ्गे पुलले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने नगर प्रमुख कार्कीले बताए ।
स्थानीय प्रकाश राईको अध्यक्षतामा ७ सदस्य पुल निर्माण उपभोक्ता समिति गठन गरिएको छ । पुल निर्माणका लागि पहिलो किस्ता १७ लाख रुपैंया प्राप्त भएको अध्यक्ष राईले जानकारी दिए ।