सप्तकोशीबाट धरान खानेपानी ल्याउने परियोजनाका लागि धरानका नगर प्रमुख हर्कराज राईले बराहक्षेत्र नगरपालिकालाई पत्राचार गरेका छन् । 

धरान खानेपानी व्यवस्थापन बोर्डमार्फत् बोर्डका अध्यक्षका रुपमा नगरपालिका र बराहक्षेत्र १ नम्बर वडालाई नगर  प्रमुख राईले पत्राचार गरेका हुन् । पत्राचारमा खानेपानीको प्रशोधन केन्द्र तथा रिजर्भायर टंकी निर्माण गर्नुपर्ने भएकाले जग्गा प्राप्तिका लागि सहयोग गरिदिन आग्रह गरिएको छ । पत्रमा संघीय सरकारको सहयोगमा सप्तकोशीबाट धरानमा खानेपानी ल्याउन विस्तृत आयोजना प्रतिवेदनको लागि अध्ययन तथा सर्भेक्षण भइरहेको व्योहोरा उल्लेख छ । 

‘१ नं. वडा स्थित मौरीघार भन्ने स्थानमा खानेपानीको प्रशोधन केन्द्र तथा रिजर्भायर टंकी निर्माण गर्न उपयुक्त हुने भनी आयोजनाका प्राविधिकहरुबाट राय–सुझाव आएको हुदाँ राय– सुझावबमोजिम उक्त संरचना निर्माण गर्न आवश्यक पर्ने जति जग्गा प्राप्तिको लागि सो स्थानमा पर्ने जग्गाधनीहरू लगायत सरोकारवालाहरु सबैसँग आवश्यक छलफल एवम् समन्वय गर्न तँहाबाट आवश्यक सहयोग गरिदिन हार्दिक अनुरोध छ ।’ पत्रमा भनिएको छ । 

खानेपानीको चरम समस्या भोगिरहेका धरानवासीहरुलाई दीर्घकालीन रुपमा खानेपानी खुवाउनका लागि संघीय सरकारले सहयोग गरेको नगर प्रमुख तथा बोर्डका अध्यक्ष राईको भनाइ छ । 

पत्रअनुसार सुनसरी निर्वाचन क्षेत्र नं. १ ‘क’ र ‘ख’, खानेपानी मन्त्रालय सिंहदरवार, खानेपानी तथा ढल व्यवस्थापन विभाग, एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना काठमाडौं र १ नं. वडा कार्यालय वराहक्षेत्र नगरपालिकालाई बोधार्थ दिइएको छ । 

गत जेठ ११ गते पठाइएको पत्रमाथि वराहक्षेत्र नगरपालिकाले कारवाही अगाडि बढाउन सकेको छैन । धरान उपमहानगरपालिकासँग भएका अघिल्ला सम्झौता कार्यान्वयन नगरेकाले हाल कुनै पनि सहमति दिन नसकिने वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की बताउँछन् । 

‘खानेपानीका लागि हामी ‘पोजिटिभ’ तर अगाडिको सहमति कार्यान्वयन नभएकाले हामी कुनै पनि सहमति दिँदैनौं भनेर भन्दिएका छौं,’ वराहक्षेत्र नगर प्रमुख कार्कीले भने, ‘हामीले राखेका कुराहरु कुनै पनि सम्बोधन नभएको, ती विषयको यथेष्ट सम्बोधन भइसकेपछि हामी कार्यापालिका बैठक बसेर निर्णय गर्छौं ।’

यस अघि धरानको कोका खानेपानी योजना चालु रहेका बेला सीमा विवाद र असहमतिका कारण समस्या उत्पन्न भएपछि जिल्ला समन्वय समितिका प्रमुख राजन मेहेता, जिल्ला प्रशासन कार्यालयलगायतको उपस्थितिमा धरान र वराहक्षेत्रबीच मौखिक सहमति भएको थियो । 

मौखिक सहमतिलाई संस्थागत कार्यान्वयन गर्ने समेत सहमति भएको अवस्थामा धरानले सहमतिका बुँदाहरु कार्यान्वयन नगरेको वराहक्षेत्रको भनाइ छ । 

वराहक्षेत्रका नगर प्रमुख रमेश कार्कीले वराहक्षेत्रबाट पानी लाने हो भने, धरान उपमहानगरको खानेपानी व्यवस्थापनका लागि गरिएको संस्थागत निर्णय, धरान खानेपानी बोर्डको संस्थागत निर्णय, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन र धरानलाई सशुल्क पानी वितरण गर्न लागिएको हो भने वराहक्षेत्रलाई निश्चित कर दिनु पर्ने ग्यारेन्टीसहितको लिखित सहमति गरिनुपर्ने माग गरेका थिए ।  

धरानका नगर प्रमुख हर्कराज राईले वराहक्षेत्रका सबै माग लिखित रुपमै पूरा हुने बताएका थिए । साथै सहमति नगरी हाल चालु अवस्थामा रहेको कोका खानेपानी योजनाको काम वराहक्षेत्रमा नगर्नेसमेत मौखिक सहमति भएको थियो । मौखिक सहमतिका वावजुद धरान उपमहानगरपालिकाले कुनै पनि सहमति कार्यान्वयन नगरी पुनः जग्गा प्राप्तिका लागि पत्राचार गरेको बराहक्षेत्र नगर प्रमुख कार्कीले बताए ।