धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले पत्रकारितामा जवाफदेहिताको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् । तथ्य र प्रमाणसहित गरिने पत्रकारिताले जनहितमा काम गर्ने उल्लेख गर्दै नगर प्रमुख राईले विकास पत्रकारितामा लाग्न सञ्चारकर्मीलाई आग्रह गरे ।
सञ्चारकर्मी लक्षित अभिव्यक्तिका कारण विवादित नगर प्रमुख साम्पाङले सुशासनको पक्षमा दशक अघिदेखि लड्दै आएको उल्लेख गर्दै भने, ‘नगरपालिकालाई भ्रष्टाचारको आरोप लगाउँदा पुष्टिसमेत गर्नुपर्छ, पत्रकारहरु पनि जवाफदेही बन्नुपर्छ, आधारहीन कुरा गर्नुहुँदैन ।’
पछिल्लो समय पत्रकारहरुसँग असमझदारी बढ्दै गइरहेका अवस्थामा नगर प्रमुख राईले आफू प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताए । उनी नेपाल पत्रकार महासंघ सुनसरीसँगको दुई पक्षीय समझदारीका लागि दुई पटक औपचारिक बैठकमा बसिसकेका छन् । यद्यपि पत्रकारिताको जवाफदेहिताविहीन पक्षलाई भने आत्मसात् नगर्ने नगर प्रमुख राईको स्पष्ट अडान छ ।
क्रियाशील पत्रकार महिला मनिता चाम्लिङद्वारा सम्पादित प्रकाशित ‘दिव्यरोशनी साप्ताहिक’ पत्रिकाको १९ औं वार्षिकोत्सवको समुद्घाटन गर्दै बिहीबार नगर प्रमुख राईले सुशासन, समृद्धि र विकासका लागि पत्रकारिता हुनुपर्ने विचार व्यक्त गरे ।
सञ्चारकर्मी सम्मानित
दिव्यरोशनी साप्ताहिक पत्रिकाको १९ औं वार्षिकोत्सवका अवसरमा ३ सञ्चारकर्मीसहित सामाजिक व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुने पत्रकारहरुमा बिना मोक्तान तामाङ, भैरव आङ्ला र नवराज विष्ट रहेका छन् । पत्रिकाकी प्रकाशक सम्पादक मनिता चाम्लिङका दिवंगत पिता क्विन गोर्खा इन्जिनियरिङ सार्जन प्रभुराम राईको नाममा स्थापित सम्मानद्वारा विश्वस्त सूत्र साप्ताहिककी पत्रकार तामाङलाई सम्मान गरिएको हो । यस्तै विजयपुर एफएमका सम्पादक रहेका आङ्लालाई सामाजिक पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ । यस्तै ब्लाष्टखबरका कार्यकारी सम्पादक नवराज विष्टलाई सम्पादक प्रकाशक मनिता चाम्लिङका दिवंगत कान्छा दाज्यू बाजुन राईको नाममा स्थापित ‘सिर्जनशील पत्रकारिता सम्मान’बाट सम्मानित गरेको हो ।
सामाजिक व्यक्तित्वतर्फ डिप्लोमा हेन्डिक्राफ्ट धरानकी सञ्चालिका डम्बरकुमारी श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै पत्रिकाले स्तम्भकार र लेखकहरुलाई समेत सम्मान गरेको थियो ।
आज बिहीबार धरान उपमहानगरपालिकाको सभाहलमा औपचारिक कार्यक्रम गर्दै पत्रिकाको वार्षिकोत्सव केक काटेर मनाइएको हो । दिव्यरोशनी साप्ताहिकले प्रत्येक वर्ष अग्रज पत्रकार, समाजसेवी र सिर्जनशील सञ्चारकर्मीलाई नगद पुरस्कारसहित सम्मान गर्दै आएको प्रबन्ध निर्देशक सागर सिंजालीले जानकारी दिए । दिव्यरोशनीले उत्पीडित, उद्यमशील, न्यायबाट बञ्चित महिलाका अधिकार र पौरखका विषयलाई मुख्य रुपमा उठाउँदै आएको छ ।