सवाल्टर्न पात्रका कथा प्रशस्त लेखिएका छन् । सवाल्टर्न पात्रलाई सम्झिँदा रमेश विकलको नाम पनि अग्रपङ्क्तिमा आउँछ । उनको ‘अविरल बग्दछ इन्द्रावती’ मा सवाल्टर्न पात्रको प्रयोग मात्रै गरिएको छैन, त्यस्ता पात्रको सामाजिक, मनोवैज्ञानिक, राजनीतिक मनोवृत्तिलाई पनि मजासँगले केलाइएको छ । 

यस्ता पात्रहरु समाजमा यत्रतत्र छन् । सवाल्टर्न जसलाई किनारीकृत पात्र भनेर हामी चिन्दछौँ, जान्दछौँ । त्यस्ता पात्रहरु सधैँ दयनीय जीवन बाँच्छन् । यस्ता पात्रलाई टपक्कै टिपेर लेखिएको उपन्यास ‘साथ’ मेरो हातमा केही समयअघि उपन्यासकारले समीक्षाका निम्ति दिनुभएको थियो । उपन्यासकार सरण राईको यस उपन्यासका मुख्य पात्र सवाल्टर्न छन् । सवाल्टर्न  पात्रका बारेमा उपन्यास, कथा, कविता तथा अन्य विधाका कृतिहरु नभएका होइनन् । तर, समाजका त्यस्ता परिधीय पात्र, पिँधका पात्रहरु देशको शक्तिशाली पदमा आसिन भएको चाहिँ कमै मात्र पाइन्छ । 

उपन्यासकार राईले समाजका त्यस्ता परिधीय पात्रलाई उठाई देशको सम्पन्न पदमा पुर्याई एउटा ‘क्लाइमेक्स’ निर्माण गरेका छन् । यो एक प्रकारले भन्ने हो भने प्रयोगधर्मी उपन्यास पनि हो । जसरी लोकतन्त्रमा जनताका छोराछोरी मुख्य पदमा पुग्छन् । त्यसरी नै  उपन्यासकारले एउटा प्रयोग गर्न रूचाएका छन् । राईका उपन्यासमा यस्ता पात्रहरु यसअघि पनि नपाइएको होइन । उनको ‘मानव संसार’ त्यसको गतिलो उदाहरण हो । तर, ‘मानव संसार’ र ‘साथ’ उपन्यासमा पात्रका चरित्र फरक–फरक छन् । लेखकीय शैलीहरु पनि फरक छन् । तर, अन्तर्वस्तु भने झण्डै मिल्दोजुल्दो छ । साथका पिँध पात्र ‘बखते’ समय र परिस्थितिअनुसार नामहरु फेरिएका छन् । देवाधिपति, मापुरूष, बिख्यातमान बनेको बखतेले समाजको सिङ्गो मनोदशालाई केलाएको छ । अझ भनौं यो देशको राजनीतिक, सामाजिक अवस्थालाई नजिकबाट नियाल्न मद्दत गरेको छ । 

समाजमा बखतेजस्ता अनगिन्ती पात्रहरु छन् । जो विभिन्न कारणले समाजमा पछि परेका छन् । बखतेको जीवनको मनोदशा बुझ्नका लागि ‘साथ’ उपन्यास पढ्नुपर्ने हुन्छ । त्यो मनोदशा वर्तमान समाजको मनोदशा हो । एउटा गरिब तथा विपन्न परिवारका बालकले भविष्यमा के बन्ने भन्ने उद्देश्य राख्ला ? यस्ता पात्रहरुको जीवनका पैøयाहरु चल्दै जाँदा जसरी गुड्छन्, त्यसरी नै अगाडि बढिरहेको हुन्छ । पढ्नुपर्छ भन्ने ज्ञान नभई पढ्नका लागि अर्काको घरमा आई काम गर्दै पढ्न खोज्ने बखतेका लागि जीवन सङ्घर्षपूर्ण छ । जुन सङ्घर्ष ऊ आएको एक वर्षभित्रैबाट सुरू भएको छ ।  

