विषय प्रवेशः
नवउदारवादी दलाल पुँजीवाद पुँजीवादको पछिल्लो रूप हो । यस्तो उत्पादन पद्दतिमा वित्तीय एकाधिकार पुँजीवाद हावी हुन्छ । अर्थराजनीतिक रूपमा सीमित वहुराष्ट्रिय कम्पनीहरूले माल उत्पादन र विश्व बजारको अधिकांश हिस्सा ओगटेको हुन्छ । सांस्कृतिक रूपमा उत्तरआधुनिकतावादले घर गर्दछ । यसले विचार, दृष्टिकोण, इतिहास, सभ्यता र मूल्यमान्यता अन्त्यको वकालत गर्दछ । उनीहरू आफ्नै शैलीमा पुनव्र्याख्या, पुनरपरिभाषा र पुनर्संरचना गर्न चाहन्छन् । अराजकतालाई पक्षपोषण गरिन्छ । यस्तै राजनैतिक विचारशून्य अवस्थामा लम्पट उपभोगवादी संस्कृति हावी हुन्छ । नवउदारवादद्वारा निर्देशित उत्तरआधुनिकतावादमा अल्झेको उपभोगवादी संस्कृतिमा विचार र सिद्धान्तले समाजलाई दिशानिर्देश गरिरहेको हुँदैन । दृष्टिकोण र मुद्दाको सारभूत पक्षको आधारमा सही र गलत निर्धारण गरिँदैन । राजनैतिक अन्तरवस्तुको आधारमा अग्रगामी, पश्चगामी र प्रगतिशील छुट्याउने संस्कृति हुँदैन । जनपक्षीय र जनविरोधी पहिचान हुँदैन । औसत प्रक्रियामै लोकप्रियताको कमलो र जादुमय छिद्र खोज्ने गरिन्छ । तर, वस्तुतः राजनीतिमा त्यस्तो जादु केही हुँदैन ।
वस्तुतः विचार र दृष्टिकोणले समकालीन समाजको नेतृत्व नगरेपछि अरू औसत प्रक्रिया वा कर्मकाण्डहरू निर्णायक हुने गर्दछन् । यो साश्वत् सत्य हो । समाजमा सही र अब्बल सावित गर्ने मापदण्डमा सिद्धान्त र विचार पर्दैन । अग्रगामी, प्रगतिशील र न्यायपूर्ण विचार बोकेको हुनुपर्दैन । कार्यदिशा, कार्यक्रम, कार्ययोजना र आन्दोलनको प्रक्रिया जरुरत हुँदैन । अल्पकालिक र दीर्घकालिक कार्यक्रमिक खाकाहरू विन्याश गर्नुपर्दैन । वैज्ञानिक, वस्तुवादी र व्यावहारिक हुनुपर्दैन । स्पष्ट भिजन र निर्दिष्ट लक्ष्य लिनु पर्दैन । भावी समाजको स्पष्ट पानीचित्र निकाल्न वर्तमान समाजको शल्यक्रिया गर्नुुपर्दैन । वस्तुवादी वा धरातलीय यथार्थमा टेकेर कमजोरीहरू केलाउनु पर्दैन । आलोचनात्मक दृष्टिकोण लिएर व्यक्ति, वस्तु र सत्तालाई रूपान्तरण गर्ने द्वन्द्वात्मक प्रक्रियामा जानु परेन । वर्तमान तथा भावी समाजको प्रस्थानविन्दु, यात्रा प्रक्रिया र गन्तव्यको मार्गचित्र कोर्नु परेन । धरातलीय यथार्थतामा उभिएर समस्या, चुनौती र सम्भावनाको वस्तुवादी विश्लेषण र संश्लेषण गर्नुपरेन । सङ्घर्ष, त्याग, बलिदान, जेलनेल, यातना र दुःख–कष्ट गर्नुपरेन । यता बिग्रियो उता बिग्रियो अब म सपार्छु भने पुग्छ । उपभोगवादले जनमत ब्रोइलरीकरण हुँदै गएको छ । विचारमा परिपक्व हिस्सा असाध्यै सानो छ । यस्तो बेला हल्लाकै भरमा साह्रै सहज, सरल र छिटो–मीठो तरिकामा राजनीति हुने गर्दछ ।
