उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमितिहरूको पदस्थापन भएको छ । 

५० औँ साधारण सभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र सदस्यहरूको शनिबार पदस्थापना भएको हो ।

 निर्वाचन समितिका संयोजक सूर्य विमलीले अध्यक्षलाई तथा अध्यक्षले अन्य पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको शपथ गराएका थिए । 

संगठनको अध्यक्षमा राकेश सुराना निर्विरोध निर्वाचित भएका छन् । 

२६ औँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, वित्तीय उपसभापतिमा राजकुमार गोल्छा, कृषि, ऊर्जा र जलस्रोत उपसभापतिमा भोलेश्वर दुलाल र रोजगार उपाध्यक्षमा विपिन कावरा पनि निर्विरोध चुनिएका छन् । 

त्यसै गरी कोषाध्यक्षमा सुबोध कोइरालासहित आठ जना सदस्य पनि निर्विरोध छानिएका छन् । सदस्यमा पारस लुनिया, ईन्द्र खत्री, सौरभ सारडा, सुरेन्द्र गोल्छा, सुजन प्याकुरेल, दीपककुमार अग्रवाल र वीरेन्द्र राठी चुनिएका छन् । 

कार्यसमिति  थप तीन जना सदस्य अध्यक्षले मनोनित गरेका छन् । जसमा प्रतिभा रिजाल, जयन्त शर्मा र सिद्धार्थ काभरा रहेका छन् ।

संगठनमा वरिष्ठ उपाध्यक्ष अध्यक्ष बन्ने परम्परा भए पनि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारका सुपारी कारोबारमा विवादमा मुछिएपछि उनले उम्मेदवारी नदिँदा कार्यसमितिका सबै पदाधिकारी र सदस्य निर्विरोध चुनिएका थिए । 

२०२४ सालमा स्थापना भएको यो संस्थाका संस्थापक अध्यक्ष जुद्धबहादुर श्रेष्ठ हुन् । यो संगठनमा सुनसरी मोरङ औद्योगिक क्षेत्रका २ सय ३५ उद्योग तथा प्रतिष्ठान आबद्ध छन् ।