उसका आमाबुबासहित भाइबहिनीलाई बाढीले निलेको छ । त्यो खोलाप्रति ऊ सधैँ नकारात्मक छ । खोलाले जसरी परिवार, आफन्तलाई निल्यो, उसरी नै ऊ पनि घरिघरि निलिन चाहन्छ । तर, ठूल्दिदी बाधक बन्छिन् । उसलाई बाँच्ने प्रेरणा दिने काम गर्ने घरकी ठुल्दिदीले भरेकी छन् । एउटा बालसुलभ मनमा आत्महत्या गर्ने सोच कसरी आउँछ भनेर उपन्यासकारले सुन्दर ढङ्गले कथालाई बुनोट गरेका छन् । जन्मिदा आमाबुबाको साथ पाएको बखतेले आमाबुबाको मृत्युसँगै ठुल्दिदीको साथ पाउँछ । यसरी एकबाट अर्कोको साथ पाउँदै ऊ सहरसम्म पुगेको छ । जहाँ उसले सवाल्टर्न पात्रको परिचय मात्रै फेरेको छैन, देश बनाउनका लागि राजनीतिमा प्रवेश गरी मन्त्रीसम्म भएको छ । 

एकपछि अर्कोको साथले नै भूइँपात्र बखते बिख्यातमान हुन पुगेको छ । देशको मन्त्री बन्न पुगेको छ । मन्त्री बन्नुअघि गरेका सङ्घर्षका कथाहरु झनै पीडादायी छन् । जसरी मानवको जीवनमा अनेकन मोडहरु आउँछन्, जान्छन् । त्यसरी नै बखतेको जीवनमा पनि अनेकन मोडहरु आइपुगेका छन् । त्यो मोडमा पु¥याउनका लागि उपन्यासकारले पनि ठूलै सङ्घर्ष गरेका छन् । एकपछि अर्को पानाहरु पल्टाउँदै जाँदा कहीँकतै उपन्यासकारकै वास्तविक कथा त हैन भन्ने पनि महसुस गराउँछ । तर, केही यस्ता दृश्य र कथाहरु बुनिएका छन् । जसले उपन्यासकारको कल्पनाशीलताको सिउनीलाई उजागर गर्दछ । सामान्य जीवनबाट अलौकिक जीवनमा प्रवेश गरेका कथाहरु एकपछि अर्को गरी आउँछन् । 

उपन्यासकारको स्वैरकल्पनाले उपन्यासलाई अर्को प्रयोग गराउन खोजेको छ । जसरी ध्रुवचन्द्र गौतमको अग्निदत्त जोड अग्निदत्तमा पात्रलाई एउटा अवस्थाबाट अर्को अवस्थामा पु¥याइएको छ । त्यसरी नै उपान्यासकार राईले पात्रमार्फत् यसको प्रयोग गरेका छन् । त्यसकारण पनि यो प्रयोगधर्मी उपन्यास हो । सङ्घर्षका दौरान ठुल्दिदीले जब घर छाड्ने कुरा गर्छिन्, तब बखतेले पनि काम गर्दै पढ्नका लागि आएको घर परित्याग गर्छ । परित्याग गरेर हिँड्ने क्रममा घनघोर जङ्गलमा प्रवेश गर्दछ । जहाँ लौकिक संसारभन्दा पनि अलौकिक संसार छ । अनकन्टार स्थानमा महागुरूले योग, ध्यान र समाधि सिकाएको प्रसङ्ग छ । जहाँ समाधिको नाममा महागुरूका शिष्यहरुबाट उनी यति प्रताडित भएका छन् कि त्यो लौकिक संसारमा सम्भव छैन । समाधि त्यो चरम् अवस्था हो, जहाँ पुगेपछि मानिसले निर्वाण प्राप्त गर्दछ । तर, यहाँ चाहिँ समाधिका नाममा शिष्यहरुबाट मूच्र्छित हुने गरी कुटपिट गरिएको छ । त्यसलाई समाधि भनी परिभाषित गरिएको छ । त्यो अलौकिक संसारबाट भाग्नका लागि बखतेलाई भगवतीले साथ दिएकी छन् । 

भगवती जसलाई महागुरूले बखतेका निम्ति ‘अर्धाङ्गिनी’ को रुपमा ल्याएका छन् । निर्वस्त्र भई आलिङ्गनमा बाँधिनु पर्ने महागुरूबाट हुकुम भएको छ । उनीहरुबाट जन्मिएको सन्तान चाहिँ लोकमा सबैभन्दा महान् बन्ने महागुरूको भनाइ छ । यस्ता लौकिक तथा अलौकिक संसारबाट बखते नौलो बस्ती हुँदै सहर आइपुगेको छ । जहाँ उसले चिनेका कोही हुँदैनन् । सडक मानव (उपन्यासमा प्रयोग गरिएको भाषा खाते)हरूसँग उसको हिमचिम हुन पुग्दछ । किनकि बाँच्ने सहाराको खोजीमा त्यो पनि उसका लागि ग्राह्य छ । जहाँ उनलाई जुनेलीले साथ दिएकी छन् । उनैले एउटा होटलमा काम गर्ने कामदारको रुपमा पु¥याएको बेला मास्टर (सुवर्ण)सँगको भेटले जीवन नयाँ मोडमा आइपुग्छ । 