विरोध र आलोचना गर्नुपर्दछ । तर, त्यस्ता विरोध र आलोचनाहरू आलोचनात्मक दृष्टिकोणद्वारा निर्देशित हुनुपर्दछ । सिर्जनशील र रचनात्मक हुनुपर्दछ । प्रगतिमुखी र रूपान्तरणमुखी हुनुपर्दछ । सम्बन्धित व्यक्ति वा वस्तुलाई सच्याएर अपेक्षा वा आवश्यकता सापेक्ष रूपान्तरण गर्ने हो । तर, हाम्रो नेपालमा निरपेक्ष नकारात्मक र निषेधमुखी आलोचनामा पारङ्गत भए पुग्छ । निरपेक्ष तथानाम गाली गरे भयो । निरपेक्ष तल्लोस्तरको आलोचना गरे भयो । निरपेक्ष अशिष्ट विरोध गरे भयो । लाउने जति सबै आरोप–प्रत्यारोप लाए भयो । झुठो, सत्य–तथ्य, भ्रम र यथार्थता छुट्टिनु परेन । गाली गर्न झन्झट नमाने भयो । अमुक व्यक्ति र वस्तुप्रतिको आलोचनात्मक दृष्टिकोणले रूपान्तरण सम्भव गराउँद छ । परिणामतः रूपान्तरित क्षमता र प्रतिभालाई राष्ट्रिय तथा सामाजिक स्वार्थमा भरपूर उपयोग गर्न सकिन्छ । तर, निरपेक्ष गाली र आलोचनामा निषेध र पतन मात्र अन्तरनिहीत हुन्छ, जसबाट समाजले लाभ पाउने सम्भावना हुँदैन । यसमा अर्को नयाँले पालो मात्र पाउँछ । तर, हाम्रो मूलभूत समस्याको समाधान आलो–पालो मिलाउनु मात्र होइन ।
गालीको राजनीतिः
आजभोलि राजनीतिलाई मुद्दाको आँखाले हेरिँदैन । सिद्धान्त, विचार र दृष्टिकोणको आधारमा मूल्याङ्कन गरिँदैन । एजेण्डाको आधारमा सही र गलत निर्धारण हुँदैन । राम्रो र नराम्रो अनुरूप समर्थन र विरोध गरिँदैन । अर्थात् राष्ट्रिय राजनीतिलाई राजनैतिक दृष्टिकोणको कसीमा राख्नु पर्दैन । गुण र दोषको तराजुमा जोख्नु पर्दैन । चोटिलो, घोचिलो, पेचिलो र खस्रो गाली गरे पुग्छ । धाराप्रवाह बोल्न चाहिँ सक्नु प¥यो । झुठोलाई साँचो बनाउने अडान र दृढता भए पुग्छ । उहिले–उहिले विचार र सिद्धान्तको परिधिमा रहेर निरन्तर आन्दोलन गरिन्थ्यो । लामो र कष्टसाध्य आन्दोलनको प्रक्रिया गुजारेपछि एउटा विन्दुमा पुगिन्थ्यो । तर, आज अवस्था नितान्तरूपमा फेरिएको छ । आफू, आप्mनो पार्टी, समूह र व्यक्ति राम्रो अरू सबै नराम्रो भन्ने भाष्य झाँगिदोछ । अरूको टाउकोमा सबै दोष थोपरेर आफू एक्लो बृहस्पति वा हिरो बन्ने केन्द्रीय स्वार्थमा छन् सबै–सबै । आत्मकेन्द्रित व्यक्तिवादी स्वार्थले समाजलाई थिलथिलो बनाएको छ । यसले समाजलाई नराम्ररी विभाजित गरेको छ । एउटाले विदेशी दलाल भनेको छ, अर्कोले राष्ट्रवादी भनेर विश्वास गरेको छ । एउटाले परिचालित भनेको छ, अर्कोले स्वाभिमानी देखिरहेको छ । एउटाले राष्ट्रहित देखेको छ, अर्कोले राष्ट्रघात मानेको छ । एउटाले भ्रष्ट भनेको छ, अर्कोले चोखो कन्या–कुमारी ठानिरहेको छ । एउटाले खराब भनेको छ, अर्कोले राम्रो मानिरहेको छ । एउटाले ठीक देखेको छ, अर्कोले बेठीक भनेको छ । एउटाले देवत्वकरण गरेको छ, अर्कोले राक्षसीकरण गरिरहेको छ । एउटाले भद्र भनेको छ, अर्कोले फटाहा भनिरहेको छ । एउटाले सहयोग गरेको छ, अर्कोले असहयोग गरेको छ । एउटाले शिरमा सजाएको छ, अर्कोले पैतालामुनी राखेको छ । एउटाले महान् सम्झेको छ, अर्कोले तुच्छ ठानेको छ । एउटाले विद्वान् मानेको छ, अर्कोले मूर्ख भनेको छ । एउटाले सक्षम भनेको छ, अर्कोले असक्षमको बिल्ला भिराएको छ । एउटाले गुइँठे, अर्कोले अग्लो भनेको छ । एउटाले अग्रगामी देख्छ, अर्कोले पश्चगामी जुन द्वन्द्ववादको कसीमा सम्भव हुँदैन ।
