धरान । धरान–१३ स्थित भगवती आधारभूत विद्यालयमा सामाजिक स्वास्थ्य क्लिनिकको ३८ औँ संस्करण सम्पन्न भएको छ ।

परिवर्तनका लागि सामाजिक अभियानले पाक्षिक रूपमा गर्दै आएको कार्यक्रमको ३८ औँ संस्करण वाक फर एजुकेसनको सहकार्यमा गरिएको हो । मुटुरोग विशेषज्ञ डा. प्रशान्त साहको सहकार्यमा सुरु हुँदै आएको क्लिनिकमा ५१ जना ज्येष्ठ नागरिक लाभान्वित भएका थिए । क्लिनिकको मुख्य उद्देश्य नै ज्येष्ठ नागरिकलाई सेवा दिने रहेको अध्यक्ष विष्णु बरालले जानकारी दिए ।

धरान–१ स्थित मोडल कलेजबाट सुरु भएको क्लिनिक धरानका विभिन्न स्थानसहित झापामा पनि सेवा दिइसकेको छ । विशेष गरी वृद्धावस्थामा मुटुरोग, उच्चरक्तचाप, मधुमेहलगायतका समस्या हुने भएकाले पनि निःशुल्क क्लिनिक सञ्चालन गरिँदै आएको अध्यक्ष बरालले जानकारी दिए । यसक्रममा निःशुल्क रूपमा सुगर परीक्षण र औषधिसमेत वितरण गरिँदै आएको छ । यो कार्यक्रम विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

यो कार्यक्रममा धरानबाहिर झापा गाउँपालिका, इनरुवा र वराहक्षेत्र नगरपालिकामा पनि आयोजना गरिसकेको छ । कार्यक्रम संयोजक सुशिर बरालका अनुसार वाक फर एजुकेसन संस्थासँगको सहकार्यमा भगवती स्कुलमा कार्यक्रम गरिएको बताए । उनका अनुसार वाक फर एजुकेसन प्रातःकालीन हिँड्ने युवाहरूको समूह हो । यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यक्रम गर्दै आएको सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए । कार्यक्रममा अभियन्ता वर्षा अग्रवाल, हेम ढकाल, निशान नेपाल, राजु फुयाँलगायतको सहभागिता रहेको थियो ।