मास्टरकै सङ्गतले उनले एस.एल.सी. हुँदै एम.ए. पनि उत्तीर्ण गर्छन् । त्यही क्रममा रुपसी नाम गरेकी केटीसँग उनको प्रेम र पछि बिहे हुन पुग्छ । उनीहरु मिलेर स्कुल चलाउँछन् । अन्ततः उनलाई कुनै एउटा ठूलो दलले पार्टीमा आउन आग्रह गरेपछि उनी राजनीतिमा होमिन्छन् । राजनीतिलाई सङ्ल्याउने प्रण अनेकन कारण पूरा हुँदैन । उनको चाहना यस्तो हुन्छ–‘असल राजनीतिले फोहोरी राजनीतिलाई विस्थापन गरेर धर्ती सुन्दर, रमणीय र जीवन सहज बनाउन सकिन्छ ।’ फेरिएको राजनीति हेर्ने चाहना बिख्यातमानको मात्रै हुँदैन, उपान्यासकारको पनि हुन्छ । 

नेपालको राजनीति भ्रष्ट, विकृत भएकोप्रति उपन्यासकारले रोष व्यक्त गर्छन् । उल्टो राजनीतिलाई उनी सुल्टाउने चाहना राख्छन् । देशको वर्तमान राजनीतिप्रति उपन्यासकार आक्रोसित छन् । वितृष्णा छ तर, पनि राजनीतिले मात्रै देश परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता राखेका छन् । त्यसबारे बिख्यातमानमार्फत् यसरी प्रस्तुत गरेका छन्–‘समाजमा बसेपछि राजनीतिमा भाग नलिने हो भने आफूभन्दा कम योग्य मानिसबाट शासित हुनुपर्छ भनेर प्लेटोले भनेका थिए ।’ वर्तमान नेपाली राजनीति कहाँबाट परिचालित छ भनेर पनि उपन्यासकारले भन्न भ्याएका छन् । बिख्यातमान मन्त्री भएपछि उनले बुझेको राजनीतिलाई यसरी उदाङ्गो पारिएको छ–‘मन्त्री भएर पनि आफूले चाहेको केही गर्न नसकिँदो रहेछ । प्रशासनिक संयन्त्रको जालो, विदेशी प्रभुहरुको साङ्लोले बाँधिएको राजनीति । सार्वभौमसत्ता पनि अरुकै इसारामा ।’

वर्तमान नेपाली राजनीतिको परिदृश्यलाई पनि चियाउन सकिन्छ ‘साथ’ मार्फत् । ‘साथ’ उपन्यासले राजनीतिलाई मात्रै हैन, कोरोना महामारीको २ वर्षे बन्दाबन्दीको समयमा मानिसहरुको मृत्यु, विश्व आक्रान्त बनेको अवस्था र व्याप्त भ्रष्टाचारको जालोलाई उजिल्याएको छ । उपन्यासकार आफू पनि सङ्लो बनाउने राजनीतिमा प्रवेश गर्न चाहन्छन् । बिख्यातमान बन्न चाहन्छन् । उपन्यासमार्फत् सचेत नागरिकहरुलाई सङ्गठित गर्न चाहन्छन् । 

साथ उपन्यासको कथानकमा एकपछि अर्को मोड आउँदै कथा वियोगान्तमा टुङ्गिएको छ । बिख्यातमानको श्रीमती रुपसीको पनि मृत्युपश्चात् एक्लो र निरस जीवन बाँचिरहेका उनको पनि मृत्यु भएको छ । आखिर उपन्यासकार वियोगान्त उपान्यास किन लेख्न चाहन्छन् ? यसअघिको ‘मानव संसार’ उपन्यासमा पनि मानव पात्रको मृत्यु भएको देखाइएको छ । के यो संयोग मात्रै हो ? 