वस्तुतः यसरी एउटै व्यक्ति र वस्तुको दुइटा समानान्तर रूप हुन सक्दैन । वास्तवमा त्यो अमुक व्यक्ति र वस्तु कि त सही हुन्छ, कि गलत । कि त राष्ट्रवादी हुन्छ, कि राष्ट्रघाती । कि त अग्रगामी हुन्छ, कि पश्चगामी । कि त भ्रष्ट हुन्छ, कि सज्जन । यसरी एउटै व्यक्ति र वस्तुले दुइटा भूमिका पूरा गर्न सक्दैन । यो विज्ञान र तथ्य विरोधी हावादारी तर्क मात्र हो । त्यसैले आजकाल राम्रो र नराम्रो अनि सक्षम र असक्षमजस्तो अकाट्य तथ्यहरूलाई पनि आप्mनो निहीत स्वार्थमा बाङ्गो–टिङ्गो वा ‘मोडिफाइ’ गर्ने गलत प्रवृत्ति मौलाइरहेको छ । यसले सत्य–तथ्य वा यथार्थ चरित्र पहिचान गर्न सकिँदैन । सत्य–तथ्य पहिचान नगरी समस्यालाई चिन्न सकिँदैन । समस्या नचिनी वा रोग निदान नगरी उपचार प्रक्रिया अघि बढ्दैन । उपचार प्रक्रिया विना शदियौंदेखिको बेथिति र विसङ्गतिहरू निदान गर्न सकिँदैन । बेथिति र विसङ्गतिहरू हल नगरी नयाँ परिणाम दिन सकिँदैन । नयाँ उपलब्धि दिन नसक्नेलाई नयाँ भन्न सकिन्न । नयाँको लागि नयाँ चाहिएको छैन । नयाँकै कुरा गर्ने हो भने गुणात्मक परिणामसहितको नयाँ हुनुपर्दछ । हाम्रो समाजले खोजेको र चाहेको भनेको गुणात्मक र वस्तुवादी समाधन हो । चिप्लो कुरा गर्ने कुनै अमुक नयाँ पार्टी, समूह र पात्र खोजेको होइन ।
तर, हाम्रो राजनीतिमा सिद्धान्त, विचार, दृष्टिकोण र मूल्यमान्यतालाई विश्वास गर्ने संस्कृति छैन । गाली माथि चढ्ने बडो मज्जाको भ¥याङ बनिरहेको छ । यहाँ त अरूलाई मरुन्जेल गाली गरेर आप्mनो स्पेस बनाउने प्रचलन व्यापक रहेको छ । स्वार्थको राजनीति गर्नेहरूलाई यही रणनीति वा कार्यदिशा उत्पादनमूलक र फलदायी भइरहेको छ । राजनैतिक कार्यदिशा र कार्ययोजना नयाँ र प्रगतिशील चाहिँदैन । अरूलाई गरिने तथानाम गालीको गमलामा रङ्गी–चङ्गी फूल फुलाउन थालिएको छ । अरू दुःख–कष्ट र लगानी गर्नु पर्दैन । कुनै खतरा र जोखिम मोल्नु पर्दैन । धाराप्रवाह गाली बोल्नु र झगडा गर्न सक्नु प¥यो । चोटिलो भाषण गर्नुपर्यो । युट्युब च्यानलमा अधिकतम् हाउभाउसहितको प्रस्तुति गर्नुप¥यो । चोटिलो, घोचिलो, पेचिलो र दर्शकको लागि मसलेदार दृश्य हाल्नुप¥यो । यहाँसम्म कि स्वार्थगत कथाले मागे नाङ्गै पनि हुनुप¥यो । सतहबाट हेर्दा विषय सामान्य लाग्न सक्छ । तर, यसको अन्तर्यमा अन्तरनिहीत सारलाई केलाउने हो भने सबै नाटक सावित भइदिन्छ । यसको अन्तर्यमा कसैको दर्शक बढाउने स्वार्थ हुन्छ । कसैको सत्ता र शक्तिमा पहुँच बढाउने । कसैको नेता बन्ने कसैको चुनाव जित्ने