मानो रोपेर मुरी फलाउने किसानहरूलाई यतिबेला धानको बिउ राख्ने चटारो छ । किसानहरूले उपचार गरेर बिउ नराख्दा परिश्रम मात्र खेर जाने गरेको छ ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठका अनुसार अझै पनि कतिपय किसानहरूले बिउ राख्ने तरिका नजान्दा र बिउ छिप्याएर  रोप्दा उत्पादनमा कमी आउने गरेको छ । किसानले गरेअनुसारको मेहनतको उपलब्धि नहँुदा किसानहरू निराश बन्नुपर्ने अवस्था छ ।

बिउ राख्दा बिउको छनोट गरेर हावापानी र माटो सुहाउँदो रोपेमात्र राम्रो उत्पादन लिन सकिन्छ । पछिल्लो समय धानका विभिन्न उन्नत जातहरूसमेत आएका छन् तर, बिउ राख्ने तरिका भने एउटै छ ।

सूचना अधिकृत श्रेष्ठ भन्छन्, ‘बिउको राम्रो उपचार गरेर राखिएको बिउले मात्र राम्रो फसल दिने हुँदा बिउ राख्दा नै विभिन्न कुरामा किसानले ख्याल गर्नै पर्छ । तराईमा जेठ पहिलो सातादेखि नै धानको बिउ राख्न सुरु गरिन्छ र बिउ राखेको १५ देखि २२ दिनको बिउ भएपछि रोप्नुपर्छ ।’

धानको असल बिउ छनौट र बिउ उपचार प्रविधि
बिउ एक जीवित वनस्पति हो, जसलाई उचित तापक्रम, हावापानी, प्रकाश आदि उपलब्ध गराइएमा एक बिरुवाको रूपमा परिणत हुन्छ । खेती गरेर राम्रो उत्पादन लिनका लागि असल बिउ हुनुपर्ने वराहक्षेत्र नगरपालिकाका कृषि प्राविधिक निरबहादुर राई बताउँछन्  ।

बिउको वंशाणुगत गुण, बिउको जातीय गुण नाश नभएको र विकृति नआएको बिउको भौतिक गुण, राम्ररी केलाई सफा गरिएको, फुटेको, टुटेको र टुक्रा भएको बिउ नमिसिएको, स–साना ढुङ्गा, माटो, पात, डाँठ आदि टुक्रा नमिसिएको, झारपात र अन्य बालीको बिउ नमिसिएको, हुनुपर्छ ।

बिउको स्वास्थ्यसम्बन्धी गुण
किसानले धानको बिउ छनोट गर्दा रोग र किराले नोक्सान नपुर्याएको, विषादीद्वारा उपचार गरिएको, बिउको शारीरिक गुण, उमार प्रतिशत राम्रो भएको, उचित मात्रामा सुकेको, पोटिलो र चम्किलो दाना भएको हुनुपर्छ । बिउ लगाउँदा ठाउँअनुसार सिफारिस गरिएको जात लगाउनु पर्ने कृषि अनुसन्धान निर्देशनालय कोशी प्रदेश तरहराका बालीविज्ञान प्राविधिक अधिकृत विनोद यादव बताउँछन् ।

विषादीद्वारा बिउ उपचार
बिउबाट सर्ने ढुसीजन्य रोग नियन्त्रणका लागि बिउको उपचार गरिन्छ । ढुसीनाशक विषादी बेभिष्टिन धुलो वा  थिराम, क्याप्टम प्रतिकिलो दुई ग्राम सुख्खा बिउमा मिसाएर उपचार गर्न सकिने प्राविधिक निरबहादुर राई बताउँछन् । बिउ छर्नुभन्दा १ हप्ता पहिले बिउको उपचार गर्नु पर्दछ ।

नुन पानीको घोलमा शुद्ध बिउ छनोट गर्नु पर्दछ । एक लिटर पानीमा १ सय ५० ग्राम नुन लगाएर राम्ररी घोलिएको घोलमा धानको बिउ राख्दा पानीमा तैरिएका रोगी बिउ, अपरिपक्व, टुक्रिएकाजस्ता बिउहरू हटाउनुपर्छ र तुरुन्तै घोलबाट थिग्रिएका बिउहरू निकाल्नु पर्दछ । यसरी निकालिएको बिउलाई ३÷४ पटक चिसो पानीले धोएर सफा पानीमा २४ घण्टा ढड्याएर तै¥याउनु पर्छ । ढुसीजन्य रोग बढी लाग्ने क्षेत्रमा हिले ब्याड राख्नुपर्ने र ब्याक्टेरियाबाट बचाउन धुलो ब्याड राख्नुपर्ने प्राविधिक निरबहादुर राई बताउँछन् ।

