धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसमा अध्ययरत साथी–साथीबीच विवाद हुँदा साथीलाई आक्रमण गरी होस्टेलको तीन तलाबाट हाम्फाल्दा एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान आक्रमण गर्ने विद्यार्थी उल्टै होस्टेलको तीन तलाबाट हाम्फाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार घटना हुनुपर्ने कारण हालसम्म खुलेको छैन ।

गोर्खा घर भई एमबीबीएसमा अध्ययनरत २० वर्षीय रविन पाण्डेलाई सिन्धुली घर भएका २२ वर्षीय राजेश फुयाँलले ऐनाको सिसाले आक्रमण गरी घाइते बनाएका थिए । आक्रमणपश्चात् फुयाँल तीन तलाबाट हाम्फाल्दा गम्भीर घाइते भएका हुन् । उनलाई हाल सघन उपचार कक्ष (आइसियु) मा राखी उपचार भइरहेको डिएसपी मल्लले जानकारी दिए । पाण्डे र फुयाँल दुवै एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत छन् ।