विराटनगर । कोशी प्रदेशकीे स्वास्थ्य मन्त्री निर्मला लिम्बूले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी जसपाबाट मन्त्री भएकी लिम्बूले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेकी हुन् ।
जसपाको प्रदेश समितिको बैठकले वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोही बैठकले मन्त्री लिम्बूलाई सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो । पार्टीको निर्णयलाई आफूले मान्ने भन्दै उनले राजीनामा दिइन् । पहिचानको मागप्रति सरकारलाई गम्भीर भई वार्ता र संवादमार्फत् समस्याको समाधान गर्न प्रस्ताव राख्दासमेत बेवास्ता भएको हुँदा नैतिकताको आधारमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिई यस प्रदेशको स्वास्थ्यमन्त्रीबाट समेत राजीनामा दिएको उनले बताइन् ।
लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा गत पुस २४ गते सहभागी भएकी थिइन् । केन्द्रमा सत्ता गठबन्धन दलमा रहेका दलहरू माओवादी र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्नेमा काङ्ग्रेसले जोड दिइरहेको थियो । जसपाको यो निर्णयसँगै कार्की नेतृत्वको सरकार सङ्कटमा पर्ने देखिएको छ । नामकरणपछिको आन्दोलनले पहिचानकै पक्षमा उभिँदै आएका दुई दल जसपा र माओवादीलाई छिटो सत्ता विमुख गराउने अवस्था प्रदेशमा सिर्जना हुँदै गएको छ । यही क्रममा जसपा सरकारबाट बाहिरिने ठाउँमा आइपुगेको छ भने माओवादी तीव्र नैतिक दबावमा परेको छ ।
फागुन १७ यता पहिचान पक्षधरहरू सडकमा पिटाइ र अश्रुग्यास खाइरहने जसपा भने सरकारमा बसिरहने अवस्थासमेत देखियो । मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकार पहिचान पक्षधरहरूलाई पेलेरै जाने मनस्थितिमा रहँदा जसपालाई आन्दोलनकारीबाट ठूलो दबाव आइरहेको थियो ।
एकातिर केन्द्रीय गठबन्धनमा आएको बदलाव अनि अर्कातिर पहिचान पक्षधरहरूले उठाएको आन्दोलनको दबावले अन्ततः प्रदेशसभामा एकमात्र सिट भएको जसपा सरकारबाट बाहिरिएको छ । ‘राष्ट्रपति निर्वाचनताका केन्द्रीय गठबन्धनमा बदलाव आएपछि ढिलोचाँडो हामी सरकारबाट बाहिरनुपर्ने अवस्था थियो’ जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले भने, ‘हाम्रै कार्यकर्ताहरू सडकमा कोशी नाम खारेजीका लागि लाठी खाइरहँदा हामीचाहिँ सरकारमा बसिरहनु उचित भएन । त्यसैले हामीले सरकारबाट बाहिरिने निर्णय लिएका छौं ।’
कोशी नामकरणपछि प्रदेशमा उठेको आन्दोलनमा एक जना पहिचानवादी आन्दोलनकारी पदम लिम्बूले ज्यान गुमाएर उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ । यसबीचमा सयौं घाइते भइसकेका छन् । विगतदेखि नै पहिचानको पक्षमा आवाज उठाउँदै आएका माओवादी र जसपा पहिचानवादी आन्दोलनले नैतिक अप्ठ्यारोमा थिए । माओवादी नेताहरूले पनि आन्दोलनले आफूहरूलाई असहज अवस्था भएको बताउँदै आएका छन् ।
पुस २४ मा कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो । जसपाले समर्थन फिर्ता लिएसँगै माओवादी केन्द्रसँग पनि जसपाले छलफल सुरु गरेको छ । माओवादीले पनि छिट्टै समर्थन फिर्ता लिने विश्वास जसपाको छ । फागुन १७ मा प्रदेशको नाम कोशी राखिँदा एकीकृत समाजवादीसँगै जसपा पनि विपक्षमा उभिएको थियो । तर, त्यसबेला कोशीको पक्षमा मतदान गरेको माओवादीले भने चैत तेस्रो साता उक्त निर्णय गलत भएको भन्दै आत्मालोचना गरेको थियो ।
कोशीमा एमाले ४०, माओवादी १३, राप्रपा ६ र जसपा १ सिटको सरकार थियो । केन्द्रीय गठबन्धन अनुसार माओवादीले पनि सरकार छाड्ने निर्णय लिए सरकार अल्पमतमा पर्नेछ । हाल केन्द्रीय गठबन्धनमा रहेका दलहरू काङ्ग्रेस २९ र एकीकृत समाजवादी ४ जना र त्यसमा जसपा र माओवादी थपिए बहुमत पुग्ने अवस्था छ । तर, माओवादीका १३ मध्ये १ जना सभामुख छन् ।
जसपाले प्रदेश सरकार छाड्ने निर्णय गरेर स्वास्थ्य मन्त्री सुब्बाले राजीनामा गरेपछि केन्द्रीय गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) नैतिक दबावमा परेको छ । केन्द्रमा अर्कै गठबन्धनमा रहेर सरकारको नेतृत्व गर्ने अवसर पाएको प्रतिनिधि सभाको तेस्रो दल माओवादी कोशीमा भने एमाले नेतृत्वको सरकारमा सामेल छ । प्रदेशका माओवादी नेताहरूले केन्द्रको निर्देशन कुरेर बसेको बताइरहेका छन् । तर, माओवादी केन्द्रले भने अहिलेसम्म कुनै निर्णय दिएको छैन ।