व्यक्तिगत स्वार्थबाहेक अरू हुँदैन । आखिर यावत् नाटकीय कर्मकाण्डहरू सबै स्वार्थै–स्वार्थद्वारा निर्देशित हुन्छ । यसरी निजी स्वार्थ हावी भएको समाजमा पद्दति र विधिको अभ्यास न्यून हुन्छ । विचार त धेरै परको विषय हुन्छ । योसँगै बरालिएको, बहकिएको र भड्किएको जनाधार रहेसम्म वा उनीहरू राजनैतिक रूपमा सचेत नभएसम्म उत्तेजनात्मक गालीको स्वाद वरिपरि राजनीति घुमिरहने देखिन्छ ।
निष्कर्षः
तसर्थ अरूको कमजोरी देखाएर आफू उही र उस्तै प्रक्रियामार्पmत् भौतिक सत्ता, शक्ति र स्वार्थमा रुमल्लिने चरम् स्वार्थ र चरम् महŒवाकाङ्क्षा हुन्छ । अहिलेको हाम्रो राजनैतिक प्रणालीको कक्ष वरिपरि नै घुम्ने हो भने नयाँ, स्वतन्त्र वा तेस्रो व्यक्तिले गर्ने पनि प्रक्रिया वा कर्मकाण्डहरू उही हो । यसमा कुनै शङ्का छैन । कर्मकाण्ड र विधि उही भएपछि व्यवहार र दिनचर्या उही हुन्छ । व्यावहारिक प्रक्रिया उही भएपछि परिणाम उही हुन्छ । यो सार्वभौम नियम हो । कसैले म बेग्लै गर्छु भन्न पायो । प्रतिबद्धता र कसम खान पायो । अरूभन्दा म नयाँ र इमान्दार छु भन्न पनि पायो । अब कायापलट गर्छु पनि भन्न पायो । आकाश पाताल सबै मेरै वशमा राख्छु पनि भन्न पायो । वाक्पटुकहरूले बजारे हल्ला वा स्टन्टबाजीमा बाजी मार्न पनि पायो । कतिपय यसैको दिग्भ्रममा परी पछिपछि दौडिन पनि पायो । नपाउने केही नै छैन । तर, लामो राजनैतिक जीवनको व्यावहारिक कार्यान्वयनको जटिल चरणमा पुग्दा सबैले बोलेजस्तो र भनेजस्तो गर्न नसकेको देखेकै हो । परिवर्तन गर्छु भन्नेहरू पनि प्रक्रिया र कर्मकाण्डमा फसेको जगजाहेरै छ । यसकारण बरु प्रणाली र प्रक्रियाको विकल्पमा बहस गरौँ । जसरी पनि चुनाव जित्नै पर्ने अनि बहुमत र अल्पमतको गणितीय खेल खेल्नैपर्ने सैद्धान्तिक र व्यावहारिक मनोदशाबाट उन्मुक्त बनौँ । त्यसपछि मात्र केही नयाँ सोच्न र गर्न सकिन्छ ।
होइन भने उही नयाँ जोगीले बढी खरानी धसेजस्तै अनि सुरुमा नयाँ बुहारीले बढी नै लजालु शीलस्वभाव देखाएजस्तै केही समय कसैलाई विभ्रम छर्न मात्र सक्छ । तर, उही प्रणालीद्वारा निर्देशित हाम्रो राष्ट्रिय राजनैतिक जीवन र व्यवहारमा गुणात्मक परिणामको अपेक्षा गर्नु वैचारिक दरिद्रता मात्र हुन्छ । त्यसैले कसैलाई गाली र आलोचना गरौँ, जुन आलोचनाले उसलाई रूपान्तरण गर्ने हैसियत राखोस् । हाम्रो समाजमा निरपेक्ष गालीमार्फत् निषेध गरेर आफू सत्ता र शक्तिमा पुग्ने निकृष्ट र निहीत स्वार्थी सोच राख्ने राजनैतिक संस्कृति बढिरहेको छ । यसरी नयाँले पुरानोलाई गाली गर्दै सत्तामा जाने हो भने भोलि कथित नयाँलाई पनि अर्को अल्लारे नयाँले गाली गरेरै सत्ता भोग गर्छ । तब सत्ता र शक्ति आलोपालोको अनन्त शृङ्खला चलिरहन्छ । यसले थुप्रै नयाँ अनुहारहरू त आउलान् । तर, हाम्रो समस्या भने जहाँको त्यहीँ रहिरहनेछ ।