समाचार सुन्न ‘प्ले बटन’ क्लिक गर्नुहोस् ।
२०७८ सालको जनगणनामा झण्डै एक लाख याक्थुङ लिम्बूहरुले धर्मको महलमा लेखेको ‘युमा साम्यो’ हराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
धर्मको महलमा आफूहरुले लेखेको ‘मष्टो धर्म’ हराएको मष्टो धर्म संस्कृति संरक्षण समितिको आरोप छ भने
‘शिसावा’ धर्म हराएको शिङ्सा कल्याण केन्द्र धरान, सुनसरीले असन्तोष व्यक्त गरेको छ ।
मौलिक जातिको मौलिक धर्मलाई नामेट बनाउन नेपाल सरकार र तथ्याङ्क विभागले षडयन्त्र गरेको आरोप लागेको छ ।
धरानमा आइतबार संयुक्त पत्रकार सम्मेलनमा बोल्दै युमा साम्यो महासभा नेपालका केन्द्रीय सचिव सन्तोष लिम्बूले कानुनी उपचार नै अन्तिम लडाइँ भएको बताए । कानुन व्यवसायीहरुसँग परामर्श गर्ने काम भइरहेको र कार्यसमितिका अगुवाहरु तथ्याङ्क विभागमा ‘डेलिकेशन’ गएको सचिव लिम्बूले बताए ।
‘मिति २०७८ साल कार्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को अपूर्ण तथ्याङ्कीय नतिजा मिति २०७० चैत्र १० गतेका दिन सार्वजनिक भएको थियो, यसमा जाति, भाषा र धर्मका तथ्याङ्क सार्वजनिक नहुनाले राज्यद्वारा विभेदकारी र षडयन्त्रपूर्ण कार्य गर्ने आशंका मात्रै नभएर एकल पक्षलाई पक्षपोषण गर्न लागेको प्रष्ट थियो ।’ पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।
याक्थुङ लिम्बूहरुले आदिमकालदेखि नै आफ्नै मौलिक संस्कार, संस्कृति र युमा धर्म मानिआएको छ । उनीहरुको आफ्नै भाषा याक्थुङ लिपी सिरिजङ्गा तथा जीवन वर्णनका कारण उनीहरुका आफ्नै मौलिक पहिचान छ । यिनै पहिचानको संरक्षण र संबर्धन गर्नको लागि वि.सं. २०७४ सालमा वैधानिक र आधिकारिक रूपमा नेपाल सरकारमा दर्ता गरी ‘युमा साम्यो महासभा नेपाल’ को स्थापना भई नेपाल सर कार समाज कल्याण परिषद्मा दर्ता भएको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य विरान लिम्बूले बताए ।
‘संविधानको धारा १८ को समानताको हकको उपधारा २ र ३ अनुसार राज्यले नागरिकका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, भाषाका आधारमा भेदभाव गरिने छैन भनिएको छ । धारा ३२ को भाषा तथा संस्कृतिको हकको उपधारा २ अनुसार प्रत्येक व्यक्ति वा समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ । धारा ५० अन्तर्गत राज्यका निर्देशक सिद्धान्तको उपधारा २ बमोजिम धर्म, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने भन्ने उल्लेख छ । त्यसैगरी मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा १८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धको धारा १८ र सबै प्रकारका असहिष्णुता धर्म वा आस्थामा आधारित भेदभाव उन्मूलनसम्बन्धी घोषणापत्रद्वारा समेत धर्म वा आस्थाको स्वतन्त्रताको ग्यारेन्टी गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
१२ औं राष्ट्रिय जनगणना २०७८ मा जातिमा याक्थुङ लिम्बू मातृभाषा र पुर्खाको भाषामा याक्थुङ लिम्बू लेखाउन अभियान चलाइएको थियो , हजारौं, लाखौंको संख्यामा जनगणनाका उत्तरदाताहरुले लेखाएका युमा धर्मको नामोनिसान राष्ट्रिय तथ्यांक विभागले मरिमेट गरिदिएको युमा साम्यो महासभा, नेपालका अध्यक्ष देवेन्द्रकुमार वनेम लिम्बूले बताए ।
यस्तै खस जातिलगायतको मष्टो धर्म र शिङ्वा समुदायको जातिमा सिसावा लेखाएकामा आँकडा नै नबाउनु घोर आपत्तिजनक रहेको विज्ञप्तिमा भनिएको छ । ‘जातजाति, भाषा र धर्मसम्बन्धमा हामी सरोकारवालाले पटकपटक सही र सत्य गणना सूचीकरणका लागि माग, ज्ञापनपत्र र ध्यानाकर्षण पत्र दर्ता गराएका थियौं, व्यक्तिगत र सामूहिक रुपमा भेटघाट र छलफल गरेका थियौं तर उक्त विषयलाई उपेक्षा र सुनियोजित तवरबाट बहिष्कार गरिएको हामीले महसुस गरेका छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय तथ्यांक विभागमार्फत् नेपाल सरकार यथाशिघ्र सत्यतथ्यको आधारमा यथार्थ र वास्तविक तथ्याङ्क सार्वजनिक गर्न जोडदार माग गर्दछौं ।’
‘यदि हाम्रो आस्था, विश्वास र भावनासँग जोडिएका मौलिक धर्मलाई बेवास्ता गरिएमा यसबाट उत्पन्न हुने हरेक परिस्थितिको जवाफदेही राष्ट्रिय तथ्याङ्क विभाग हुनुपर्ने छ ।’ विज्ञप्तिमा चुनौती दिइएको छ । वास्तविक आकँडालाई राष्ट्रिय तथ्यांक विभागले अविलम्ब दुरुस्तरुपमा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्नसमेत विज्ञप्तिमार्फत् माग गरिएको छ ।