धरान । दैनिक ४० लाख लिटर पानीको आवश्यकता भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पानीको हाहाकार भएपछि विद्यार्थीहरू शुक्रबार आन्दोलित भएका छन् ।
बाल्टी, टाबेल, बोतल बोकेर आन्दोलन गरेको यो पहिलो चोटी भने होइन । हाल दिवङ्गत उपकुलपति प्रा.डा. राजकुमार (आरके) रौनियारको पालामा पनि पानीको हाहाकार भएपछि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित बनेका थिए । यो समस्या हरेक वर्षको सुख्खायामको चैत, वैशाख र जेठमा देखिँदै आएको आन्दोलित विद्यार्थीहरू नै बताउँछन् । तर, यसपटक विगत एक महिनादेखि खानेपानीको समस्या चरम् अवस्थामा पुगेपछि बाध्य भएर आन्दोलित बन्नु परेको विद्यार्थी कल्याण समाजका अध्यक्ष ओमशान्ति रजकले जानकारी दिए । समाजकै नेतृत्वमा विद्यार्थीहरू होस्टेलबाट उपकुलपतिको कार्यालय, पानी वितरणको जिम्मेवारी पाएको सिभिल इन्जिनियरिङ शाखासम्म पुगेर ध्यानाकर्षण गराएका थिए ।
बीपीमा एमबीबीएस, बिएस्सी नर्सिङ, बीडीएसलगायतमा करिब १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । करिब ३ सयको हाराहारीमा विद्यार्थीहरू भेला भई आन्दोलन गर्दै प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । पानी वितरणको जिम्मेवारी पाएको सिभिल इन्जिनियरिङका प्रमुख मदन साहले अबको दुई दिनमा समस्याको समाधान हुने दाबी गरे । उनले भने, ‘विगत एक महिनादेखिको समस्या त हैन, ५–६ दिनदेखि पानीको समस्या भएकै हो । अबको दुई दिनमा समस्या समाधान हुन्छ ।’ साहले थपे, ‘विद्यार्थीहरूलाई पनि पानीको समस्या भएको हो । अलिकति गाह्रो चाहिँ भएकै हो । तर, हामीले बाहिरबाट पानी किनेर पनि प्रयोग गरिहेका छौँ ।’
बीपीको आन्तरिक स्रोतबाट दैनिक ५ लाख लिटर पानी आपूर्ति हुँदै आएको थियो । उनका अनुसार हाल डेढदेखि २ लाख लिटर मात्रै प्रतिदिन पानी आपूर्ति हुँदै आएको छ । त्यस्तै शिवजट्टाबाट १५ लाख लिटर पानी आपूर्ति हुने गरेको थियो भने सुख्खा मौसम लागेयता ३ लाख लिटरमा झरेको उनले बताए । ‘पहिला सुख्खा मौसम लागे पनि पानी परेपछि समस्या चर्किदैनथ्यो । यस पटक पानी नपरेर शिवजट्टाबाट मुस्किलले ३ लाख लिटर मात्र आइरहेको छ’ उनले भने, ‘चारकोसे जङ्गल क्षेत्रको पानीको पम्पमा समस्या भएर पनि पानीको समस्या थप चर्किएको हो । पम्प बन्नेबित्तिकै समस्या समाधान हुन्छ ।’ विद्यार्थीहरू आन्दोलित भएपछि धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईसहित विद्यार्थी कल्याण समाज, कर्मचारी कल्याण समाज, चिकित्सक तथा दन्तचिकित्सा समाजका पदाधिकारी, प्रतिष्ठान प्रशासनका अधिकारीहरू बसेर समस्या समाधानका विषयमा छलफल गरिएको र वास्तविकता बताएको उनले जानकारी दिए ।
बीपी प्रतिष्ठानलाई खानेपानी व्यवस्थापन बोर्डले १८ लाख लिटर प्रतिदिन पानी वितरण गर्दै आएको छ । बीपीमा पानीको समस्या देखिएपछि पूर्व कर्मचारी तथा नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र गोले तामाङले महिनादिनदेखि खानेपानी अभाव भइरहेको गुनासाहरू आइरहेकाले अस्पतालको संवेदनशीलतालाई ध्यानमा राख्दै अविलम्ब खानेपानी आपूर्तिमा सहजता ल्याउन सम्बन्धित पक्षलाई सामाजिक सञ्जाल फेसबुकमार्फत् आग्रह गरेका थिए ।
एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी रमेश विकले लामो समयदेखि छात्रावासमा पानी नआएपछि आन्दोलनमा उत्रनु परेको बताए । उनले भने, ‘लामो समयदेखि होस्टलमा पानी आएको छैन । विद्यार्थीहरूले सरसफाइ गर्न पाएका छैनन् ।’ उनले पानी आउँदा पनि पिउनयोग्य पानी नआउने बताउँदै भने, ‘मेडिकल पढ्न आएको हाम्रै स्वास्थ्य बिग्रने खतरा भयो ।’ प्लाकार्डसहित नाराबाजी गर्दै विद्यार्थीहरूले प्रतिष्ठानका उपकुलपतिको कार्यालयसम्म प्रदर्शन गरेका थिए । प्रतिष्ठानको दन्त चिकित्सामा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रकाश ढकालले खानेपानीले विद्यार्थीहरू समस्यामा परेको बताए । उनले भने, ‘खानेपानी अभावका विषयमा पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गराउँदा पनि समाधान नगरेपछि आन्दोलित भएका हौँ ।’ उनले प्रशासनलाई ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गरेको बताए ।