लायन्स क्लबले कोशी प्रदेश का १० जिल्ला समेटिएको (डिस्ट्रिक ३२५ सीको) महाधिवेशन  गर्ने  भएको छ । 

नेपालमा लायन्स स्थापनाको ५२ वर्षको इतिहास र धरानको ३८ वर्षे इतिहासमा पहिलो डिस्ट्रिक महाधिवेशन धरानमा हुन लागेको हो । 

धरानमा पहिलो पटक हुन लागेको महाधिवेशन आगामी जेठ १२ गते धरानस्थित याक्थुङ चुम्लुङ भवनमा हुने तय भएको छ । 

बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै लायन्स क्लबले महाधिवेशनबारे जानकारी दिएको छ । डिस्ट्रिक्टमा आबद्ध १ सय ६० वटा क्लबहरुमा ४ हजार सदस्य रहेको डिस्ट्रिक गर्भनर लायन धिरज गुरुङले जानकारी दिए । महाधिवेशनमा ७ सय प्रतिनिधि सहभागी हुने आयोजकको भनाइ छ । 

मार्चपिस र्याली

महाधिवेशनको अवसरमा लायन्स क्लबले मार्च पिस र्याली समेत आयोजना गर्ने भएको छ । 

चुम्लुङ भवनदेखि सुरु हुने मार्चपिस र्याली गोविन्द रोड– बुद्धमार्ग– भानुचोक– छाताचोक– सिंहदेवी चोक– माछा भौडी– भानुचोक– बुद्धमार्ग– पानमारा बसस्टेण्ड हुँदै पुनः चुम्लुङ भवन आइपुग्ने छ । 

महाधिवेशनमा लायन्स क्लबको युवा संगठन ‘लियो’ को समेत अधिवेशन सम्पन्न हुने डिस्ट्रिक गर्भनर गुरुङले जानकारी दिए । 

एल.सि.आई.एफ.बाट प्राप्त  करिब १ करोड ७० लाख रुपैयाँमा लायन्स सत्य साई स्कुल धरान १३ मा भवन निर्माण सम्पन्न हुने चरणमा रहेको गभर्नर गुरुङले पत्रकार सम्मेलनमा बताए । लायन्स क्लबहरुमार्फत बहिरा, दृष्टिविहिन, सुस्तश्रवणका लागि प्राविधिक उपकरण, सेतो छडी वितरण गरिएको गुरुङको भनाइ छ । आर्थिक अवस्था कमजोर रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अभ्यास पुस्तिकासमेत वितरण गरिएको गभर्नर गुरुङले बताए ।

महाधिवेशनको प्रमुख आतिथ्यता पास्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले गर्नेछन् । अतिथिलाई धरान र भेडेटारको पर्यटकीयस्थल प्याकेजमा भ्रमण गराउने आयोजकको योजना छ ।