धनकुटा । जनता समाजवादी पार्टी, नेपाल ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीति जसपाकै वरिपरि घुमिरहेको दाबी गरेका छन्।  

शनिबार जसपा प्रदेश नम्बर १ समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । सङ्घीयता, पहिचान, धर्म निरपेक्षता, समाजवाद, समावेशिता, सुशासन यिनै विषय आज नेपालको राजनीतिको केन्द्रमा रहेको बताउँदै, यादवले भने – ‘यी हामीले नै उठाएका विषय हुन । त्यसैले राजनीति हाम्रै वरिपरि छ । चिन्ता गरिरहनु पर्ने आवश्यक छैन ।’ 

राजनीतिक भेटघाटको क्रममा प्रदेश १ का विभिन्न तहका पार्टी समितिका पदाधिकारी एवं सदस्यहरूसँग छलफल र अन्तरक्रियामा सहभागी भएका यादवले जसपालाई विधि र प्रक्रियामा चलाउन विधान अधिवेशन गर्न लागिएको दाबी गरे ।  

उनले भने– ‘अबको ४ वर्षपछि पार्टीलाई बलियो स्थितिमा पुर्‍याउन सुदृढ पार्टी सङ्गठन आवश्यक छ । त्यसका निम्ति स्पष्ट विधान बनाएर अगाडि बढ्नु पर्छ ।’ जसपाले आगामी असार १०, ११ र १२ गते काठमाडौँमा विधान अधिवेशन आह्वान गरेको छ । जसपा प्रदेश कार्यालय इटहरीमा आयोजित कार्यक्रममा प्रदेश अध्यक्ष दीपक याक्खाको अध्यक्षता र मुख्य सचिव घनश्याम कटवालले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेका थिए । 

अन्तरक्रिया कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् प्रदेश १ सह–इन्चार्ज निर्मला लिम्बू, राजनीतिक समिति सदस्यहरू जयराम यादव र सञ्जय सिंह राजपूतले बोलेका थिए । 

कार्यक्रममा केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, जिल्ला तथा पालिका तहका नेता कार्यकर्ताहरूले पार्टी अध्यक्ष यादवलाई विभिन्न जिज्ञासा राखेका थिए । कार्यक्रमका बिच बारा २ मा भएको उपनिर्वाचनबाट विजयी यादवलाई जसपा प्रदेश १ समितिका तर्फबाट सम्मान गरिएको थियो ।