इनरुवा । पूर्व प्रहरी कर्मचारी सङ्गठन सुनसरीले इनरुवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।
जन्मकैद सजाय भोगिरहेका व्यक्तिलाई सरकारले माफी दिएको भन्दै इनरुवा बस चोकमा उनीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका हुन् ।
प्रहरी उच्च अधिकारीसहितको हत्यामा जन्मकैद भोगिरहेका व्यक्तिलाई माफी दिनुले प्रहरी कर्मचारी र परिवारको मान सम्मानमा चोट पुगेको पूर्व प्रहरी कर्मचारी पहलबहादुर कटवालले बताए ।
पुतला दहन कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल सरकारको सिफारिसमा रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिनुले मुलुकको कानूनी राज्यप्रतिको उपहास भएको बताए । उनीहरूले सरकारप्रति जनताको विश्वास गुम्दै गएको समेत बताए । पूर्व प्रहरी कर्मचारी सङ्गठनको अगुवाइमा आयोजित पुतला दहन कार्यक्रममा स्थानीयहरूले समेत सहभागिता जनाएका थिए ।