पछिल्ला केही दिनमा तराईसहित पहाडी जिल्लामा पनि गर्मी अचाक्ली बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा ‘लू’ लाग्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । सामान्यतः पाँच दिन वा त्योभन्दा बढी ४० डिग्री तापक्रम भएमा ‘लू’ चलेको मानिने महाशाखाले भनेको छ । तराईका जिल्लाहरूमा यतिबेला ४० डिग्रीभन्दा माथि तापक्रम भएको अवस्था छ । तराईसहित पहाडी जिल्लामा पनि गर्मी सदाको भन्दा बढी नै भएको अवस्था छ । वर्षा पनि तत्कालै हुने अवस्था नरहेको महाशाखाले जनाएको छ । यस्तो अवस्थामा मानिसहरू आफैले सतर्कता अपनाउन जरुरी छ । गर्मीबाट बच्नका लागि विभिन्न खालका उपायहरू अपनाउन सकिन्छ । दिउँसोको समयमा नहिँड्ने, पानी लगातार पिइरहने, दिउँसो काम नगर्ने, हिँड्नै परे पातलो कपडाले टाउको छोपेर छाताको प्रयोग गरेर हिँड्ने जस्ता विधिहरू अपनाउन सक्छौँ । ‘लू’ बाट बच्नका लागि यस्ता विविध उपायहरू तथा सावधानीहरू अपनाउनु पर्छ ।
‘लू’ चल्दा मानिसको ज्यानसम्म जान सक्ने सम्भावना हुन्छ । त्यसकारण पनि ‘लू’ बाट बच्नका लागि नागरिकहरूलाई सचेत गराउन आवश्यक छ । यतिबेला वर्षात् हुनुपर्ने हो तर, हुन सकेको छैन । अहिले केही दिन वर्षा हुने सम्भावना क्षीण छ । यस्तो बेलामा झन् गर्मी बढ्ने अवस्था छ । लगातार तापक्रम बढ्नु ‘लू’ को सङ्केत हो । कतिपयलाई ‘लू’ लागेको कसरी थाहा पाउने भन्ने जिज्ञासा पनि रहेको पाइन्छ । विशेषगरी थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आउने आदि जस्ता समस्या देखिन्छ । यस्ता कुनै पनि समस्या वा लक्षण देखिएमा ‘लू’ लागेको हुनसक्ने भएकाले तत्कालै उपचारात्मक विधिहरू अवलम्बन गर्नुपर्छ । यस्तो बेलामा ‘लू’ बाट बच्नका लागि घरभित्र वा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ, जुस सर्वत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्य समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिइहरनु पर्छ । त्यसो भएको खण्डमा मात्रै हामीले आफूलाई सुरक्षित राख्न सक्छौँ । विशेषगरी मजदुर तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरूले यसबेला बढीभन्दा बढी सचेत हुन आवश्यक हुन्छ । सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । त्यसका लागि सम्बन्धित काम लगाउने कम्पनी तथा ठेकेदारहरूले पनि यो कुरालाई बुझ्न आवश्यक छ ।
विश्व तापमानको असर विस्तारै संसारले भोग्न थालेको छ । मानवीय कारणबाट सिर्जित यो समस्यालाई हल गर्ने पनि मानवले नै हो । उद्योगधन्दा, कलकारखानाको तीव्र प्रतिस्पर्धाका कारण पनि संसार तातिँदै गएको छ । बरफ जम्ने अन्टार्टिका महादेशमा पनि हिउँ पग्लिने दर विगतको भन्दा तीव्र गतिमा भइरहेको समाचारहरू प्रकाशित भइरहेका छन् । संसारमा हरितगृह ग्याँस उत्पादन, आणविक हातहतियारको होडबाजीले पनि तापमान हरेक वर्ष बढाइरहेको छ । यसप्रति चिन्ता नभएको होइन तर, चाहेर पनि रोक्न सकिएको अवस्था छैन । हरेक वर्ष कोप सम्मेलन गरी पृथ्वीको तापमानलाई १ दशमलव ५ डिग्री सेन्टिग्रेटभन्दा माथि नबढाउने प्रतिबद्धता गर्दै आए पनि त्यो प्रतिबद्धताअनुरूप काम हुन नसक्दा रहेक वर्ष नै समस्या सिर्जना भइरहेको छ । हाम्रो जस्तो विपन्न तथा विकासोन्मुख देशहरूले त्यसको प्रत्यक्ष मार खेप्दै आएका छौँ । पृथ्वीलाई संरक्षण गर्ने दायित्व हाम्रो जस्तो देशको मात्रै रहेन । यो त झन् पुँजीवादी शक्तिहरूले गर्नुपर्ने देखिएको छ । त्यसो हुन सकेमा मात्रै पृथ्वीको तापमानमा केही कमी आउने थियो । तराई क्षेत्रमा ‘लू’ चल्न सक्ने सम्भावनाको एउटा कारक तŒव त्यो पनि हो । त्यसकारण बेलैमा सचेत नहुने हो भने भविष्यमा हाम्रा सन्तानका लागि थप भयावह स्थिति सिर्जना हुनेछ । त्यसका लागि आजैबाट प्रण गर्नुपर्छ ।