धनकुटा । अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौं सम्मेलन शनिबारदेखि थाइल्याण्डमा सुरु भएको छ ।
संसारभरका पर्यटक लोभ्याउने दक्षिण एशियाको पर्यटकीय देश थाइल्याण्डको राजधानी बैङ्ककस्थित हाउहिन ग्राण्ड प्लाजामा सम्मेलन सुरु भएको हो । पाँचौं अन्तर्राष्ट्रिय तामाङ परिषद्का संस्थापक अध्यक्ष परशुराम तामाङले विशेष समारोहकाबीच समुद्घाटन गरेका हुन् । सम्मेलनमा, नेपाल, थाइल्याण्ड, जापान, म्यान्मार, भारत, अमेरिका, कोरिया, हङ्कङ, बहारिन, पोर्चुगल, युएइ, रोमानियालगायत विश्वभरका विभिन्न देशमा छरिएर रहेका १८ देशका ६ सयभन्दा बढी तामाङहरू प्रतिनिधि पर्यवेक्षकको रूपमा सहभागी भएको नेपाल तामाङ घेदुङका सङ्घीय समिति सदस्य विष्णु मोक्तान तामाङले थाइल्याण्डबाट जानकारी दिए ।
उद्घाटन समारोहमा तामाङ जातिको मौलिक, सांस्कृतिक परम्परामा आधारित तम्बाहरूले डम्फू बजाएर, बोन्बोहरूले ढ्याङ्ग्रो बजाएर साङसेर्गेम गरेका थिए । त्यसैगरी बौद्ध धर्मका लामा गुरुहरूले अष्टमङ्गल शान्तिपाठ (टाशीग्यापा) समेत गरेका छन् । सम्मेलनमा मानवशास्त्री डा.मुक्तसिंह लामा, कानूनविद् डा.कुन्साङ योञ्जन तामाङ, जापानको लागि पूर्व राजदूत डा.गणेश योञ्जन तामाङलगायत अतिथिहरूको उपस्थिति रहेको छ । ‘जाम्बुलिङ खोरला जोम्ना ङ्हा, तामाङ रिमठिम तेम्बा ङा’ भन्ने मूल नाराको साथ आयोजना गरिएको दुई दिने अन्तर्राष्ट्रिय तामाङ सम्मेलनलाई तामाङ गीत, सङ्गीतमय र मनोरञ्जनमय बनाउनको लागि नेपालबाट तामाङ कलाकार सङ्घका अध्यक्ष, सङ्गीतकार एवम् गायक विश्व दोङ तामाङ, तामाङ सांस्कृतिक घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामा, तम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तान तामाङ, मीना लामालगायत तामाङ राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।
संसारभरका तामाङ प्रतिनिधिहरूले अघिल्लो कार्यकालको समीक्षा गर्नुको साथै आगामी ५ वर्षको लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्को भावी कार्यदिशासहित नयाँ नेतृत्व चयन गरिने नेपाल तामाङ घेदुङ सङ्घीय समिति सदस्य विष्णु मोक्तान तामाङले थाइल्याण्डबाट जानकारी दिएका छन् ।