मानव संसारमा पनि राजनीतिको कुरा छ भने यसमा पनि । यस उपन्यासमा थपिएको सन्दर्भ चाहिँ उनको वास्तविक जीवनसँग मेल खाने किसिमको छ । पत्नीको मृत्युपश्चात् निरस जीवन बाँचिरहेका उपन्यासकार बिख्यातमान बन्न खोजेका छन् । आफूलाई सजिलैसँग समाधिमा पु¥याउन चाहन्छन् । तर, वास्तविक जीवनको लीला र कल्पनामिश्रित उपन्यासमा आएका पात्रको लीलामा फरक छ । 

उपन्यासकारले हाम्रो जनजीवनमा भिजेका शब्द, आहान, अनुकरणात्मक शब्द, झर्रा शब्दहरुको साथै बिम्ब र प्रतीकहरुको प्रयोग सुन्दर ढङ्गले गरेका छन् । त्यस्ता शब्दको प्रयोगले उपन्यासलाई थप गहकिलो बनाएको छ । 

‘विष नभएको साँप र इख नभएको मान्छे काम लाग्दैन (पृ.३२)’

‘नमरी बाँचे दैवले साँचे, म ताक्छु मुढा, बञ्चरो ताक्छ घुँडा (पृ.५४)’

कथानकका क्रममा आएका यस्ता उखानहरुले औपन्यासिक कृतिलाई थप सुन्दर बनाएको छ । भाषिक सुन्दरता थपेको छ । त्यस्तै अनुकरणात्मक शब्दको प्रयोग पनि भरपूर गरेका छन् । 

‘बिख्यात, निर्दयी तिमी । कसरी यस्तो भन्न सक्यौ ? रुपसी घ्याक्कघ्याक्क रोई (पृ.५८) । 

उपन्यासकारले उपन्यासलाई तीन खण्डमा विभाजित गरेका छन् । पहिलो अध्यायमा ‘आमा, ठूल्दिदी, किनारैकिनार, रहस्यमयी आश्रम र नौलो बस्ती’ का कथा अटाएका छन् । त्यस्तै दोस्रो अध्यायमा ‘सहरी रमझम, दाम्पत्य सुख, चुनाव, कोभिड–१९, अनुभव र अनुभूति मन र तन, जीवनका चरणहरु’ छन् । त्यस्तै तेस्रो अध्यायमा ‘दलबल, अवसान, सुल्टो सही बाटो, सोच, साथ र नवयुगको उदय र उपसंहार’ गरी १ सय ८ पृष्ठमा उपन्यासलाई अटाएका छन् । लघु आकारको कृतिको सुन्दर पक्ष भनेकै एक बसाइमा पढ्न सकिनु हो । 

करिब तीन घण्टाको बसाइमा पढ्न सकिने उपन्यास भए पनि पाठकलाई कहीँ कहीँ चाहिँ कथाको पाठक तान्ने सामथ्र्य छैन । त्यस्तै पाठकका मनमा अनेकन प्रश्नहरु उब्जिन्छन् । उपन्यासका हरेक खण्डका कथाहरु सुरू गर्नुभन्दा अगाडि कवितात्मक शैलीमा बुझाउने प्रयत्न पनि गरिएको छ । यो चाहिँ उपन्यासकारको खुबी हो । तर, यति हुँदाहुँदै पनि भाषा सम्पादनको क्रममा केही त्रुटिहरु पनि भएका छन् । जस्तैः 

जत्रै आपत्विपत परेपनि बाँच्नुपर्छ (पृ. २३) । 

काँडाकाँडाले जेलिएका अप्ठ्यारा झाडी–जङ्गलबाटपनि गुज्रन्छ (पृ. २५) । 

यहाँ वाक्यगत त्रुटिभन्दा पनि भाषा सम्पादनको क्रममा सम्पादकले गरेको त्रुटि छ । पहिलो वाक्यमा ‘परेपनि’ एउटै डिकोमा लेखिएको छ । जबकि यहाँ पनि संयोजकका रुपमा आएको छ । नेपाली व्याकरणमा अव्यय पदमध्ये नामयोगीलाई मात्रै एउटै डिकोमा लेख्ने चलन छ । ‘पनि’ कहिले संयोजकका रुपमा त कहिले निपातका रुपमा आउँछ । संयोजक र निपात दुवै एउटै डिकोमा लेखिँदैनन् । माथिको वाक्यमा पनि संयोजक र दोस्रो वाक्यमा पनि निपातको रुपमा आएको छ । दोस्रो वाक्यमा द्वित्व शब्द काँडाकाँडा आएको छ । यसलाई सम्पादकले पूर्ण द्वित्वको रुपमा प्रयोग गर्न खोजेका हुन् कि आपरिवर्तित द्वित्वका रुपमा प्रयोग गर्न खोजेका हुन्, स्पष्ट छैन । पूर्ण द्वित्व भएको अवस्थामा व्याकरणविद्हरुले छुट्याएर लेख्नुपर्छ भनी निर्देश गरेको देखिन्छ । अर्को आपरिवर्तित हो भने काँडैकाँडा हुनुपर्ने थियो ।

