कोशी प्रदेशकी स्वास्थ्यमन्त्री तथा जसपा नेता निर्मला लिम्बूले आफू र आफ्नो परिवार साथै मन्त्रालयको सुरक्षामा सरकारले चासो नदिएको बताएकी छन् ।
उनले आफू सरकार पक्ष पहिचान पक्षधर दुबैबाट असुरक्षित भएको बताएकी हुन् ।
कोशी प्रदेशसभामा बोल्दै मन्त्री लिम्बूले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको र स्वास्थ्य मन्त्रालय र आफ्नो सुरक्षा दिन नसकेको गुनासो गरिन् ।
मन्त्री लिम्बूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसद् सचिवालय र अन्य मन्त्रालय निषेधित क्षेत्रभित्र राखिएको तर प्रदेशको स्वास्थ्य मन्त्रालय निषेधित क्षेत्रमा नराखिएको भन्दै सदनमा प्रश्न गरिन् ।
स्वास्थ्य मन्त्रालयको सुरक्षा दिन नसकेको भन्दै उनले आफू सरकार र आन्दोलनरत पक्षधर दुवैको निशानामा परेको बताइन् ।
‘पहिचान पक्षधरको हुँदा हुँदै पनि दुवैले किन टार्गेटमा राखेको ? सरकारले गरेको व्यवहारका कारण स्वास्थ्य मन्त्रालयमा तोडफोड भएको छ, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रको सुरक्षा अवस्था मिलाइयोस्’, सदनमा मन्त्री लिम्बूले भनिन् ।
एनले संसद्मा सुरक्षाको प्रबन्ध नमिलाएको भन्दै आक्रोश व्यक्त गरिन् ।
सरकार शान्तिको पक्षमा नरहेको उनले आरोप लगाइन् । उनले पहिचानको आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने माग राखिन् ।