विराटनगर महानगरको पहिचान झल्कने दाबी गरिएको लोगो भद्दा भएको भन्दै आलोचना गरिएको छ ।
महानगरले लोगो सार्वजनिक गरेलगत्तै जनस्तरमा यसको व्यापक आलोचना सुरू भएको छ ।
महानगरपालिकाले बिहीबार सार्वजनिक गरेको लोगोले महानगरको पहिचान समेत नझल्किएको र लोगो भद्दा भएको भन्दै जनस्तरबाट आलोचना सुरू भएको हो ।
कतिपयले छनोट समितिले लोगोको महत्व नबुझेको प्रतिक्रिया दिएका छन् । कतिपयले विराटनगरको पहिचानको साटो लोगोले अरबी देशको पहिचान झल्काएको प्रतिक्रिया दिएका छन् ।
लोगोमा अंग्रेजी भाषा प्रयोग गरेको प्रति पनि धेरैले आपत्ति जनाएका छन् । प्रतीक ढकाल लेख्छन्, ‘अंग्रेजी हैन, देवनागरी भाषाको प्रयोग गरौँ, यो लोगोले विराटनगर झल्काउँदैन ।’
कतिपयले यो हाँस्यास्पद र लाजमर्दो भएको प्रतिक्रिया दिएका छन् । विराटनगरका साहित्यकार शिवनारायण पण्डित ‘सिंगल’ लेख्छन्, ‘ऐतिहासिक, औद्योगिक, धार्मिक, राजनीतिक नेतृत्व दिने र साहित्यिक नगरी विराटनगरको गरिमा यो लोगोमा कुनै कोणबाट पनि दर्शिएको छैन ।’
उनले विराटनगर झल्किने लोगो ल्याउनु पर्ने र यसलाई प्रेमपूर्वक खारेज गर्नुपर्ने सामाजिक संजाल फेसबुकमा लेखेका छन् । धेरैले सामाजिक संजालमार्फत लोगोको विषयमा आलोचनासँगै सुझाव दिएका छन् ।
यता लोगो छनोट समिती संयोजक समेत रहेकी महानगर उप–प्रमुख शिल्पा निराला कार्कीले लोगोमा विराटनगरको पहिचान झल्किएको बताएकी छन् ।
लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उनले लोगोमा विराट राजाको दरबार, राधाकृष्ण रथ यात्रा, औद्योगिक नगरी, एयरपोर्ट, हरियालीलगायत समावेश गरिएको लोगोले विराटनगरको पहिचान झल्किएको बताइन् ।
लोगो नुरकुमार श्रेष्ठले डिजाइन गरेका हुन् । १५८ जनाले डिजाइन गरेर पठाएका मध्ये श्रेष्ठले बनाएको लोगो छनोट भएको थियो ।