बिउ अङ्कुरण
हिले ब्याडमा बेर्ना हुर्काउन बिउ अङ्कुरण गर्नु पर्दछ । अङ्कुर बिउबाट राम्रो बेर्ना उम्रिने गर्छ । बिउ सफा पानीमा २७ डिग्री सेन्टिग्रेड तापक्रममा २४ घण्टा भिजाउनु पर्छ । बिउ भिजिसकेपछि पानी तर्काएर एक ठाउँमा बिउ जम्मा गरी ४८ घण्टा गुम्स्याउनु पर्छ । यसरी बिउ अङ्कुर आउने गर्छ । 

ब्याडको विवरण
तराई क्षेत्रका लागि एक कठ्ठामा धानको बेर्ना तयार गर्न करिब ३४ केजी बिउको आवश्यकता पर्ने जसबाट १ बिघा खेत रोपाइँ गर्न सकिन्छ । पहाडीभेगको लागि एक रोपनी जग्गामा तयार गरेको बेर्नाले एक हेक्टर वा २० रोपनी क्षेत्रफल रोपाइँ गर्न ५० केजी धानको बिउ आवश्यकता पर्ने हुन्छ ।

ब्याडका लागि मलखाद
गाउँघरमा पाइने असुरो, तीतेपाती, खिर्रा, शिरिष आदि हरियो मल बनाएर प्रयोगमा ल्याउन सकिन्छ तर, किसानहरूले रासायनिक मलको प्रयोग जथाभावीरूपमा प्रयोग गर्दै आएका छन् ।

बिउ छरेको २ देखि १० दिनपछि ५ सय ग्राम (आधा किलो) युरिया १ सय वर्गमिटरको क्षेत्रफल ढाक्ने गरी छर्नुपर्छ । यसको प्रयोगले बिउलाई बढ्न र हरियो बनाउन मद्दत पुर्याउने प्राविधिकहरू बताउँछन् ।

ब्याडमा बिउ छर्ने तरिका
बिउ छर्दा समथर जग्गा र छराइको एकरूपता हुनुपर्ने प्राविधिक अधिकृत विनोद यादव बताउँछन् । उनी भन्छन्, ‘तराई क्षेत्रका जमिनहरू बढी गहिराइमा हुने हुँदा ब्याड बनाउँदा समथर, मिलेको र पानी नजम्ने र कटाउन सक्ने स्थानको छनोट गर्नुपर्ने हुन्छ । प्रतिवर्गमिटर २.३ मुठ्ठी अङ्कुराएका बिउहरू एकरूपताका साथ छर्नु पर्दछ । बेर्नाहरू बढ्ने अवस्थामा माटो ठीक्क भिज्ने गरी सिँचाइ दिनु पर्दछ ।’ जब बिउ उम्रेर ३ से.मी.का हुन्छन्, तब झारपात आउन नदिन बेर्नाको उचाइ विचार गरी छिपछिपे हुने गरी पानी दिनुपर्ने यादव बताउँछन् ।

ब्याडको रेखदेख
धानको बेर्नाअनुसार उत्पादनमा निकै फरक आउने हुँदा बेर्नाको रेखदेखमा ध्यान पु¥याउनु पर्ने हुन्छ । गवारो, लिफ होप्पर, पात खाने कीरा, हिस्पा आदि कीराहरूबाट बचाउन कम्तीमा पनि २ पटक सिफारिस गरेअनुसारका विषादी छर्नु पर्दछ । ब्याडलाई सुख्खा हुन नदिन पानीको स्तर कायम राखी आलीलाई राम्ररी मिलाउनु आवश्यक हुन्छ । ब्याडमा झारपात आउन नदिनका लागि समय–समयमा हेरविचार गरी झार आएको भए उखेलिदिनु पर्दछ ।