-नविन चर्मकार
धरान उपमहानगरपालिका -११, सोलिङ्गका ६० वर्षीय मिठे सार्की करिब एक वर्षयता उदास छन् । दिन जति ढल्दै जान्छ, उनको मन उति नै कुँडिदैं जान्छ ।
उनको बेचैनी र छटपटीको कारण हो, २०७९जेठ १२ गतेको कहाली लाग्दो घटना । त्यसदिन उनका एक मात्र छोरा ३२ वर्षिय सन्दिप लम्जेलको विभत्स हत्या भएको थियो । त्यो घटनाको आरोपमा १३ वर्षिय र १७ बर्षिय लागुऔषध प्रयोगकर्ता किशोरहरु पक्राउ परे । तर उनीहरु केहि दिनमै छुटेपछि मिठेको मन झन् पिरोलियो । उनी भन्छन्, ‘ति दुई जनाले मात्रै मेरो हात्ती जस्तो छोरालाई मारे भनेर विश्वास लाग्दैन तर के गर्नु पत्याई दिनु परेको छ ।’
धरान-८ अरुणटोलकी ३९ वर्षिया अन्जु प्रधानको पीडा पनि कम छैन । उनका श्रीमान विदेशमा श्रम गर्छन् । उनीहरुले छोरालाई धरानको एउटा महँगो विद्यालयमा भर्ना गरेका छन् । छोरो भने विद्यालय, घर गाउँ र समाजमा झै-झगडा संलग्न हुने गरेपछि घरमा भन्दा पनि बढी समय प्रहरीको थुनामा बिताउने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘कहिले झगडाको केसमा त कहिले लागू पदार्थ दुव्र्यसनको केसमा पक्राउ पर्छ । छोराले सारै पिर दिएको छ ।’ उनी छोराको संगत र आनीबानी बारे बेलैमा बुद्धि पुर्याउन नसकेकोमा पछुतो लागेको बताउँछिन् ।
त्यसो त धरानको भानुचोक क्षेत्रमा रात परेपछी सडक बालबालिकाहरु जुत्ता टाँस्ने गम (डेन्ड्राईट) सुँघ्ने, होहल्ला गर्ने, मनपरि बोल्ने, घरबाहिर छुटेका सामान चोरी गर्ने, फोहोरको थुप्रो प्लास्टिकजन्य पदार्थ बटुल्ने बहानामा छरपस्ट पारी दुर्घन्धित पारिदिने जस्ता व्यवहारले आजित छ्न्, सोहि क्षेत्रका घरधनी बिनोद रम्तेल । आफ्नी ३ बर्षिया छोरीले समेत कहिलेकाहीं ति सडक बालबालिकाको जस्तो भाषा बोल्दा उनी झस्किन्छ्न् ।
लागुऔषधको दुव्र्यसनले समाजका कस्ता-कस्ता असर परिरहेका छन्, भन्ने उदाहरण हुन् यी घटना । लागुऔषधका कारण धरानमा आपराधिक घटना बढिरहेका छन् । लागुऔषध दुव्र्यसनका कारण समाजमा भएका अपराध संख्यामा तुलना गर्न सकिने भएपनि सामाजिक तथा मानसिक असरको लेखाजोखा गर्न कठिन छ ।
नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार नेपालमा १ लाख ३० हजार ४ सय २५ जना महिला तथा पुरुष लागुऔषध प्रयोगकर्ता छन् । त्यसमध्ये कोशी प्रदेशमा मात्र ५ सय ९२ महिला सहित २७ हजार ६ सय ५ जना प्रयोगकर्ता छन् । लागुऔषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर ५.०६ प्रतिशत रहेको छ । किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रले गरेको अध्ययन अनुसार सन् २०२० सम्म धरानमा करिब १५ सय लागुऔषध प्रयोगकर्ता रहेको पाइएको थियो । हाल भने धरानमा मात्र लागुऔषध प्रयोगकर्ताको सङ्ख्या कति छ भन्ने एकिन विवरण पाईंदैन ।
