विजयपुर । एकीकृत ६ घटक र लिम्बुवान राष्ट्रिय मोर्चाबीच कार्यगत मोर्चाबन्दी भएको छ । बुधबार ६ घटकसँग लिम्बुवानले मोर्चाबन्दी गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी, सङ्घीय लिम्बुवान पार्टी नेपाल, सङ्घीय खम्बुवान लोकतान्त्रिक पार्टी, लिम्बुवान राष्ट्रिय समिति, लोखपा, कोचिला सङ्घर्ष समिति र किरात लिम्बुवान प्रदेश नामाङ्कन अभियान घटकसँग लिम्बुवानले मोर्चाबन्दी गरेको हो । बुधबार धरानमा एक कार्यक्रमका बीच एकीकृत ६ घटकका संयोजक के.पी. पालुङ्वा र लिम्बुवान राष्ट्रिय मोर्चाका नेता अविचन्द्र इङ्नामले मोर्चाबन्दी पत्रमा हस्ताक्षर गरी आदान–प्रदान गरे । एकीकृत ६ घटक र लिम्बुवानबीच ५ बुँदामा सहमति भएको छ ।
नेपालको ऐतिहासिक जातीय पहिचान एवम् वि.सं. १८३१ को तत्कालीन नेपाल सरकार (गोर्खा) र लिम्बुवान (याक्थुङ लाजे) बीच भएको लालमोहर सन्धीको आधारमा आत्मनिर्णयको अधिकारसहितको अरुण सप्तकोशी पूर्वका भू–भागलाई समेटी लिम्बुवान (याक्थुङ लाजे) लगायतका स्वायत्त राज्य, स्वायत्त क्षेत्र, विपेश क्षेत्र, संरक्षित क्षेत्र एवम् गैर–भौगोलिक स्वायत्तता र स्वशासनसहितको सङ्घीय लोकतान्त्रिक बहुल राष्ट्र राज्य नेपाल स्थापना गर्न सहमति भएको छ ।
यस्तै राज्यको हरेक अङ्गहरूमा जातीय जनसङ्ख्याको आधारमा समानुपातिक प्रतिनिधित्व एवम् पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्ने, आन्दोलन र सङ्घर्षको माध्यमबाट नेपालको संविधान २०७२ पुनर्लेखन तथा संशोधन गर्न, बहुराष्ट्रिय विद्रोहमार्फत् नेपालको राष्ट्रियमुक्ति क्रान्ति सम्पन्न गर्न र लिम्बुवानसँग भएको ५ बुँदे सहमति, आइ.एल.ओ.१६९, युएनपीलगायतका आदिवासी अधिकारसम्बन्धी सन्धि–सम्झौताहरू कार्यान्वयन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।