देउराली ।  संखुवासभाको चैनपुरमा  वडाध्यक्षले सरकारी गाडीको दुरुपयोग गरेको भन्दै स्थानीय युवाले वडाध्यक्षले प्रयोग गर्ने मोटरसाइकल नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । 

चैनपुर नगरपालिका ३ का वडाध्यक्ष बल बहादुर अधिकारीले नगरपालिकाले उपलब्ध गराएको   प्र १ ९०२९००१ ब ३०६८ नम्बरको मोटरसाइकल दुरुपयोग गरेको भन्दै आज बिहान स्थानीय युवाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिएका छन् । 

उनले मर्निङ वाकमा हिँडिरहेका युवाहरूले वडाध्यक्ष  अधिकारीले उक्त मोटरसाइकल दुध बेच्न बजारमा ढुवानीकामा प्रयोग गरेको भन्दै नियन्त्रणमा लिएको बताए । उनले भने " मोटरसाइकल नियन्त्रणमा लिएका रहेछन् हामी पुग्दा वडाध्यक्ष मोटरसाइकल छोडेर गइसक्नु भएको रहेछ, पछि हामीले वडाध्यक्षलाई बोलाएर जिम्मा दिएका छौँ ।   "

बस्नेतले वडाध्यक्ष अधिकारीले दुध ढुवानीकालागी प्रयोग गरेको नपाइएको भन्दै मोटरसाइकल जिम्मा दिएको बताए । 

"आफन्तको बिरामी हुनुहुँदो रहेछ आफ्नोमा गाइको दुध भएकोले त्यो पुर्‍याउन जानु भएको रहेछ । " उनले दुध बिक्रीका लागी नभई आफन्तलाई पुर्‍याउन गएको भन्दै भने " जनप्रतिनिधिहरू कुन समय काम मा हिँड्नु भएको हो कुन समय हैन भन्ने छुट्याउन गाह्रो हुन्छ । "

उनले सरकारी सवारीको दुरुपयोग भएको भन्दै  नियन्त्रणमा लिने परिपाटी नै बनेको भन्दै यसबारे सचेतना गराउन आवश्यक रहेको समेत बताए ।