धरान १४ विजयपुरमा बाँदर र ढेंडुले हैरान बनाएपछि ध्वनि प्रविधिको प्रयोग गरी बाँदर धपाउने उपाय अपनाइएको छ ।

बाँदरको आतंकबाट मूक्त हुन धरानले बेलाबेला विभिन्न अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । केही समय अघि धरान उपमहानगरले दु:ख दिने बाँदरहरु नियन्त्रणमा लिई तरी जंगलमा छाडेको थियो । तर, बाँदरले दु:ख दिन भने छाडेको छैन ।

ध्वनि प्रविधि बाँदरबाट बाली जोगाउने अल्पकालीन उपाय भए पनि उपमहानगरले दीर्घकालीन समाधान निकाल्नुपर्ने धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउँछन् ।
'बाँदरले हैरान पारेपछि, अरु उपाय केही देखिएन' वडाध्यक्ष भट्टराईले भने, 'यो उपाय दीर्घकालीन नभए पनि प्रयोग गरेर हेरौं भनेर गरिएको हो ।'

धरान उपमहानगरले बाँदर जोन बनाएर, उनीहरुलाई अन्न, खानेकुरा राख्दिएर व्यवस्थित गरेमात्रै बाँदर समस्याको दीर्घकालीन समाधान हुने वडाध्यक्ष भट्टराई बताउँछन् ।

वडाध्यक्ष भट्टराईले आफ्नै पहलमा स्पिकर राखेर कुकुर भुकेको आवाज, बाघ र सिंहको आवाज रेकर्ड गरेर बजिरहने प्रविधि प्रयोग गरेका छन् ।

यो उपाय केही प्रभावकारी हुनेजस्तो देखिए पनि दीर्घकालीन हुनेमा उनी स्वयम् विश्वस्त छैनन् । प्रयोगका रुपमा मात्रै ध्वनि प्रविधिको प्रयोग गरेको उनी बताउँछन् ।