योबाहेक वाक्यगत त्रुटि पनि भेटिन्छन् । उदाहरणका लागिः 

गुरुको आदेशले हो कि उनीहरूबीच मायापिरती बस्न थाल्यो रे भन्ने सुनेर महागुरु खुसी हुन थालेको थियो (पृ. ३५) ।  

अचेत–बेहोस हुने मात्र नभएर पूरा मर्न सक्ने अभ्यासमा ती दुईलाई महागुरुले निर्लिप्त बनाइरहेको थियो (पृ. ३६) । 

यी दुई वाक्यमा कर्ताअनुसारको क्रियापदको सङ्गति मिलेको देखिँदैन । कथ्यका रुपमा भन्न सकिएला । तर, कर्ता मध्यम् आदरार्थी प्रयोग भएको अवस्थामा क्रियापद पनि मध्यम् आदरार्थी प्रयोग गरिनुपथ्र्यो । त्यसो हुन सकेको छैन । 

यसबाहेक उपन्यासकारले क्रियाव्यापार गराउनका लागि अत्यन्तै थोरै पात्रको प्रयोग गरेका छन् । कथानक अगाडि बढाउनका लागि जे जति पात्र आएका छन् । अधिकांश पात्र सूच्य पात्रका रुपमा छन् । सहायक पात्रका रुपमा छन् । बखतेलाई साथ दिनेहरु पनि परिधीय पात्रका रुपमा कथानकलाई अगाडि बढाउनका लागि मात्रै उपस्थित छन् । मुख्य पात्रका रुपमा बखते मात्रै छ । उसकै जीवन वरिपरि कथा घुमेको छ । उसँग जीवनको अन्तरालमा ठोक्किन आइपुगेका पात्रहरु बढी छन् । यसकारण पात्र प्रयोगका हिसाबले उपन्यासकार चुकेका छन् । यो उपन्यास निश्चित लक्ष्य प्राप्तिका लागि मात्रै लेखिएको हो कि भन्ने आभास गराउँछ । यस्तै उपन्यासमा प्रयोग भएको कालखण्ड स्पष्ट छैन । कोभिड–१९ पश्चात् भन्ने खण्ड मात्रै स्पष्ट छ । अन्य कालखण्ड र परिवेश पनि स्पष्ट छैन । तर, पचासको दशकबाट ७० को दशकसम्म परिवेश बनाएर लेखिएको उपन्यास हो कि भनेर अनुमान गर्न भने सकिन्छ । 

यसबाहेक उपन्यासकारको कथा भन्ने शैली चाहिँ उत्कृष्ट छ । कथामा प्रवेश गरिरहँदा पाठक पनि मुख्य पात्रसँगै हिँड्दै जान्छ । रहस्यमयी आश्रमको उपखण्डमा आइपुग्दा के भइरहेको छ भनेर पाठकहरु नै अलमलिन्छन् । जसरी बखते अलमलिएको छ । जहाँ उपन्यासकारले स्वैरकल्पना प्रयोग गर्दै मिथकीय पात्र बनाउने प्रयास गरेका छन् । उपन्यासकारले पूर्वीय दर्शनको मान्यतालाई पनि स्थापित गर्न खोजेका छन् । वेदान्त दर्शनको जीवन र जगत्लाई हेर्ने जुन दृष्टिकोण छ, त्यो दृष्टिकोणलाई तन र मनबीच वार्तालाप गराई उपन्यासकारले नयाँ दर्शनको मान्यता स्थापित गर्न खोजेका छन् ।

तीसको दशकदेखि नै नेपाली साहित्याकाशमा प्रवेश गरेका उपन्यासकार राईको यो हालसम्म प्राप्त औपन्यासिक कृतिमध्येको पछिल्लो कृति हो । काठमाडौँस्थित पाँचपोखरी प्रकाशन गृहले २०७९ सालमा प्रकाशन गरेको हो । कथा, उपन्यास, कविता, लघुकथाजस्ता विधामा कलम चलाउने उनको इन्टरनेटमा पनि उपन्यास सार्वजनिक भएको छ । लामो समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा प्राध्यापन गरी अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका उपन्यासकार राईको थप कृति पढ्न पाइयोस्, शुभकामना ।