नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले भ्रष्टाचारविरुद्ध सशक्त अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।
विकास र समाजको लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडि बढाउन भ्रष्टाचार घातक रोगका रुपमा देखापरेको उल्लेख गर्दै पार्टी स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेलले भ्रष्ट मानसिकताविरुद्ध सबैतिर सङ्घर्ष गर्न जरुरी रहेको औँल्याए ।
“भ्रष्टाचारविरुद्ध एउटा सशक्त अभियान जरुरी छ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्धका कदम अगाडि बढाएको छ”, उपमहासचिव पोखरेलले भने, “अरु क्षेत्रमा देखा परेका भ्रष्टाचारविरुद्ध पनि पार्टी कार्यकर्ताले सशक्त अभियान चलाउन आवश्यक छ । भ्रष्ट मानसिकताविरुद्ध भित्र र बाहिर सबैतिर सशक्तरुपमा सङ्घर्ष गर्न जरुरी छ ।”
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको माध्यमिक तहको दुई दिने पार्टी स्कुल कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमहासचिव पोखरेलले प्रधानमन्त्री दाहालको भारत भ्रमणलाई सद्भावना भ्रमणको अर्थमा बुझ्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । प्रधानमन्त्रीको भ्रमणलाई धेरै हौसिने वा नकरात्मक ढङ्गले प्रस्तुत नगर्नसमेत उनले आग्रह गरे।