ईलाका प्रहरी कार्यालय धरानको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म लागुऔषध दुव्र्यसनका कारण ५३ वटा आपराधिक घटना भएका छन् । ति घटनामा ७० जना पक्राउ परिसकेका छन् । लागुऔषधकै कारण आर्थिक वर्ष २०७७/०७८ मा ५७ मुद्दा दर्ता भई ८३ पक्राउ परेका थिए भने आर्थिक बर्ष २०७८/०७९मा ५५ मुद्दा दर्ता भएर ८३ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानका प्रवक्ता प्रहरी निरीक्षक सागर श्रेष्ठले जानकारी दिए । सुनसरीका नाकाहरुमा १ सातामा पाँच सय जनासम्म लागुऔषध प्रयोकर्ता पक्राउ पर्ने गरेका छन् ।
पहिला धरानमा लाहुरेका सन्तान र धनीमानीका छोराछोरी लागुऔषधको कुलतमा फस्छन् भन्ने मानसिकता भएपनि पछिल्लो समय परिस्थिति फेरिएको धरानकी कार्यपालिका सदस्य सावित्रा परिवार बताउँछिन् । उनी भन्छिन्, ‘अहिले सुकुम्बासी बस्तीहरुमा दुव्र्यसन बढेको छ । बेरोजगारी समस्या र देखासिखीले धनीका भन्दा गरिबका छोराछोरी कुलतमा बढी फसेको पाईन्छ ।’
उपमहानगरको प्रयास अपर्याप्त
धरान उपमहानगरपालिकाले हरेक बर्ष लागूपदार्थ दुव्र्यसन तथा जनचेतना कार्यक्रमका लागि बजेट छुट्याउदै आएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ‘लागु पदार्थ दुव्र्यसनीहरुलाई पुनःस्थापनामा समन्वय’ शिर्षकमा १ लाख ५० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७७/७८ मा बिद्यालय केन्द्रित लागू पदार्थ दुव्र्यसन तथा जनचेतना कार्यक्रममा ७५ हजार छुट्याईएको थियो । आ.ब.२०७८/०७९मा धरान उपमहानगरपालिका वार्ड नं १ बाट लागुपदार्थ दुव्र्यसनी युवाहरुलाई अभिमुखिकरण कार्यक्रम अन्तर्गत ५० हजार रुपैयाँ छुट्याईएपनि हालसम्म खर्च भएको छैन । चाँडै कार्यक्रम गर्न लागिएको वडा सचिव रमेश राईले जानकारी दिए।
धरान-४ मा लागुपदार्थ दुव्र्यसन बिरुद्ध सचेतनामुलक कार्यक्रम अन्तरगत १ लाख ४० हजार रुपैयाँ, वडा नं ६ बाट ६० हजार रुपैयाँ, वडा नं ८ मा ३० हजार रुपैयाँ छुट्याइएको भएपनी बजेट अभावमा कार्यक्रम हुन नसकेको पाइएको छ । वडा नं १६ ले ४० हजार रुपैयाँ र वडा नं १८ ले ५० हजार रुपैयाँ सचेतना कार्यक्रमका लागि छुट्याएका छन् ।
लागुऔषध दुव्र्यसनका लागि यो बजेट धरानको सन्दर्भमा हात्तीको मुखमा जिरा जस्तै भएको धरान-८ स्थित अरुण टोल विकास संस्थाकी पूर्वअध्यक्ष सीता राईको भनाई छ ।
गाउँ गाउँमा सचेतनामुलक,अभिमुखिकरण कार्यक्रम व्यापक रुपमा गर्नुपर्ने र युवाहरुलाई समेट्ने किसिमको कार्यक्रम ल्याउनु पर्ने उनको सुझाव छ । पहिला धरानका खोला खोल्सी र बाक्ला बस्तीहरुमा लागूपदार्थ ओसारपसार र बिक्रीवितरण हुँदै आएकोमा हाल चारकोसे जंगल लागुपदार्ध कारोबार हुने स्थल बनिरहेको छ । धरान-८ स्थित दुर्गापथ टोल बिकास संस्थाका अध्यक्ष सुबास श्रेष्ठ प्रहरी र जनप्रतिनिधि समेत राखेर चेतनामुलक कार्यक्रम गर्दा पनि मान्छे नआउने र दुव्र्यसनमा फसेकाहरुका परिवारले ध्यान नदिने गरेको अनुभव सुनाउँछन् । उनी भन्छन्, ‘दुव्र्यसनमा फसेकाहरुको हुल देखेर आजित भईसक्यौं ।’
