सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर, यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरूको साथ र सहयोग छ । विशेषगरी शेर्पा पथप्रदर्शक र सहयोगी विना यो सम्भव हुने थिएन ।
मेरो परिवार यतिबेला बेलायतमा छ । मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ । त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत् हौसला प्रदान गर्ने धेरै हुनुहुन्छ ।
म कुनै समय विक्षिप्त भई आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिएँ । रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर, त्यसबाट बाहिर निस्केर आज यो अवस्थामा आइपुग्न साथ दिने सबैजना मेरो यो सफलतामा म जत्तिकै हकदार हुनुहुन्छ ।
हामी नेपालीहरू सगरमाथा, बुद्ध र गोरखालीको देशका रूपमा विश्वभर परिचित छौँ । यी तीनवटै कुरामा म व्यक्तिगतरूपमा जोडिएको छु । स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौँ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । तर, करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगेँ । त्यहाँ केही समय सेवारत भएँ । सेवाकै क्रममा अफगानिस्तानमा तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगेँ । फलस्वरूप मेरा घुँडासम्मका दुवै खुट्टा गुमाएँ ।
घाइते भएपछि मेरा पीडाका दिन सुरु भए । शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो । मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन् पटक धिक्कारेको छु । अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिएँ ।
त्यहीबेला पीडा भुलाउन रक्सी बहाना बन्यो । करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो । यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो । हरेक दिन रक्सी अनिवार्यजस्तै बन्यो । कतिपटक आत्महत्या गर्ने सोच पलायो, अहिले भन्न सक्दिनँ । तर, आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु ? भन्ने सोचले आत्महत्या पनि गर्न सकिनँ ।
लामो समयसम्म रक्सीको लतमा फसे पनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो । घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो । मैले आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराएँ । त्यसले मेरो जीवन परिवर्तन गर्न सहयोग ग¥यो । यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगेँ ।
एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो । विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो । यसबीच मैले माउन्टेनियरिङसम्बन्धी तालिम लिएँ । माउन्टेन प्रशिक्षक भएर काम पनि गरेँ । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बनेँ । तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगेँ ।
हाई अल्टिच्युडमा कस्तो हुन्छ ? शारीरिक रूपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो । स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थालेँ । जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका मजस्तै १२–१५ जना साथीहरूका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ । यी सबै अनुभवले मलाई इच्छाशक्ति बढ्यो भने असम्भव केही छैन भन्ने पाठ सिकायो ।
मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो । मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ । तर, सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो । यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो ।
सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिनँ । त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकेलियो । तर, यसपटक भने सफल भएँ । मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस् ? म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ ।
यसअघि मैले माउन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका हिमाल आरोहण गरिसकेको छु । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एबोभ एबोभ नी’ को रेकर्ड पनि मेरो नाममा छ ।
आधार शिविरमा १८ दिन
सगरमाथा आरोहणका क्रममा हामी अप्रिल ५ मा मेरापिक बस्यौँ । दुई पटक मेरापिक चढेपछि हामी सगरमाथाको आधार शिविर पुग्यौँ । मौसम बिग्रिएकाले आधार शिविरमा १८ दिन बस्यौँ । मौसम सफा हुँदै गएपछि दोस्रो आधार शिविरतर्फ लाग्यौँ । त्यहाँ मौसमले साथ नदिएपछि म पहिलो आधार शिविर फर्किएँ । साथीहरू त्यहीँ बसेर अन्य व्यवस्थापकीय काममा जुट्नुभो । जब मौसम अनुकूल भयो, हामी सगरमाथा चढ्न सक्यौँ । सगरमाथा आरोहणमा निकै ठूलो पीडा भोग्यौँ । समूहका सबै साथीहरू चुचुरोसम्म पुग्न सक्नुभएन । सगरमाथा चुचुरोबाट धेरै फोटो खिच्ने र त्यहाँबाट हिमालहरू हेर्ने सपना भने मौसम बिग्रिएकाले पूरा हुन सकेन ।
अब मैले बाँकी जीवन सामाजिक काममा सक्रियताका साथ बिताउने योजना बनाएको छु । पुरानो उपलब्धिका आधारमा सामाजिक कार्यमा सक्रिय हुनेछु । मेरोजस्तै अवस्था अरूलाई नआओस् भन्ने चाहना छ ।
अब फाउन्डेसनमार्फत् सशक्तिकरणमा लाग्ने योजना बनाएको छु । यसमार्फत् एकजनाको मात्रै जीवनमा सुधार ल्याउन सकियो भने त्यसले सकारात्मक ऊर्जा दिनेछ । अवसरबाट बञ्चित र साहसिक कार्यप्रति रुचि भएकालाई हौसला दिने योजना बनाएको छु ।
ममा अझै पनि खुट्टा गुमाउँदाको पीडा ठूलो छ । युद्धका कारण मैले दुवै खुट्टा गुमाएको छु । युद्धका कारण मेरो जीवनमा परेको असर म भुल्न सक्दिनँ । त्यसैले विश्वमा अशान्ति मच्चाउनेहरूलाई सगरमाथाको शिरबाट शान्तिको कामना गर्न चाहन्छु ।
(कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाएका भूतपूर्व गोरखा सैनिक हरिबहादुर बुढामगरले आरोहण सकेर मङ्गलबार काठमाडौँ फर्किएपछि पत्रकार सम्मेलनमार्फत् सुनाएको अनुभवमा आधारित ।)