धरान । बिक्री आदेश नदिएको काठ उपभोक्तालाई बिक्री गरेको आरोपमा झापाको एक सामुदायिक वनका तीन जना पदाधिकारी पक्राउ परेका छन् ।
झापा शिवसताक्षी नगरपालिका–१० स्थित गैँडे सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित काठ पनि नियन्त्रणमा लिइएको छ । जिल्ला वन कार्यालय इलामबाट बिक्रीका लागि आदेश लिनुपर्ने भए पनि आदेश नै नआई बिक्री गरेको आरोपमा सव–डिभिजन कार्यालय चुलाचुली इलामको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उपाध्यक्ष राम लावती, सचिव कुमारी फागो योङ्या र कोषाध्यक्ष रविन न्यौपाने छन् ।
कार्यालयबाट खटिएको टोलीले को.१ च ७५०५ नम्बरको बोलेरो जिपसहित २६ दशमलव ६२ क्युविक फिट चिरान काठ पनि बरामद गरेको सव–डिभिजन वन कार्यालय चुलाचुलीका प्रमुख अधिकृत सत्यराम प्रजापतीले जानकारी दिए । उनका अनुसार वन कार्यालयबाट छपान, कटान आदेश दिनुपर्ने, चिरान आदेश दिनुपर्नेलगायतको प्रावधान भए पनि ती सबै प्रक्रिया पूरा नगरेको पाइएपछि पक्राउ गरिएको हो ।
वन समूहका पदाधिकारीले उक्त कुनै पनि कार्य नगरी अवैधानिक तवरबाट बिक्री गरेको पाइएपछि काठसहित पदाधिकारीलाई पनि नियन्त्रणमा लिएको हो । यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । यता समूहका अध्यक्ष नरबहादुर थपलिया पश्चिम नेपालको भ्रमणमा रहेकाले उनी आएपछि नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइने उनले जानकारी दिए ।