त्यसो त धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले हरेक शुक्रबार लागुपदार्थ दुव्र्यसन बिरुद्ध जनचेतनामुलक अभियान सन्चालन गर्दै आएका छन् । तर एकातिर जनचेतनामूलक कार्यक्रममा बजेट छुट्याउन नसक्नु र छुट्टिएको बजेटमा पनि कार्यक्रम हुन नसक्नुले धरानमा लागुऔषधमा फस्नेहरुको संख्या बढिरहेको जानकारहरु बताउँछन् ।
सहकार्य आवश्यक
मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ हो । शारीरिक र मानसिक स्वास्थ्य चेतना र अनुभूतिलाई विकृत तुल्याउने लागुपदार्थ हो र सो पदार्थको अनावश्यक प्रयोग नै दुव्र्यसन हो ।
गाँजा, चरेस, अफिम, भाङ, धतुरो, रक्सीका साथै नाइट्रोसन, नोफिन, कोडिन, कोरेक्स, फेनकोडिन जस्ता साईकोट्रपिक सब्स्ट्यान्सहरु लागुपदार्थ भित्र पर्छन् । लागुपदार्थ नेपालमा ओसारपसार गर्न बिक्रीवितरण गर्न बन्देज गरिएको छ । तर अवैध रुपमा यसको कारोबार र प्रयोग हुने गरेको छ ।
बिशेषगरी युवायुवतीले देखासिकीमा यसको प्रयोग गर्ने गरेका छन् । उप्का नेपालका बोर्ड सचिव बिजय अछामीका अनुसार मानसिक तनाव, पारिवारिक समस्या र साथीहरुको दबाबले धेरैजसो लागुऔषधको दुव्र्यसनमा फस्ने गरेका छन् । दुव्र्यसनमा फसेपछि त्यहाँबाट बाहिर निस्किन धेरै गाह्रो हुने उनको भनाई छ ।
दुव्र्यसनमा फसेपछि मानसिक र शारिरीक रुपमा कमजोर हुने, एचआईभि, हेपाटाईटिस, यौनजन्य रोगहरु लाग्ने खतरा पनि उत्तिकै हुन्छ ।
लागुऔषधको दुव्र्यसनमा फसेकाहरुलाई उपचार गरी समाजमा पुनस्र्थापना गर्नका लागि धरानमा विभिन्न सुधार केन्द्रहरु सञ्चालित छन् । धरान-६, पानवारीमा नेपाल प्रहरी श्रीमति संघले सञ्चालन गर्दै आएको आसरा सुधार केन्द्रमा हाल ९१ जना १८ देखि ५५ वर्ष उमेर समूहका लागुऔषध प्रयोगकर्ता उपचारका क्रममा रहेको त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक अनिल प्रसाद भण्डारी बताउँछन् ।
धरान-१६, स्थित नव आस्था पुनर्जीवन केन्द्रमा १६-६१ वर्षसम्मका १६ जना उपचाररत छन् । त्यस्तै धरान-१३मा रहेको किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्रमा १६ देखि ६५ बर्ष सम्मका १७ जना छन् । नेपालमा २ सय ४० भन्दा धेरै सुधारगृहहरु छन् । यसमा धरानमा जस्तै देशका अन्य ठाउँमा पनि लागुऔषध दुव्र्यसनको अवस्था विकराल बन्दै गरेको देखिन्छ ।
धरान- ९ का वडाध्यक्ष रुपेश आचार्य लागू औषध सेवन तथा कारोवार हुने मुख्य स्थानहरुमा विशेष सुरक्षा योजना बनाई प्रहरी परिचालन गरिनु पर्ने बताउँछन् । सचेतनात्मक कार्यक्रम प्रभावकारी बनाउन र स्रोतको पहिचान गरि न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाई छ । मिजार समुदाय महासंघ प्रदेश उपाध्यक्ष धनबहादुर हमाल लागुऔषधको दुव्र्यसनबाट जोगाउन बालबालिकालाई आत्मविश्वासी, आत्मनिर्भर र स्वाबलम्बि बन्न प्रेरित गर्नु पर्ने बताउँछन् ।
समुदाय-प्रहरी साझेदारी सचेतनामूलक कार्यक्रममा प्रशिक्षण दिँदै आएका प्रहरी सहायक निरिक्षक रुद्र खड्का लागुऔषध दुव्र्यसनको न्युनिकरण राज्य एक्लैले गर्न सम्भव नरहेको बताउँछन् । उनी भन्छन्, ‘हरेक समुदाय संघसंस्था र हरेक व्यक्ति आफैं लागे मात्र दुव्र्यसन न्युनिकरण सम्भव हुन्छ ।’