विराटनगर । कोशी प्रदेश नाम खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका पहिचान पक्षधरहरूलाई वार्तामा आउन कोशी प्रदेश सरकारले आग्रह गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत पक्षलाई वार्ताको लागि आह्वान गरेको हो ।
‘शान्तिपूर्ण ढङ्गबाट गरिने विरोध र आलोचनाले लोकतन्त्रलाई नै सुदृढ र मजबुत बनाउँछ भन्ने कुरामा प्रदेश सरकार विश्वास राख्छ’ मन्त्री सिटौलाले भनेका छन्, ‘नामाङ्कनको बारेमा आफ्ना विमतिहरूलाई शान्तिपूर्णरूपमा राख्न अनुरोध गर्दै पूर्व घोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादका माध्यमबाट निकास खोज्न सम्बद्ध सबै पक्षलाई कोशी प्रदेश सरकार आह्वान गर्दछ ।’
आइतबारको प्रदेशसभा बैठकमा बोल्ने सांसद्हरूले आन्दोलनरत पक्षलाई तत्काल वार्तामा बोलाउन सरकारलाई आग्रह गरेका थिए । सोमबार गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।
गत फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् । नाम संशोधनका लागि प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिमार्फत् पहिचान पक्षधरले प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिरहेका छन् । विराटनगरलगायत विभिन्न जिल्लाहरूमा झडपसमेत भएका छन् ।