राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले दिनुभएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका नेतृत्वप्रति सम्मान तथा यसमा सहभागी राजनीतिक कार्यकर्ता, नागरिक समाजका अगुवालगायत सबैको योगदानको उच्च प्रशंसा गरेका छन्। 

सन्देशमा भनिएको छ, “नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ । कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो ।” 

उनले गणतन्त्रले उद्देश्यअनुसारको राजनीतिक आचरण र चरित्र खोजेको कुरालाई बिर्सेमा अग्रजहरूको लामो सङ्घर्ष तथा नागरिकको ठूलो बलिदानप्रति नै अपमान गरेको ठहर्ने बताएका छन् ।   

“लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ ”,  राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा भनेका छन् ।